काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । मंगलबारदेखि जारी बैठक आज दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने छ ।
आजको बैठकले संसद विघटन बारे के गर्ने भन्ने रणनीति तय गर्ने छ । यसअघि बुधबारको बैठकले संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
तर कहिलेदेखि प्रदर्शन सुरु गर्ने र प्रदर्शनको स्वरुप कस्तो हुने भन्ने एकीन कांग्रेसले गरेको छैन । प्रदर्शन सुरु गर्ने मिति आजको बैठकबाट तय हुने सम्भावना रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले संसद विघटन असंवैधानिक भएकाले तत्काल सशक्त आन्दोलनमा जानुपर्नेमा जोड दिएको छ । सभापति शेरबहादुर देउवा भने मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले फैसला नआउन्जेल कुर्नुपर्ने पक्षमा छन् ।