६ पटक म्याद थप्दा पनि चिनियाँ कम्पनीले काम सकेन, तोड्यो केयुकेएलले ठेक्का « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

६ पटक म्याद थप्दा पनि चिनियाँ कम्पनीले काम सकेन, तोड्यो केयुकेएलले ठेक्का


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । सम्झौताअनुसार काम नगरेपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले ठेक्का तोडेको छ ।

चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) सँग केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का अन्त्यको घोषणा गरेको हो ।

उक्त कम्पनीले भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोर पानी प्रशोधन केन्द्रको निर्माणका लागि गरिएको सम्झौता गरेको थियो । कम्पनीसँग सल्लाघारी, कोड्कु (बालकुमारी) र धोविघाटमा गरी प्रतिदिन कूल ६ करोड ८७ लाख लिटर फोहोर पानी प्रशोधन क्षमताका फोहोर पानी प्रशोधन केन्द्रहरू २ वर्ष ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने र पाँच वर्षसम्म सञ्चालन गर्ने गरी सन् २०१७ को जनवरी २६ मा सम्झौता भएको थियो ।

तर, उक्त कम्पनीले फोहोर पानी प्रशोधन केन्द्रहरूको निर्माण कार्यलाई सम्झौता बमोजिम अघि बढाएन । तोकिएको समयमा निर्माण सम्पन्न गर्न बारम्बार ताकेता गरिनुका साथै ६ पटकसम्म म्याद थप गर्दा पनि काम नभएपछि ठेक्का रद्द गरिएको आयोजना उपनिर्देशक चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए ।

पछिल्लो पटक जुलाई ३१ सम्म समय दिइएको थियो । ‘फोहोर पानी प्रशोधन केन्द्र निर्माणमा असफल देखिएको, निर्माण स्थलमा कम्पनीका आधिकारिक प्रतिनिधि तथा मुख्य व्यक्ति अनुपस्थित रहेको, सम्झौता अनुसार काम नगरेको, बीमालेख नवीकरण नगरेको, सम्झौता उल्लङ्घन गरेको र पीआईडीबाट दिइएका निर्देशनलाई बेवास्ता गरेको कारणले सम्झौता अन्त्य गरिएको छ’, केयुकेएलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

तीन वटै फोहोर पानी प्रशोधन केन्द्रको निर्माणका लागि उक्त कम्पनीसँग कूल लागत रु.३ अर्ब ९२ करोडमा सम्झौता भएको थियो । उक्त कम्पनीले सम्झौता बमोजिम बैङ्क ग्यारेन्टीस्वरुप राखेको करिव ४९ करोड धरौटी रकम जफत गरिएको श्रेष्ठले बताए ।

उक्त कम्पनीले थपिएको अवधि समेत गरी ५ वर्ष ३ महिनामा जम्मा २७.१ प्रतिशत मात्र काम गरेको छ भने करिव ७७ करोड २७ लाख भुक्तानी लगेको छ ।

अब, तीन वटै फोहोर पानी प्रशोधन केन्द्रहरूको बाँकी निर्माण कार्य नयाँ ठेक्का प्रक्रियाबाट छिटोछरितो ढङ्गले अघि बढाउन आवश्यक प्रक्रिया अगाडि बढाइने केयुकेएलले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस