काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकारले संसद्बाट पारित गरेको नागरिकता विधेयक एमालेको सरकार आएपछि परिवर्तन गर्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल रामेछापले आइतबार रामेछापको मन्थलीमा राखेको पत्रकार भेटघाटका क्रममा भट्टराईले राष्ट्रपतिले संसद्मा फिर्ता गरेको नागरिकता विधेयकलाई शेरबहादुर देउवा सरकारले बलपूर्वक पास गरेको आरोप लगाए ।
उनले भने, ‘दोस्रोपल्ट गएको विधेयक राष्ट्रपतिले प्रमाणित गर्नुभन्दा अर्को बाटो छैन, त्यसैले मंसिरपछि एमालेको सरकार आउँछ र त्यो कानुनलाई सुधार गर्छ ।’
नागरिकताको सवाल ख्याल ख्याल नभएको बताउँदै यस्तो विषयमा राष्ट्रिय सहमति बनाएर जान एमालेले आग्रह गरेको भट्टराईको दाबी थियो ।
आसन्न निर्वाचनमा एमालेले समाजवादी धारको नेतृत्व गरेर जाने बताए । संविधानले समाजवादमा पुग्ने कल्पना गरेकाले एमालेले त्यसको अगुवाइ गर्ने र पुँजीवादी नेतृत्व गर्दै आएको काँग्रेस बिस्तारै पतनको बाटोमा जाने उनले आरोप लगाए ।