मैले देखेका मृत्यु संस्कार « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मैले देखेका मृत्यु संस्कार


२८ मंसिर २०७६, शनिबार


ऋगवेदमा संस्कारको ठाउँमा संस्कृत शव्दको प्रयोग पाइन्छ, जसको अर्थ शुद्ध गरिएको भन्ने हुन्छ । कृषि युगलाई नै संस्कार र संस्कृतिको युगको रुपमा लिने गरिन्छ । हिन्दु धर्म बमोजिम मान्छेका अन्तिम संस्कार गर्ने परिपाटी फरक फरक खालका देखिन्छन् । बिभिन्न धर्म संस्कृति अनुसार फरक फरक छन् । जस्तोः ऋगवेदी , यर्जुवेदी र सामवेदी । ऋगवेदमा नै मृत्यु निवारक त्रयम्वक मन्त्र वा मृत्युजञ्य मन्त्र (७।५९।१२) बर्णित छ । अग्निहोत्र गर्ने शुक्ल यर्जुवेदी यजमानको मृत्यु हुँदा अन्त्यष्टी कर्ममा शबको पूर्वशिर गर्ने ऋगवेदी यजमानको उत्तरशिर गर्ने, सामवेदी यजमानको दक्षिणशिर गर्ने बैदिक ग्रन्थसूत्रबाट नै हिन्दुहरुको संस्कार चलिरहेको देख्न सकिन्छ ।

हाम्रो देश बहुधार्मिक बहुजाती र बहुसंस्कृतिमा रहेको देश हो । जति धेरै जाती जनजातीहरु छन् त्यति नै धेरै संस्कृति रहेको पाइन्छ । बिभिन्न धर्माबलम्वीहरुको अन्तिम संस्कार वा मृत्यु संस्कारहरु पनि बिभिन्न तरिकाले गरेको देखिन्छ । हिन्दु धर्म मध्ये रोल्पाका केही जनजातीहरुमा मृत्यु पश्चात लाशलाई कुनै नदी किनार वा डाँडाका थुम्काहरुमा जलाउने प्रचलन पनि रहेको पाइन्छ । कसैको मृत्यु भएमा एकोहोरो दमाहको तालमा लाशलाई बोकिन्छ । त्यस्तो लाशको अगाडि बाटो देखाउनको लागी शक्ति अनुसार सेतो कपडा एउटा डाँडाबाट अर्को डाँडोसम्म पनि सेताम्मै हुँदै मलामीको लामोलस्कर देख्न पाइन्छ ।

साथै लाशको अगाडि अन्न पैसाहरु बाटोमा छर्दै हिंड्ने चलन पनि छ । लाश जलाउने चिता तयार पारिन्छ र लाशलाई क्रिया गर्ने व्यक्तिले लाशको शरिरमा भएका बस्त्रहरुलाई निकाली दिन्छन् । लाशलाई नुहाइ दिन्छन् । शरिरमा गाइको गोवरलाई खरानी बनाइ शरिरको बिभिन्न भागमा घसि दिन्छन् । लाशलाई चिताको वरीपरि ३ पटकसम्म घुमाइन्छ र लाशलाई चितामा चढाइन्छ । लाशलाई कसैले उत्तर सिरान बनाउँछन् भने कसैले दक्षिण सिरान बनाएर लाशलाई चितामा राख्ने चलन छ । लाशलाई मुखमा अग्निदाह गर्न लगाइन्छ । यसमा खासगरी जेठो छोराबाट अग्नीदाह गर्न लगाइन्छ जसलाई दागबत्ति भन्ने गरिन्छ ।

माथि उल्लेखित मृत्यु पछिका संस्कार बिभिन्न जात पिच्छे फरक फरक छ । मृत्यु संस्कारमा जल समाधि, स्थल समाधि, अग्नी समाधि र वायु समाधी पनि गर्ने गरिन्छ । रोल्पाका मगर जातीहरुमा लाश जलाइसके पछि घर पुग्ने दोवाटोमा काली बाख्रो काटी टाउकोको रगतले बाटो छेकिन्छ र उक्त बाख्राको मासु पकाएर खाने गरिन्छ । यसरी रगतले बाटो छेक्नु भनेको प्रेत आत्मा रगतमा अलमलिन्छ र अन्य जिउँदो मान्छेलाई दुःख दिंदैनन् भन्ने हो ।

कतिपय स्थानमा लाशलाई चितामा राखेपछि लाशमाथि पुस्प गुच्छा र पैसा राखेर ढोग्ने पनि चलन छ । यसरी राखिएको पैसा आफन्तहरुले जम्मा गर्ने र उक्त पैसाबाट भैंसी, बोका भेंडाहरु काटी क्रियामा रहेकै अबस्थामा भोज खाने पनि चलन छ । यसरी भोज खानु भनेको झुसी हटाउने भन्ने पनि हो । रुकुममा पनि मृत्यु पश्चात लामो थानका थान कपडा टाँग्दै बाटो देखाउने, त्यसको अगाडि अन्न पैसा फ्याँक्दै हिंड्ने अनि संख बाजाहरु बजाउँदै घाटतिर लैजाने चलन पनि छ ।

लाशलाई नदी किनारातर्फ लगिरहँदा मृतकले प्रयोग गरेका सम्पुर्ण कपडाहरु चौबाटोमा जम्मा गरिन्छ र त्यस्ता कपडाहरु सम्पुर्ण रुपमा जलाएर भस्म गरिदिने चलन पनि छ ।

कतिपय स्थल समाधि गर्ने जातीहरुमा ५ फिटको खाल्डो खनिन्छ । उक्त खाल्डो भित्र लाशलाई पलेटी कसेर बसाइन्छ । त्यस्तो लाशको टाउको र शरिरलाई त्यस्तो खाल्डो भित्र गुफा जस्तो बनाएर राखिन्छ । गिरी, पुरी, सन्यासी, योगी , कुवँर आदि जातीहरुको मृत्यु संस्कारमा लाशहरुलाई पहेंलो बस्त्र धारण गराइन्छ । एउटा हातमा झोला र एउटा हातमा कुमण्डलु भिराइन्छ । खाल्डोमा लाशलाई नढल्ने गरी स्थिर आशन गराइन्छ । उक्त आशन गराए पश्चात मट्टीदान, काँचो अन्न झोलीमा राख्नुका साथै मिठा भात पकाएर एक छेउमा राखिदिने, घिउ, गहना, आभुषण नगदहरु लाशको छेउमा राख्ने र कसैले नुन पनि राख्ने गर्दछन् ।

दान दिइसकेपछि माटो ढुंगाको माध्यमबाट खाल्डो पुर्ने गरिन्छ । यसलाई स्थल समाधी भन्ने गरिन्छ । लाशलाई समाधि गरेपछि आफ्नो जात थरका मान्छेहरुले हात धोएपछि रक्सी पनि चढाउने गर्दछन् जसलाई प्याला भन्दछन् । ३ दिनसम्म प्याला समाधिमा चढाएपछि तीन जना कन्यालाई टिका लगाइ दक्षिणा दिए नाथ सम्प्रदायको शुद्धि भएको मानिन्छ तर अहिले कतिपय स्थानमा बाहुन क्षेत्रीको झै १३ दिन क्रिया गर्ने चलन छ ।

कतिपय स्थानमा लाश जलाइसकेपछि लाश जलाएको स्थानलाई शोलो भन्ने गरिन्छ । उक्त सोलोमा क्रिया गर्ने व्यक्तिले ६ वटा स्थानमा तिल, जौं र कुशले पुजा गरिन्छ । मृत्यु श्लोक बमोजिम नै उक्त स्थानमा घिउ र कोरा चामल मुछेर जौं, तिल र कुश भएको थुप्रोमा मन्त्रोच्चारणका साथ ६ वटा पिण्ड दिने गरिन्छ । उक्त कार्य सम्पन्न गरे पश्चात क्रियापुत्री सेतो बश्त्रमा आफनो घर भएतिर लाग्दछन् । कुनै एउटा चौबाटोमा काँडोलाई ढुँगाले च्याप्ने र सोही ढुँगामाथि टेकेर अगाडि बढदछन् । त्यसको केही अगाडि धुप बाल्ने गर्दछन् । सबैले उक्त धुपको बासना लिएर अगाडि बढ्ने चलन पनि छ । यसरी काँडा टेकेर अगाडि बढ्दा मलामीसँगै आएको प्रेतआत्मा काँडामा अल्झेर अगाडि बढ्न सक्दैन भन्ने हो ।

धामी भएका केही व्यक्तिहरुको घरमा कसैको मृत्यु भएमा त्यस्ता घरका धामीहरुले प्रत्येक दिन ढ्याँग्रो ठटाउँदै जाने र हरेक दिन भैंसी, राँगा, बंगुर, सुंगुर, बोका आदि काट्ने र हरेकै दिन भोज गर्र्ने र ढयाँग्रो ठटाएर प्रेत भगाउने चलन रहेको पनि पाइन्छ । प्रेत आत्मालाई शान्त पार्ने संस्कारको लागी गहुँत खाने र बिभिन्न किसिमको दश दान, तेह्र दान, बैतर्नी आदि पनि गर्ने गरिन्छ ।

भोटे जातीहरुमा लाशलाई लामाले शाइत हेरी कति टुक्रा पार्नु पर्ने हो टुक्रा टुक्रा पारी चिल र गिद्धलाई खुवाउने गर्दछन । सबै टुक्राहरु चिल गिद्धले खाइसकेपछि लामा सो स्थानबाट आफनो घरतिर जाने गर्दछन् भने मलामीहरु पहिले नै घरमा गइसकेका हुन्छन् ।

फारसी समुदायमा पनि यस किसिमको व्यबस्था रहेको पाइन्छ । दनुवार जातीहरुले लाशलाई नदी किनारामा लगी दागबत्ति दिएपछि एकछिन जलाउन बस्दछन् तर पुरै लाश नजल्दै घरतर्फ लाग्दछन् अर्को दिन बिहान आएर हेर्दा लाश बाँकी रहेछ भने अर्को दिन जलाउने गरिन्छ । राई र लिम्बु जातीमा कोही मरेमा बन्दुक पड्काएर मलामी जानको लागी छिमेकीलाई बोलाउने चलन छ । सबै मलामीहरुले मलामी जाँदा हात हातमा खुडा, खुकुरी, बन्दुक, तरवार बोकेर हाहाहुहु गर्दै लाश लैजाने चलन छ ।

लाशलाई गाड्दा बिभिन्न किसिमका धन गहनाहरु पनि सँगै गाड्ने चलन पाइन्छ । लाश गाडिसकेपछि जाँड चढाउने चलन छ । गाडेको लाशको मुखमा एउटा नली राखिएको हुन्छ र त्यसमा दिनहु ७ दिनसम्म बाहिरबाट जाँड हाल्ने चलन रहेको पाइन्छ । राइ, लिम्बु, तामाङ, लामा जातीहरुमा तीन ५ दिन र ७ दिनसम्ममा शुद्धि हुने गर्दछन् । प्युठानको दक्षिण भेगमा रहेका मगर जातीहरुमा पनि ७ दिनमा मृत्यु संस्कारलाई छोटाउने चलन रहेको पाइन्छ । यहाँ रहेको मगर जातीहरुमा चेलीबेटीहरुले शुद्ध हुने घरमा रक्सीसमेतको कोषेली लिएर जाने चलन रहेको पाइन्छ । यसरी लिएर गएको रक्सी कोषेलीलाई शुद्धी हुने घरका व्यक्तिले कोषेलीको मुल्यांकन गरी रकम दिने चलन छ भने टिका दक्षिणाको रकम छुट्टै दिने चलन पनि छ ।

कतिपय मिश्रित जाती जनजाती बसेको स्थानमा टाढाबाट जाने दाजुभाइहरुले तेह्र दिनसम्म बस्न नसकेको अबस्थामा क्रियापुत्री बसेको घरपरिवारका मान्छेले उनीहरुलाई गहुँत दिएर बाटो फुकाउने प्रचलन पनि देखिन्छ । खासगरी बाहुन क्षेत्रीहरुमा १३ दिनसम्म काज क्रिया गर्ने प्रचलन पनि रहेको पाइन्छ । त्यस्तै तराइको बानिया गुप्ता परिवारमा शुद्ध हुने समय दोमासे भएमा लाशलाई कपडामा बेरेर रुखमा झुण्डाइन्छ र सो समयसम्म लाश कुरेर बस्नु पर्दछ । दोमासे कटेपछि मात्र लाश जलाउने पनि गरिन्छ

मुस्लिम धर्माबलाम्वीहरुको समाजमा दाह संस्कारको अनौठो परम्परा रहेको पाइन्छ । उनीहरु लाशलाई तीन पटक नुहाइ दिन्छन् र कपडाले लाशलाई बेर्दछन् । उनीहरु लाशलाई गाड्ने गर्दछन् । क्रिश्चियन परम्परामा मृतकको लाशलाई कफनमा राखिन्छ । लाशमा सुगन्धित अत्तर छर्केर प्रर्थना गरी चिहानमा गाडिन्छ ।

क्रिया बस्ने संस्कार छोटाउनु पर्दछ भन्ने मत पनि आएको देखिन्छ तर यो व्यक्तिको स्वतन्त्रताको कुरा हो । कसैले संस्कृतिलाई अगाडि बढाउँछ भने राज्यले त्यसको संरक्षण गर्नु उपयुक्त नै हुन्छ । धर्म जे सुकै होस् मान्छेले अन्तिम संस्कार पछि उसको आत्माले शान्ति पावस् भन्ने ने गरेको बुझने गरिएको छ । हामीले पनि मृत्यु संस्कारलाई त्यसरी नै बुझने गरेका छौं । यो हिन्दु धर्ममा मात्र होइन जुनसुकै देशका जुनसुकै धर्माबलम्बिले यस्तो प्रार्थना गरेको पाइन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस