‘सुख–समृद्धि’ सरकारको इतिहासकै पहिलो मुद्दा : मन्त्री बाँस्कोटा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘सुख–समृद्धि’ सरकारको इतिहासकै पहिलो मुद्दा : मन्त्री बाँस्कोटा


२६ मंसिर २०७६, बिहिबार


काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको ‘सुख र समृद्धि’ इतिहासकै पहिलो मुद्दा भएको बताएका छन् ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीमा निर्माण भएको टाँसी छ्यू ग्याछोलिङ गुम्बाको उद्घाटन समारोहमा उनले वर्तमान सरकारले उठाएको ‘विकास, समृद्धि र खुशी’ पहिलो मुद्दा भएको बताए ।

उनले भने, ‘यो इतिहासकै पहिलो मुद्दालाई लगातार अघि बढाउने हो, अब कुनै पनि योजनालाई बजेट अभाव हुँदैन, समयमै काम सम्पन्न गर्नुपर्दछ, विकासभित्र सुख र समृद्धि छ ।’ सरकारको योजना ‘जहाँ जनता, त्यहाँ विकास’ रहेको उनले बताए ।

मन्त्री बाँस्कोटाले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आत्मविश्वास जगाउँदै हुनुहुन्छ’ भने । ‘प्रधानमन्त्रीले देश कसरी बनाउने भन्ने सपनाको नेतृत्व गरी हामीलाई जिम्मा लगाउनुभएको छ, हामी सक्छौँ हाम्रो देश बनाउन’, उनले भने । नेपाली श्रमले देश बनाउनसक्ने उल्लेख गर्दै नेपाली प्रकृतिले त्यो अवसर दिएको उनको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले प्रकृति, मानवश्रम र राज्यको सुशासन एकै ठाउँमा जोडेर हरेक गतिविधिलाई उत्पादनसँग जोड्नुपर्ने बताए । उनले भने,’देश बनाउन अन्तर्राष्ट्रिय सहयोग पनि लिनुपर्दछ तर बनाउने आफैंँले हो ।’ उनले नेपाली खेलाडीले ऐतिहासिक साहसका साथ अन्तिममा गोर्खालीको क्षमता प्रदर्शन गरेर दक्षिण एशियाको खेलकूद क्षेत्रमा नेपाल ‘पावर हाउस’का रूपमा विकसित भएको उल्लेख गरे ।

मन्त्री बाँस्कोटाले फरक प्रसङ्गमा खानी र पानी एकै स्थानमा चलाउन नहुने बताए । ‘खानी र पानी एकै स्थानमा चलाएपछि मानव जीवन सङ्कटमा पर्छ, मानव बाँच्न प्रकृति बचाउनुपर्दछ, बरु खानीको विकल्प सोच्न सकिन्छ” उनले भने । बुद्ध जन्मेको देश नेपाल ज्ञान उत्पादनको केन्द्र भएको उनले बताए ।

मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकमा नमोबुद्धमा खानेपानीका लागि लाग्ने अबौँ बजेट आउँदो वर्ष एकैसाथ छुट्याइने, पाँचखालमा खानेपानीको बोलपत्र शुरु भइसकेको, सुनकोशीमा ५३६ मेघावाटको विद्युत्को प्रक्रिया अघि बढेको र अर्बौँको लगानीमा फिल्म सुटिङ केन्द्र पनि निर्माण गरिने बताए ।

उनले भने, ‘अब नमोबुद्ध नगरपालिकाको दुई र पाँचखाल नपाको तीन वडाको करीब १२ हजार रोपनी जमीनमा अन्तर्राष्ट्रियस्तरको मदन भण्डारी विश्वविद्यालय पनि बनाउनेछौँ, विकासमा कुनै पनि जनताले जमीनमा किचलो भने झिक्नुहुँदैन ।’

कार्यक्रममा सांसद गङ्गाबहादुर दोङ, प्रदेशसभा सदस्य रत्न ढकाल र गाउँपालिका अध्यक्ष दलबहादुर लामाले धर्म संस्कृतिको रक्षा, संवर्द्धन पनि विकास नै भएकाले यसतर्फ लाग्न सुझाव दिए । गुम्बा निर्माण समितिका सचिव ज्ञानबहादुर लामाले करीब सात वर्षको अवधिमा रु ६३ लाख ७५ हजार ३४४ मा गुम्बा तथा रु १८ लाखमा बुद्धपार्क निर्माण गरिएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस