संसद विघटनविरुद्ध अदालतले फेरि पहिलेजस्तै फैसला गर्ने प्रचण्डको दावी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

संसद विघटनविरुद्ध अदालतले फेरि पहिलेजस्तै फैसला गर्ने प्रचण्डको दावी


प्रशासन संवाददाता

८ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने बताएका छन् । उनले आफूहरू संसद् विघटनविरुद्ध अदालत जाने र अदालत पहिलेजस्तै संसद् पुनः स्थापनाको फैसला गर्ने दाबी गरे ।

विपक्षी गठबन्धनको बैठकपछि प्रचण्डले पत्रकारसँग भने,‘यो कदम असंवैधानिक मात्र होइन, निरङ्कुश, स्वेच्छाचारी र प्रतिगमनकारी छ । यो प्रतिगमनकारी कदमका विरुद्ध सर्वोच्च जान्छौ । हिजो १४९ जनाले दाबी प्रस्तुत गरेका थियौँ उहाँहरू सबैको हस्ताक्षरसहित सर्वोच्च जान्छौँ ।’

उनले बहुमत सांसदको हस्ताक्षरसहित अदालत गएर सरकार बन्न सक्ने सम्भावना जीवित रहेको प्रमाणित हुँदा हुँदै मध्यरातमा अपारदर्शी ढङ्गले संसद् विघटन गरिएको भन्दै कानुनी रूपमा प्रमाणित गर्ने पनि बताए ।

अदालतले पहिलेजस्तै फेरि एक पटक लोकतन्त्र र संसद्को पक्षमा फैसला गर्नेमा आफूहरू विश्वस्त गरेको पनि उनले बताए । ‘पहिलो एपिसोडमै लाखौँ जनताले सडकमा आएर प्रतिगमनको विरुद्धमा छौँ भनेर देखाइसकेका छन् । अहिले कोरोनाको यो महामारीका बेला कोरोना महामारीविरुद्ध उत्रिनुपर्ने बेलामा प्रधानमन्त्री र राष्ट्रपति मिलेर देशलाई जसरी दुर्घटनातिर लगेका छन्, त्यसलाई जनताले सहने छैनन् । यसको स्थानीय तहदेखि नै प्रतिवादमा जनता उत्रिने छन्’ दाहालले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस