चीनबाट श्रीलङ्कालाई दोस्रो चरणको ५ लाख डोज खोप प्राप्त « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चीनबाट श्रीलङ्कालाई दोस्रो चरणको ५ लाख डोज खोप प्राप्त


१३ जेष्ठ २०७८, बिहिबार


कोलम्बो । शक्तिशाली मुलुक चीनले आफ्नो छिमेकी मुलुक श्रीलङ्कालाई कोरोना भाइरस विरुद्ध लगाइने दोस्रो चरणको खोप पनि उपलब्ध गराएको छ ।

चीन सरकारले दिएको दोस्रो चरणको खोप बुधबार स्वदेश आइपुगेको श्रीलङ्काका अधिकारीले जानकारी दिएका छन् ।

कोरोना भाइरस विरुद्ध प्रयोग हुँदै आएको सिनोफर्मा खोप दोस्रो चरण अन्तर्गत पाँच लाख मात्रा चीनले श्रीलङ्कालाई उपलब्ध गराएको हो ।

कोरोना भाइरसको महामारी फैलिइरहेको श्रीलङ्कामा खोपको अभाव भइरहेका बेला चीनले दोस्रो पटक पनि खोप उपलब्ध गराएपछि ठूलो राहत महसुस भएको अधिकारीले जनाएका छन् ।

चीनले दोस्रो पटक उपलब्ध गराएको पाँच लाख खोप बुधबार विहानै हामीले प्राप्त गरेका छौँ, श्रीलङ्काली एक अधिकारीले भने ।

चीनले यसअघि पहिलो चरण अन्तर्गत श्रीलङ्कालाई गत मार्चमा छ लाख मात्रा खोप उपलब्ध गराएको थियो ।

भारतमा कोरोनाभाइरसको महामारी फैलिएको र भारतले अन्य देशलाई खोप उपलब्ध गराउन नसकेकाले श्रीलङ्कालगायतका धेरै देश मर्कामा परेका छन् ।

खोपका लागि श्रीलङ्काले अहिले पश्चिमी प्रान्तलाई प्राथमिकतामा राखेको पाइएको छ । राजधानी कोलम्बोसहित क्षेत्र प्राथमिकताको सूचीमा परेका हुन् ।

यी क्षेत्रमा मात्रै कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै भएकाले खोप लगाउन पनि तीनै क्षेत्रलाई प्राथमिकतामा पारिएको अधिकारीले जनाएका छन् ।

श्रीलङ्कामा अहिलेसम्म कोरोना भाइरसबाट एक लाख ६७ हजार १७२ जना सङ्क्रमित भएको तथ्याङ्क रहेको छ । त्यसैगरी अरु एक हजार २४३ जनाको कोरोनाकै कारणले मृत्यु भएको सरकारी निकायले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस