हेपिन र स्वाभिमान गिराउन तयार छैनौँः ओली « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

हेपिन र स्वाभिमान गिराउन तयार छैनौँः ओली


१६ माघ २०७३, आइतबार


काठमाडौँ । नेपालको सबभन्दा ठूलो राष्ट्रिय झण्डा आइतवार माइतीघर मण्डलामा फहराइएको छ ।

सहिद दिवसको अवसर नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले झन्डोत्तोलन गर्दै नेपालको राष्ट्रिय झण्डा फहराएका हुन् ।

कार्यक्रममा अध्यक्ष ओलीले नेपाली स्वाभिमानमाथि अपमान हुन थालेपछि राष्ट्रियताप्रति प्यारो लाग्न थालेको बताए ।

केही वर्षयता नेपालको झण्डा नेपालीलाई प्यारो लाग्न थालेको भन्दै उनले केही स्वार्थ तत्वबाहेक सबैले देशलाई माया गर्ने बताए ।

ओलीले जस्तोसुकै परिस्थिति आए पनि देशलाई टुक्रिन र कमजोर पनि हुन नदिने धारणा राखे। “हामी दुःख व्यहोर्न तयार छौं । तर हेपिन र स्वाभिमान गिराउन तयार छैनौँ”– उनले भने “सबै राष्ट्रप्रेमी एक ठाउँमा उभिएर स्वाभिमानको रक्षा गछौँ ।”

उनले देशको स्वाभिमान कसैका विरुद्ध पनि नलाग्ने भन्दै जनता र देशको पक्षमा रहेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र मधेसवादी दललाई राष्ट्रियताका सवालमा एमाले जस्तो नीति ल्याउन आग्रह गरे ।

उनले निर्वाचन नगर्ने प्रयास भइरहेको भन्दै जसरी पनि निर्वाचन गराएर छाड्ने बताए । “निर्वाचन नगर्ने प्रयास भइरहेको छ”– उनले भने “तर निर्वाचन गर्नका लागि आवश्यक दबाब दिने शक्ति हामीसँग छ । निर्वाचन गराएर छाड्छौँ ।”

कार्यक्रममा राष्ट्रकवि घिमिरेले अहिलेको पुस्ताले राष्ट्रितामाथि चासो राख्न थालेको बताए । फहराइएको झण्डा १० मिटर लामो र साढे ७ मिटर चौडाइ रहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस