गर्भावस्था र खतराका लक्षणहरु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गर्भावस्था र खतराका लक्षणहरु


प्रशासन विशेष ब्युरो

२३ असार २०७६, सोमबार


गर्भावस्था हरेक महिलाको लागि आमा बन्ने सौभाग्य हो भने परिवारमा नयाँ सन्तान र खुसी ल्याउने भविष्य हो । गर्भावस्था प्रत्येक महिलाको लागि एक विशेष र जोखिमपूर्ण अवस्था पनि हो । एक महिलाले स्वस्थ बच्चाको जन्म दिन उनी किशोरावस्थादेखिनै स्वस्थ रहन जरुरी छ । गर्भधारण गरेपछि महिला आफू स्वस्थ रही स्वस्थ बच्चालाई जन्म दिन गर्भ परीक्षण, गर्भ स्याहार, सरसफाइ र खानपानमा ध्यान दिनुपर्छ ।

गर्भ जाँच कहिले र कति पटक गर्ने ?

गर्भवती महिलाले कम्तीमा चार पटक र आवश्यकता अनुसार स्वास्थ्य संस्थामा गई जाँच गराउनु पर्दछ ।

पहिलो पटक: महिलाले आफू गर्भवती भएको थाहा पाउनासाथ अथवा ४ महिनामा जँचाउनु पर्छ, यसले महिला गर्भवती भएको निधो गर्न र अरू समस्याहरू छैन भनेर जानकारी पाउन मद्दत गर्दछ ।

दाश्रो पटक: गर्भवती भएको ६ महिनामा जाँच गर्दा महिलाको स्वास्थ्य अवस्था र गर्भमा रहेको शिशुको वृद्धि कस्तो छ थाहा पाउन सकिन्छ ।

तेस्रो पटक: महिला गर्भवती भएको ८ महिनामा अथवा ३२ हप्तामा

चौथो पटक: गर्भवती भएको ९ महिनामा वा ३६ हप्तामा शिशुको अवस्था तथा शिशु गर्भमा कसरी बसेको छ (साधारण/असाधारण वा उल्टो\सुल्टो) पत्ता लगाउन परीक्षण गर्नुपर्छ ।
यदि साधारण अवस्थामा छैन भने दक्ष प्रसूतिकर्मी वा डक्टरसँग समयमानै सल्लाह लिई प्रसूति गराउनको लागि अस्पताल जानुपर्छ ।

गर्भावस्थामा महिलाले निम्न लिखित कुराहरूको परीक्षण गराउनुपर्छ

  • रक्तचापको (ब्लड प्रेसर) परीक्षण
  • पेटको जाँच
  • पिसाब जाँच
  • रगतको परीक्षण अन्तर्गत हेमोग्लोबिन(रक्तअल्पता छ वा छैन पत्ता लगाउन गरिन्छ), ब्लड ग्रुपिङ्ग, भि.डी.आर.एल.(यौन रोग पत्ता लगाउन), एच.आइ.भि.जाँच र एचबिएसएजी (कलेजोको सङ्क्रमण पत्ता लगाउन गरिन्छ)
    रगत परीक्षणबाट आमाको स्वास्थ्य अवस्था थाहा पाइ असाधारण भए समयमानै उपचार गर्न सकिन्छ साथै बच्चालाई आमाबाट बच्चामा सर्न सक्ने रोगहरूबाट बेलैमा बचाउन सकिन्छ ।
  • बच्चाको अवस्था पत्ता लगाउन २४ हप्ता भित्र एक पटक यु.एस.जी.(अल्ट्रासोनोग्राफी) गराउने र आवश्यकता भए स्वास्थ्यकर्मीको सल्लाह अनुसार गर्ने ।
  • गर्भवती भएको ४ महिना पछि एक पटक जुकाको औषधी अनिवार्य खाने जुन स्वास्थ्य संस्थामा निःशुल्क पाउँछ ।
  • गर्भवती भएको ४ महिना लागेपछी सुत्केरी भएको ६ हप्ता सम्म प्रत्येक दिन आइरन फोलेट चक्की खानुपर्छ र यो नेपाल सरकारले स्वास्थ्य संस्था मार्फत निःशुल्क वितरण गर्छ ।
  • टि डि (टिटानस टक्साइ, डिप्थेरिया) इन्जेक्सन दुइपटक लिनुपर्छ, एउटा पहिलो पटक गर्भवती भएको थाहा पाउन साथ र दाश्रो त्यसको एक महिनाको अवधिमा, तर त्यो नौं महिना पुग्नु भन्दा अगाडी हुनुपर्छ टि डी खोप पनि स्वास्थ्य संस्थामा निःशुल्क पाउँछ ।

गर्भावस्थामा देखिन सक्ने खतराका चिन्हहरू (Danger Sign in pregnancy)
गर्भावस्थामा केही महिलाहरूमा जोखिमपूर्ण सङ्केतहरू देखिन सक्छन् । खतराका चिन्हहरू भन्नाले त्यस्ता चिन्हलाई जनाउँछ जसले समयमै उपचार नभए जीवनलाई गम्भीर जोखिमको अवस्थामा पु¥याउछ अथवा आमाको मृत्यु पनि हुन सक्दछ । निम्न लिखित समस्याहरू मध्ये कुनै एक मात्र देखिए पनि गर्भवती आमा तथा उनको परिवार सजग रहनुपर्छ र तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा उपचारको लागि जानुपर्छ ।

खतराका सङ्केतहरू
१. प्रसूति हुनुभन्दा अगाडि रक्तश्राव भएमा तथा पानी जस्तो तरल पदार्थ लगातार बगेमा
२. धेरै टाउको दुखेमा
३. आँखा तिरमिराएर धमिलो देख्ने रिँगटा लाग्ने भएमा,
४. हातखुट्टा अररो हुने अथवा मुर्छित भएमा,
५. धेरै ज्वरो आएमा
६. धेरै पेट दुखेमा
७. पेटको बच्चा कम चलेमा अथवा नचलेमा
८. हात, खुट्टा र मुख सुन्निएमा,
९. अत्यधिक मात्रामा बान्ता भएमा,
१०. श्वासप्रश्वासमा गाह्रो भएमा

माथि उल्लिखित खतराका लक्ष्णहरु मध्ये केही लक्ष्णहरु प्रसूति पश्चात् पनि देखिन सक्छन् ।जस्तै: प्रसूति पश्चात् अत्यधिक रक्तश्राव हुनु, धेरै टाउको दुख्नु, आँखा तिरमिराएर धमिलो देख्नु, रिँगटा लाग्नु तथा मुर्छा पर्नु र धेरै ज्वरो आउनु । प्रसूति पछि आउन सक्ने यस्ता समस्याहरूले पनि आमाको ज्यान जोखिममा पर्न सक्छ र समयमा उपचमर नगरे ज्यान समेत जान सक्दछ ।

आमा स्वस्थ रही स्वस्थ बच्चाको जन्म दिनको लागि र जोखिमपूर्ण समस्याहरूबाट बच्न गर्भवती महिलाले नियमित स्वास्थ्य संस्थामा गई गर्भ जाँच गराउन महत्त्वपूर्ण छ । साथै माथि उल्लिखित खतराका लक्ष्णहरु देखिन बित्तिकै तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गई उपचार गर्न जरुरी छ ।

पिबिबीएन, यमपीएच

Tags :
प्रतिक्रिया दिनुहोस