संसद्‌ निरीह बन्यो : केपी ओली « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संसद्‌ निरीह बन्यो : केपी ओली


२० असार २०७९, सोमबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संघीय संसद्‌ले निरीहता भोगिरहेको बताएका छन् । उनले मुलुकमा अव्यवस्था हुँदा पनि संसद् निरीह भएर हेरिरहेको र अशक्त अवस्थामा रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आज (सोमबार)को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले संसद्‌ले आफ्नो वजनअनुसार चल्नुपर्ने सुझाव दिएका छन् । उनले सभामुख अग्निप्रसाद सापकोटालाई संसद्‌लाई प्रभावकारी रूपमा सञ्चालन गर्न पनि सुझाव दिए ।

‘यस गरिमामय सदनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु यो संसद् लहैलहैमा चल्न भएन । हामी जनप्रतिनिधि हौँ, हामी जनप्रतिनिधिले लहैलहैमा कुदेर हुँदैन, उनले भने, देशप्रति जिम्मेवार भएर सोच्न सक्नुपर्दछ । देश, जनताका हितको रक्षा गर्न सक्नुपर्छ । जनताका हितको रक्षा गर्दैनौँ भने भत्ता मात्रै खाने ?

ओलीले नेताहरूलाई जनताले गाली गर्न थालेको बताएका छन् । उनले संसद्‌का मूल्यमान्यता कुल्चिइँदा पनि हेरिरहनुपरेको बताए । जुन निरीहता आज संसद्‌ले भोगिरहेको छ संसदका अगाडि यति खुलेआम मूल्यमान्यता, आचरण विपरीतका क्रियाकलाप हुँदा पनि गरिमामय संसद् अशक्त भएर हेरिरहेको छ ।

मुलुकमा महँगी बढ्दा र जनतामा मारमा पर्दा पनि संसद्‌ले काम गर्न नसकेको ओलीको भनाइ थियो ।

त्यस्तै, मुलुकमा आयातको प्रभावकारी अनुगमन हुन छाडेको ओलीले बताए । ‘आयात व्यापारको प्रभावकारी नियमन अभाव छ । निकासी हुने वस्तुको सीमितता छ । गुणस्तर मापन र क्वारेन्टाइनसम्बन्धी पूर्वाधार छँदै छैन, उनले भने, अब त सिमानामा खाद्यवस्तुमा गुणस्तरको परीक्षण गरेर भित्र्याउने कुरालाई हटाउने- तुरुन्तै हटाउने प्रयास हुँदै छ ।

उनले आयात व्यवस्थापन र निर्यात प्रवर्द्धन नीति कमजोर बन्दै गएको पनि बताए । यस्तो अवस्था आउँदा पनि सरकारले कुनै कदम नचालेको उनको भनाइ थियो ।

राज्यका सबै अङ्गमा सरकारले हमला गरेको ओलीको आरोप थियो । स्वेच्छाचारिता बढेको पनि उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस