राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेपाल र खनाल सहभागी नहुने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेपाल र खनाल सहभागी नहुने


३ चैत्र २०७७, मंगलबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल सहभागी नहुने भएका छन् । चैत्र ४ र ५ गते बोलाइएको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भन्दै आज राष्ट्रपति कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी नहुने भएका हुन् ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालले खनाल र नेपाल राष्ट्रपतिले बोलाएको बैठकमा सहभागी नहुने बताए । उनले भने, ‘बुधबार र बिहीबारको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भएकाले उहाँहरु आज राष्ट्रपति कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुन भ्याउनु हुन्न ।’

पूर्वप्रधानमन्त्रीको हैसियतमा राष्ट्रपति भण्डारीले खनाल र नेपाललाई सर्वदलीय बैठकमा बोलाएकी हुन् ।

समसामयिक राजनीतिक विषयवस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई मंगलबार अपरान्ह ४ बजे बोलाएकी छन् ।

पछिल्लो समयमा दलहरुबीच बढेको अविश्वास र सत्ता समीकरणका लागि एक अर्काबीच छलफल भइरहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक डाक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस