कोरोनामा अग्रपङ्तिका योद्धा ‘चार’ कर्मी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोरोनामा अग्रपङ्तिका योद्धा ‘चार’ कर्मी


२ असार २०७७, मंगलबार


कोरोना भाइरसको सङ्क्रमण दिनप्रति दिन जटिल तीव्र बन्दै गएको छ। यस महामारीले विश्वभर आतङ्क फैलाएको छ। सम्पन्न विपन्न, सानो ठुलो, शक्तिशाली निर्धो आदीमा कुनै भेदभाव नगरी कोरोनाले आक्रमण गर्दै छ। आफूलाई विश्वका सर्वशक्तिमान् ठान्ने देशहरू अहिले अतिशुक्ष्म कोरोनाको अगाडी निरीह बनिराखेका छन्। अमेरिका, रसिया तथा युरोपका सम्पन्न देशहरूमा कोरोनाले आफ्नो दबदबा बढाउँदै छ। कोरोना सङ्क्रमण विश्वभर मृत्यु हुनेको सङ्ख्या ५ लाखको हाराहारीमा पुग्दै छ। कोरोना नियन्त्रण र नियमनको खास औषधी अहिले सम्म पत्ता नलागीसकेको अवस्थामा यो सङ्ख्या निरन्तर बढ्ने निश्चित छ। अदृश्य शत्रु कोरोना भाइरस फैलिने गति सुनामी तुफान भन्दा चर्को छ। विश्वभर मानव अस्तित्वलाई नै चुनौती बनेको यस महामारीलाई तेस्रो विश्वयुद्धको रूपमा चित्रित गरिन थालिएको छ। दोस्रो विश्वयुद्ध ताका जापानमा खसालिएको अणु बम भन्दा पनि खतरा बन्दै छ यो कोरोना भाइरसरूपी जैविक बम। अणुबमले सीमित क्षेत्र भित्रका जैविक उपस्थितिलाई नष्ट गर्दछ तर कोरोना भाइरसले विश्वभर तीव्र गतिमा मानव जीवनलाई मात्र चुनौती दिँदै छ।

कोरोना विरुद्धको युद्ध घरमै बसेर जितिने अहिले सम्मको अध्ययन र अनुभवले सिद्ध गरेको छ। अन्य युद्ध जित्न हातहतियार सहित घरबाट निस्केर युद्ध मैदानमा जानुपर्ने तर कोरोना विरुद्धको युद्धमा घर भित्रै बस्नुपर्ने अनौठो बाध्यतामा मानव परेको छ। सम्पूर्ण जनसमुदाय भाइरससँग डराएर घर भित्रै बसेको बेला केही पेसाकर्मीहरु आफ्नो जीवन जोखिममा राखेर हाम्रो लागि आ—आफ्नो कर्मथलोमा कोरोना विरुद्धमा लडिरहेका छन्। यसरी कोरोना भाइरसलाई चुनौती दिन युद्ध मैदानको अग्रपङ्क्ति उत्रिने मुख्य चार पेसाकर्मीहरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी र सञ्चारकर्मी पर्दछन्।

परम्परागत मान्दै आएका देवीदेवता समेत कोरोना कहरको चपेटामा परेको बेला स्वास्थ्यकर्मी कोरोना सङ्क्रमितका लागि बोल्ने देवता हुन। सङ्क्रमितलाई आफन्त, नातागोता, साथीभाइ समेत छुन डराउनु पर्ने अवस्थामा स्वास्थ्यकर्मीले मात्रै नज्दिक बाट स्वास्थ्य परीक्षण र उपचार गरेका छन्। सङ्क्रमितको प्रत्यक्ष स्वास्थ्योपचारमा खटिएका विश्वमा कैयौँ चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालक आदीले ज्यान गुमाएका छन्। चीनको बुहानमा सर्वप्रथम कोरोना भाइरस पहिचान गर्ने चिकित्सक कै सङ्क्रमणका कारण मृत्यु भैसकेको छ। कोरोना सङ्क्रमितको उपचारमा लागेका विभिन्न तहका चिकित्सक मध्ये विश्वभर २ सय भन्दा बढीले ज्यान गुमाइ सकेका छन्। अहिलेसम्म नेपालमा १५ जना स्वास्थ्यकर्मी, केही सुरक्षाकर्मी, सञ्चारकर्मी र सरसफाईकर्मीलाई कोरोना पोजेटिभ देखिइसकेको छ। सौभाग्यवश सबैको स्वास्थ्य अवस्था सामान्य भएको र निश्चित समयको उपचारपछि सार्वजनिक जीवनमा फर्की सकेका छन्। जनसमुदायमा सङ्क्रमितको सङ्ख्या बढ्ने गति बढे सँगै यी योद्धाहरूमा सङ्क्रमण पनि बढ्ने निश्चित नै छ।

कोरोना विरुद्धको लडाइमा अग्रपङ्क्ति रहेका स्वास्थ्य तथा सुरक्षाकर्मीमाथि आक्रमण भएका निन्दनीय घट्नाहरु पनि भएका छन्। भारतका कैयौँ ठाउँमा कोरोना उपचारका लागि गाउँवस्तीमा खटिएका स्वास्थ्य तथा सुरक्षाकर्मीमाथि साङ्घातिक हमला भएको सञ्चार माध्यममा सदृश्य देखिएका छन्। नेपालमा पनि फाट्टफुट्ट यस्ता निन्दनीय घटना घटेका छन्। केहिदिन अघि बाँकेको नरेनापुरमा स्वास्थ्य र सुरक्षाकर्मी माथि हमला भएको थियो। भरखरै डोटी स्वास्थ्योपचारका लागि आवश्यक सामग्री लिएर स्वास्थ्य केन्द्र हिँडेका स्वास्थ्यकर्मी माथि साङ्घातिक आक्रमण भएको छ। त्यस्तै कोरोना सर्छ भन्ने आशङ्का र आरोपमा स्वास्थ्यकर्मीको आफ्नो घर जाने बाटो नै बन्द गरिदिएको घटना सार्वजनिक भएको थियो।

सङ्क्रमितको उपचारमा नजिक बाट खटिएका स्वास्थ्यकर्मीरुपी देवदूतलाई हातपात, दुर्व्यवहार गरेको समाचार सार्वजनिक हुनु दुखद हो। अज्ञानता, भ्रम तथा कतिपय अवस्थामा नियतवश पनि यस्ता अप्रिय घट्नाहरु हुने गरेका छन्। यस्ता अमानवीय घटना प्रति जिम्मेवार जो कोहीलाई पनि निर्मम कारबाही गरी अग्रपङ्क्ति खटिएका पेसाकर्मीको मनोबल उच्च राख्न विलम्ब गरिनु गम्भीर भुल हुन जान्छ।

उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीहरुले आफ्नो बालबच्चा र घरपरिवारलाई नभेटेको कैयौँ दिन भैसकेको छ। उता परिवारजन पनि आफन्तलाई केही होला कि भन्ने आशङ्का र चिन्ताले पिरोलिई राखेका छन्। अन्य पेसकर्मीहरु आफ्नो परिवारजनसँग रमाइरहेका बेला यी चारकर्मी देश र जनताका लागि निरन्तर खटिइरहनु सम्मानयोग्य काम हो। तर उनीहरूलाई सरकार, सरोकार र जनसमुदायबाट पर्याप्त प्रशंसा, प्रोत्साहन र सम्मान नपाएको गुनासो जायज छ। केही समयअघि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब बाट पनि कट्टी गरी कोरोना राहत कोषमा रकम जम्मा गर्ने निर्णय भएको हल्ला चलेको थियो। जसको विपक्षमा व्यापक सार्वजनिक आलोचना पछि कटौती नहुने सरकारले जानकारी गराएको थियो। उनीहरूलाई आकर्षक जीवन बिमा लगायत अन्य आर्थिक, सामाजिक तथा मनोबैज्ञानिकरुपमा उच्च मनोबलयुक्त बनाउन सके मात्र कोरोना विरुद्धको लडाई सहजरुपमा जितिने तर्फ नागरिक समाज र सरकारले हेक्का राख्नु जरुरी छ।

स्वास्थ्यकर्मीको लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री(पीपीई) अभाव, राज्यको चौथो अङ्गको रूपमा स्वीकार्यको संचारकर्मीको लागि सामान्य सुविधा पनि आफैले जोहो गर्नुपर्ने, सरसफाईकर्मीका लागि फोहोर मैलाको सङ्क्रमणबाट बच्ने पीपीई, स्यानिटाइजरलगायतका सामग्रीमा पहुँच नहुनु, त्यस्तै अहोरात्र सडक र समुदायमा खटिने सुरक्षाकर्मीका लागि समेत पर्याप्त स्वास्थ्य सामग्रीको अभाव रहेको गुनासो समयमै सम्बोधनमा ध्यान जानु पर्दछ। उनीहरूलाई आफ्नो पेसाप्रति अझ दत्तचित्त भएर लाग्न प्रोत्साहित वातावरण र सुविधा प्रदान गर्न लोभ गरिनुहुन्न।

कोरोना महाव्याधि उपचारको अहिले सम्म निश्चित औषधी पत्ता लागिसकेको छैन। उपचार भन्दा पनि रोकथामका उपायहरू नै कोरोना बच्ने उत्तम उपाय ठहरेको छ। सुरुमा चमेरो बाट मानवमा सरेको कोरोना भाइरस अहिले मानव बिचको संसर्ग बाट सर्दै छ। मानव संसर्ग लाई निरुत्साहित गर्न सामाजिक दुरी बढाउन विभिन्न उपायहरू हुन सक्छन्। अहिले रोकथामका लागि विश्वभर लकडाउन उपाय लोकप्रिय बनेको छ। त्यस्तै कोरोना सङ्क्रमित पहिचान र उपचारका लागि ट्रेसिङ, टेस्टिङ्ग र ट्रिटमेन्टलाई अभियानको रूपमा सञ्चालन गर्नुपर्ने बाध्यता भएको छ। कोरोनालाई परास्त गर्न स्वअनुशासन, स्वस्थ र स्वच्छ बानी ब्यहोरा तथा सन्तुलित पौष्टिक आहार अर्को विकल्प हो। रोगप्रतिरोधात्मक क्षमता बढाउन खानपान र शारीरिक व्यायाम तथा सकारात्मक सोच पनि प्रभावकारी हुने विज्ञहरूको भनाई छ।

अन्य व्यक्तिहरू अनावश्यकरुपमा घरबाहिर निस्केर रोग सल्किने जोखिमलाई निम्त्याएका कतिपय घटना सार्वजनिक भएका छन्। तर यी चार पेसाकर्मीहरु आफ्नो रोजीरोटीको लागि मात्रै नभएर मानव सेवा जस्तो पवित्र काममा जीवन नै दाउमा राखेर दिलोज्यानले लागेका छन्। उनीहरूको मनोबल बढाउन सर्वसाधारण देखि सरकारसम्मले मुक्त कण्ठले प्रशंसा, प्रोत्साहन र सम्मान गर्न कन्जुस्याइँ गरिनु अन्याय र अमानवीय काम हुने तर्फ सबैको हेक्का रहनु पर्दछ।

प्रतिक्रिया दिनुहोस