काठमाडौँ । पत्रकार ऋषि धमलाले नेपाल एयरलाइन्सको विमानभित्र देखाएको उद्दण्ड व्यवहारका विषयमा प्रेस काउन्सिल नेपालले बयान लिने भएको छ ।
पत्रकार धमलालाई लिखित स्पष्टीकरण सोधेको काउन्सिलले उनको जवाफ चित्तबुझ्दो नभएपछि बयानका लागि बोलाएको हो ।
काउन्सिलको आज (आइतबार) बसेको आचारसंहिता अनुगमन समितिको बैठकमा धमलाले दिएको जवाफबारे छलफल भएको थियो ।
जवाफमा पेस गरिएका तर्कमा सन्तुष्ट हुन नसकिएकाले मौखिक बयानका लागि बोलाउने निर्णय भएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए ।
धमलाले छिटो समाचार सम्प्रेषण गर्नु पत्रकारको धर्म हुने भन्दै आफ्नो गलत क्रियाकलापको बचाउ गर्न खोजेको काउन्सिलको निष्कर्ष छ ।
अब उनको मौखिक बयानपछि काउन्सिलले थप निर्णय लिने बस्नेतले बताएका छन् ।
धमलालाई भोलि मध्यान्ह १२ बजे बोलाइएको छ । काउन्सिलले प्राइम टिभीका समाचार प्रमुखलाई पनि स्पष्टीकरण सोधेको थियो । उनलाई भने मौखिक बयानका लागि बोलाइएको छैन ।
सम्बन्धित समाचार : जहाजभित्र जोरजुलुम गरेकोबारे प्रेस काउन्सिलले सोध्यो ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण
सम्बन्धित समाचार : पत्रकार धमलाले बुझाए प्रेस काउन्सिलमा स्पष्टीकरण पत्र
सम्बन्धित समाचार : हवाईजहाजको ककपिटमा पत्रकार धमला जबरजस्ती प्रवेश गरेको घटनाप्रति महासङ्घको ध्यानाकर्षण