सडकमा कथित युवा स्वयंसेवी ‘टोले’को धरपकड, खै प्रशासन ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सडकमा कथित युवा स्वयंसेवी ‘टोले’को धरपकड, खै प्रशासन ?


४ जेष्ठ २०७७, आइतबार


चिकित्सक, जो यति बेला सबैभन्दा बढी जोखिममा छन् । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपङ्क्तिमा उभिएका छन् उनीहरू । सुविधा सम्पन्न देशहरुमासमेत उपचारका क्रममा ज्यानको आहुति दिइरहँदा अत्यावश्यकीय सुरक्षा सामाग्रीको अभावका बिच पनि आम नागरिकको स्वास्थ्य उपचारमा खटिइरहेका छन् नेपाली चिकित्सकहरू ।

परिवारसँग टाढा भएर दिनरात नभनी उपचारमा खटिनुको पिडा एकातिर छ भने कतिपय चिकित्सकहरूले घर पेटीहरू, छरछिमेक तथा आफन्तैहरुबाट खेप्नु परको सास्ती अर्कातर्फ ।

यसैबिच कोरोना सङ्क्रमणको नियन्त्रणकाक्रममा फिल्डमा खटिएका एक चिकित्सकमाथि कथित स्वयंसेवक ‘टोले’ले खानतलासी गरेको घटनाको यति बेला चौतर्फी आलोचना भइरहेको छ । डिउटीका सरकारी चिकित्सकमाथि प्रहरीकै अगाडी दिनदहाडै गरिएको अनधिकृत व्यक्तिको ‘केरकार’ कदापि कानुनसम्वत हुन सक्दैन ।

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्की सवार गाडीमा स्थानीय तहले खटाइएका भनिएका कथित स्वयंसेवक ‘टोले’हरूबाट प्रहरीकै अगाडी हुर्मत लिने काम जुन गरिएको छ यसले चिकित्सकहरूको मनोबल गिराएको मात्रै छैन, थप असुरक्षितसमेत महसुस गराएको छ ।

घटना शुक्रवारको हो । चितवन र हेटौँडामा कोरोना भाइरस परीक्षणको कीट सकिएपछि सहयोगीसहित काठमाडौँ हिँडेका डा. कार्कीलाई नागढुंगामा प्रहरीले गाडी रोक्न लगाउँछ । प्रहरीले नै इसारा गरेपछि गाडी नरोक्ने कुरै भएन तर ‘नागरिक हैसियत’बाट भन्दै केवल एउटा मोबाइल घुमाएकै भरमा ‘तपाईँको गाडीमा ल्याएको ब्यागभित्रको सामाग्री देखाउनुस्’ भनेपछि निरीह चिकित्सकले चुपचाप उनको निर्देशनको पालना गर्नुको विकल्प देखिँदैन । उनी झर्छन् । पछाडिको ढोका खोल्छन् र ब्यागमा राखिएका सामानहरू एक एक गरी देखाउँछन् ।

त्यति मात्रै होइन, त्यसपछिको उनको प्रश्न सोधाई र सोधिएका प्रश्न कन्सिरी तात्ने खालका छन् । अनेक थरी सोधेर वाक्क दिक्क बनाउँदै कमजोरी खोजेर हप्काउने दाउमा देखिएका ‘टोले’ले अन्तिममा मुखमा मास्क खै भन्दै डा. कार्कीको झाँको झारे । जिम्मेवार प्रहरी अधिकृतसहितका सुरक्षाकर्मीहरु सँगै भए पनि मध्य दिउँसो एक सरकारी चिकित्सकको हुर्मत लिई रहँदा रमिते जस्तै बनिरहे ।

कानुनी राज्य ‘मान्ने’ हो भने खानतलासी र सोधपुछ गर्न प्रहरीबाहेक अरूलाई अधिकार छैन तर उपत्यकामै दिनदहाडै एक चिकित्सकको बिच सडकमा हुर्मत लिइन्छ त्यो पनि यस्तो जोखिमका बेला । जो आफै चौतर्फी अभाव र दबाबका बिच पनि निरन्तर नागरिकको सेवामा अहोरात्र खटिँदै आएका छन् । यस्तो अवस्थामा मनोबल बढाउनु त परको कुरा उल्टै काममा बाधा अड्चन कायम गर्दै हतोत्साहित गर्ने काम जुन भएको छ यदि कानुनी शासन कायम गराउने हो भने त्यस्ता अनधिकृत ‘टोले’लाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्छ ताकि यसपछि अरूले थप यस्तो दुस्साहस नगरुन् ।

स्वयं सेवकको हर्कत कदापी यस्तो हुन सक्दैन, टोले गुण्डाको जस्तो व्यवहार कसरी स्वयंसेवक भन्न मिल्छ र ?

के राज्य संयन्त्र काम नलाग्ने वा नसक्ने भएर कथित स्वयंसेवी ‘टोले’हरूलाई सुरक्षाको जिम्मा लगाएकै हो त ? औषधि लिन गएका निहत्थालाई सनासो हाल्न सक्ने प्रहरीले डिउटीमा रहेको सरकारी सवारीमा सवार कित्सिकलाई बिच बाटोमा आतङ्कित पार्दा किन मौन ? घटना घटेको तीन दिनसम्म सुरक्षाको कमान्ड सम्हाल्ने गृह मन्त्रालय र आइजीले यसको जवाफ दिनु पर्दैन ?

यति बेला स्थानीय सरकारका नाममा केही स्थानीय तहले अनेक तरहका विकृति र उछिङ्खल गतिविधिहरू गरिरहेका देखिन्छन् । हुँदा हुँदा धार्मिक, जातीय, क्षेत्रीय, भेकिय मात्रै होइन, मानवीय मूल्य र मान्यताहरूलाई नै लत्त्याउने खालका निर्णयहरू पनि सार्वजनिक हुन थालेका छन् । यदि समयमै स्थानीय तह कुनै छुट्टै सरकार नभई नेपाल सरकारभित्रकै एक अङ्ग हो भन्ने कुरा समयमै बुझाइएन र सचेत गराइएन भने त्यसले निम्त्याउने परिणाम भयावह हुने र ठुलै मूल्य चुकाउनु पर्ने तर्फ समयमै राज्यको ध्यान जाओस् ।

Tags :
प्रतिक्रिया दिनुहोस