त्रिवि बन्द-हडतालले गुज्रिरहँदा प्राध्यापकहरू पक्ष-विपक्षमा विभाजित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

त्रिवि बन्द-हडतालले गुज्रिरहँदा प्राध्यापकहरू पक्ष-विपक्षमा विभाजित


१५ भाद्र २०७९, बुधबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय बन्द-हडतालले दयनीय अवस्थामा गुज्रिरहँदा त्यहाँका प्राध्यापकहरूले भने समस्याको पक्ष-विपक्षमा विभाजित बनेका छन् । उनीहरूले दलीय आबद्धताका आधारमा घटनाक्रमको समर्थन र विरोध गरेका हुन् ।

पछिल्लो पटक झन्डै एक महिनादेखि नेपाल विद्यार्थी सङ्घले कुल सचिव (रजिस्ट्रार) कार्यालयमा तालाबन्दी गरेको र कार्यकारी परिषद् बैठकको दस्ताबेज नियन्त्रणमा लिएको विषयमा काँग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घ मौन छ ।

एमालेनिकट नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले भने तालाबन्दीलगायत नेविसंघका क्रियाकलापले विश्वविद्यालयमा अस्तव्यस्तता ल्याएको टिप्पणी गरेको छ ।

सङ्घले भने उल्टै त्रिविका पदाधिकारीहरू शैक्षिक सुधारमा असफल रहेको आरोप लगाएको छ । सङ्घका अध्यक्ष सहप्राध्यापक जगत तिमिल्सिना र महासचिव राजेन्द्र गौतमले सोमबार विज्ञप्ति जारी गर्दै पदाधिकारीको अदूरदर्शिता, अक्षमता एवं अकर्मण्यता देखिएको र पदाधिकारीले गल्तीलाई ढाकछोप गर्न वक्तव्य बाजी गर्दै आएको जनाएको छ । त्रिविले आइतबार विज्ञप्तिसहित पत्रकार सम्मेलन गरेर विश्वविद्यालयमा नेपाल विद्यार्थी सङ्घले गरेको तालाबन्दीबारे जानकारी दिएको थियो ।

त्रिविका वर्तमान पदाधिकारीले राजनीतिक नेतृत्वको संरक्षकत्वमा विश्वविद्यालयलाई बन्धक बनाएको समेत सङ्घले जनाएको छ ।

सङ्घको विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयका कुनै पनि गतिविधि शैक्षिक गुणस्तर अभिवृद्धिमा केन्द्रित छैनन् । नीतिगत भ्रष्टाचारलाई बढावा दिँदै अपारदर्शी गतिविधि सञ्चालित छ । शैक्षिक क्यालेन्डर लागू हुनुपर्ने, विश्वविद्यालय सभाले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने, परीक्षा व्यवस्थित गर्नुपर्ने, परीक्षामा भएको लापरबाहीको छानबिन गरी कारबाही गर्नुपर्नेलगायतका समस्या समाधान गर्न त्रिवि नेतृत्व असफल भएको छ ।’

पेसागत समूहले अघि सारेका मागहरूसमेत विश्वविद्यालयले बेवास्ता गरेको सङ्घले जनाएको छ । ‘आफ्नो अकर्मण्यतालाई ढाकछोप गर्न बारम्बार वक्तव्य बाजी गर्ने अनि शैक्षिक सुधारमा सिन्को नभाँच्ने कार्यले पदाधिकारीहरू पूर्ण रूपमा असफल भएको प्रमाणित भएको छ,’ विज्ञप्तिमा भनिएको छ । सङ्घले विश्वविद्यालयको भौतिक, प्रशासनिक, प्राज्ञिकलगायत पक्ष सुधार गर्न बुझाएको ३३ बुँदे मागको समेत बेवास्ता गरिएको विज्ञप्तिमा स्मरण गराएको छ । पदाधिकारीकै कारण विश्वविद्यालयमा मुठभेडको अवस्था सिर्जना भएको पनि सङ्घको आरोप छ । परीक्षामा लापरबाही गर्ने दोषीलाई उन्मुक्ति दिन पदाधिकारीहरूले नै भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ ।

प्राध्यापक सङ्गठनले भने पदाधिकारीको बचाउ गर्दै विद्यार्थी सङ्गठनमाथि दोष थुपारेको छ । त्रिविका उपकुलपति र कुल सचिव एमाले तथा शिक्षाध्यक्ष (रेक्टर) माओवादी केन्द्रनिकटका हुन् ।

सङ्गठनले विद्यार्थी सङ्गठनका नाममा समूहगत रूपमा गरिएको आपराधिक क्रियाकलापले विश्वविद्यालयको शैक्षिक गरिमा गुम्दै गएको आरोप लगाएको छ । सङ्गठनका संयोजक अखिलेश्वरलाल दासले विज्ञप्ति जारी गरेर तोडफोड, तालाबन्दी र दस्ताबेज नियन्त्रणमा संलग्न व्यक्तिहरूलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।

‘तोडफोड, बन्द, सरकारी कागजात लुट्ने जस्ता कार्यले गैर संवैधानिक आपराधिक क्रियाकलापको बाटो अवलम्बन गरी विद्यालयको शैक्षिक गरिमा समाप्त गर्ने र अस्तव्यस्तता सिर्जना गरी संस्थागत ध्वस्तलाई प्रश्रय दिने जस्ता गतिविधिका सङ्केत देखिनु दुःखद छ,’ दासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सङ्गठनले समस्याको समाधान वार्ता, संवाद र छलफलबाट टुङ्गोमा पुर्‍याउन पनि सुझाव दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस