सिके राउत नेतृत्वको जनमत पार्टीले अख्तियारको कार्यालय घेराउ गर्ने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सिके राउत नेतृत्वको जनमत पार्टीले अख्तियारको कार्यालय घेराउ गर्ने


२० आश्विन २०७८, बुधबार


काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश नम्बर २ मा भ्रष्टाचार बढेको भन्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा घेराउ गर्ने भएको छ।

आज (बुधबार) मध्यान्ह १२ बजे अख्तियारको महोत्तरीस्थित बर्दिवास कार्यालयमा घेराउ तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको अध्यक्ष राउतको सचिवालयले जानकारी दिएको छ।

प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि मन्त्रालयहरू, जनकपुर महानगरलगायतमा भ्रष्टाचार बढे पनि अख्तियारले चासो नदेखाएको भन्दै जनमत पार्टीले कार्यालय घेराउन गर्न लागेको हो।

भ्रष्टाचार भएकोबारे अख्तियारमा जानकारी रहेको, फाइल तयार अवस्थामा हुने तर राजनीतिक दबाबका आधारमा मुद्दा दर्ता गर्न पछि हटेको विरोधमा ज्ञापन पत्र बुझाउने तयारी जनमत पार्टीको छ।

प्रदेश नम्बर २ मा भ्रष्टाचार बढे पनि अख्तियारले काम नगरेको र जनताप्रति उत्तरदायी नभएकोले ज्ञापन पत्र बुझाउन लागिएको जनमत पार्टीका महासचिव चन्दनकुमार सिंहले बताए।

‘प्रदेश २ मा भ्रष्टाचार बढेको कुरा आएका छन्। अख्तियारले खासै चासो नदेखाएको पाइयो। त्यसैले ध्यानाकर्षण गराउन आज बर्दिवास कार्यालयमा साथीहरू पुगेर ज्ञापन पत्र बुझाउनुहुन्छ,’ महासचिव सिंहले भने।

Tags :
प्रतिक्रिया दिनुहोस