सामाजिक सञ्जालले अपराध अनुसन्धानमा चुनौती थपेको छ : एसएसपी राना « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

सामाजिक सञ्जालले अपराध अनुसन्धानमा चुनौती थपेको छ : एसएसपी राना


११ जेष्ठ २०८१, शुक्रबार


काठमाडौँ । दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली नेपालबाट मानव तस्करी गर्ने गरेको नेपाल प्रहरीको अनुसन्धानमा खुलेको छ । गिरोहले नेपालीहरूलाई भिजिट भिसामा दुबई पु¥याउने र त्यहाँबाट विभिन्न प्रलोभन देखाई कुवेत लगायतका विभिन्न देश पु¥याएर बेचबिखन गर्ने गरेको पाइएको हो । गरिबी, अशिक्षा, बेरोजगारी बेचबिखनमा पर्ने प्रमुख कारण हुन् । यसै गरी विलासी जीवन शैली, सजिलो माध्यमबाट पैसा आर्जन गर्ने लालसा पनि बेचबिखनमा पर्ने कारण हुन् ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार भारतबाट श्रीलङ्का, श्रीलङ्काबाट दुबई हुँदै कुवेत, ओमान, इराक, अफगानिस्तानलगायतका देशमा महिलाहरूलाई बेचबिखन गर्ने गरेको पाइएको छ । प्रहरीले बेचबिखनमा परेकाहरूलाई उद्धार पनि गर्ने गरेको छ । उद्धारको मुद्दा २५ प्रतिशतले वृद्धि भएको ब्युरोले जनाएको छ । ब्युरो बाहेक अन्य प्रहरी युनिट र विभिन्न सङ्घसंस्थाको सहकार्यमा ४८ प्रतिशत उद्धार भएको छ । समग्र नेपाल प्रहरीले ६४ प्रतिशत उद्धार गरेको छ ।

भारतलगायत खाडी मुलुकबाट उद्धार गरेर ल्याइएकाहरूलाई सेल्टरमा सामान्य रूपमा राख्ने गरिएको छ । उनीहरूको व्यवस्थापन तथा पुनः स्थापनाका लागि सरकारले मास्टर प्लान गरेर अघि बढ्नु पर्छ । सरकारका विभिन्न निकायबिच समन्वय गरेर कृषि योग्य जग्गा उपयोग गरी उद्धार गरेर ल्याइएकाहरूलाई कृषिमा लगाउन सकिन्छ र यसले आत्मनिर्भर बनाउन मद्दत पुग्छ । अर्कोतर्फ सिप सिक्न इच्छुकहरूलाई सिप सिकाएर आत्मनिर्भर बनाउन सकिन्छ । यो गर्न सकियो भने विदेशमा जोखिममा रहेकाहरू स्वदेश फर्किन सक्छन् र उद्धार गरेर ल्याइएकाहरूको लागि पनि आयआर्जनको लागि राम्रो बाटो बन्न सक्छ ।

विदेश पठाउनेमा आफन्त नै संलग्न हुने हुनाले उजुरी पनि कम पर्ने गरेको छ भने अर्कोतर्फ डर त्रासले पनि पीडितले उजुरी दिँदैनन् । यस सन्दर्भमा मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ओम बहादुर रानासँग प्रशासन डटकमले गरेको कुराकानीको सम्पादित अंश ।

पछिल्लो समय मानव बेचबिखन बढेको देखिन्छ, घटना बढेको हो कि उजुरी आउने क्रम बढेको हो ?
मानव बेचबिखनको स्वरूपमा परिवर्तनसँगै मानव बेचबिखनका घटनासमेत बढ्दो देखिन्छ । विगतमा मानव बेचबिखन भन्नाले साधारणता चेलीबेटी बेचबिखनलाई मात्रै बुझिन्थ्यो, हाल आएर विभिन्न आवरणमा पुरुषहरू समेत पीडित भएको देखिन्छ । जस्तै: वैदेशिक रोजगारी, सेनामा भर्ती (रसिया)मानव तस्करी ।

सचेतनामूलक कार्यक्रमले गर्दा पनि जनमानसमा मानव बेचबिखन सम्बन्धी जानकारी भएकाले प्रहरीमा उजुरी आउने क्रम बढेको हो । उद्धारको मुद्दा २५ प्रतिशतले वृद्धि भएको ब्युरोको तथ्याङ्कले देखाउँछ । ब्युरो बाहेक अन्य प्रहरी युनिट र विभिन्न सङ्घसंस्थाको सहकार्यमा ४८ प्रतिशत उद्धार भएको छ । समग्र नेपाल प्रहरीले ६४ प्रतिशत उद्धार गरेको छ ।

नेपालमा मानव बेचबिखनको शृङ्खला कस्तो छ ? कसरी बेचिन पुग्छन्, बेचिन्छन् ?
मानव बेचबिखनको लागि विभिन्न फ्याक्टरहरूको संलग्नता हुन्छ । पुल फ्याक्टर (तान्ने कारक)– शहरी जीवनशैली, मनोरञ्जन, विलासी जीवन शैली, नक्कल गर्ने प्रवृत्ति, सजिलो माध्यमबाट पैसा आर्जन गर्ने लालसा, राम्रो बन्ने प्रवृत्ति, सामाजिक सञ्जालको दुरुपयोग आदि पुल फ्याक्टरमा पर्दछन् । यी कारणबाट पनि बेचिने गरेको पाइन्छ ।

पुस फ्याक्टर (धकेल्ने कारक)– स्थानीय परिवेशमा गरिबी, अशिक्षा, बेरोजगारी, आय आर्जनको अवसरमा कमी, सामाजिक असुरक्षा, घरेलु हिंसा, द्वन्द्व र राजनीतिक अस्थिरता आदि पुस फ्याक्टरमा पर्दछन् । यी कारणहरूले पनि बेचिने जोखिम निम्त्याएको छ ।
बेचबिखन पूर्व पीडित पहिचान, विश्वासमा लिने, एक्लाउने, आवश्यकता पूरा गर्ने गरेको अनुसन्धानहरूबाट देखिन्छ । बेचबिखनमा परेका माथि हिंसा, नियन्त्रण र शोषण गरेको देखिन्छ ।

कस्ता व्यक्तिहरू बेचबिखनमा पर्ने गरेका छन् ?
नेपालको सन्दर्भमा खास गरी अशिक्षित, बेरोजगार, एकल महिला बेचबिखनमा पर्ने गरेका छन् । बुबा–आमाको स्याहार नपाएका बालबच्चाहरू सँगसँगै हाल शिक्षित वर्गका व्यक्तिहरू समेत बेचबिखनमा पर्ने गरेका छन् ।

कम्प्युटर इन्जिनियर्सहरु समेत थाइल्याण्ड, लाओस्, कम्बोडिया लगायतका स्थानमा बेचबिखनमा परेका छन् । इलिगल माइग्रेन्ट अमेरिका जानको लागि लाखौँ रुपैयाँ बुझाउने प्रवृत्ति पनि देखिएको छ ।

अमेरिका अवैध बाटोबाट जानका लागि मानिसले ५० लाखसम्म खर्चेको पाइन्छ, जनचेतनाको कमीले हो वा विदेश जाने हुटहुटीले हो ?
५० लाख मात्र नभई हामीसँग बढीमा ८५ लाख रुपैयाँसम्म बुझाएका पीडितहरू समेत हुनुहुन्छ । जनचेतनाको कमीले भन्दा पनि यो विदेश जाने हुटहुटी र सजिलै धेरै पैसा आर्जन गर्न सकिन्छ भन्ने विश्वासले हो । विदेशी जिवनशौली र विदेशी मुद्राको सटही दरले गर्दा तुलनात्मक रूपमा आम्दानी धेरै हुने हुँदा पनि पैसा खर्चेको पाइन्छ ।

विदेश भन्ने बित्तिकै मानिसहरूमा मोह छ, जसको फाइदा उठाई दलालहरूले लाखौँ रकम उठाएको देखिन्छ । दलालले सजिलै भ्रममा पार्ने गरेको देखिन्छ ।

सूचना प्रविधि र सामाजिक सञ्जालको विकासले चुनौती थपेको छ ? अनुसन्धानले के देखाउँछ ?
सूचना प्रविधि र सामाजिक सञ्जालको विकासले हरेक अपराधको अनुसन्धान र रोकथाममा चुनौती थपिएको छ । यसले पीडकलाई आफ्नो परिचय लुकाउन साथै पीडितको पहिचान तथा पीडितसँगको सम्पर्क सहज बनाइदिएको छ ।

सूचना प्रविधिको तीव्र विकासले विश्वव्यापीकरणमा समेत तीव्रता ल्याएकोले पीडकलाई पीडितहरूलाई आश्वासन देखाई प्रलोभनमा पार्न पनि सहज भएको छ । सामाजिक सञ्जाल प्रयोग गरी गरिने अपराधको अनुसन्धानमा चुनौती छ ।

मानव बेचबिखन अन्तरदेशीय तथा सङ्गठित अपराध हो, यसको अनुसन्धान कति सहज छ ?
मानव बेचबिखन एक देशमा मात्र सीमित नभई विभिन्न देशहरूमा फैलिएको अपराध हो । मानव बेचबिखन तथा ओसारपसारको विभिन्न चरणमा विभिन्न देशका विभिन्न व्यक्तिहरूको संलग्नता रहेको हुन्छ । यस अपराधमा कुनै देश स्रोतको रूपमा, कुनै देश ट्रान्जिटको रूपमा र कुनै देश गन्तव्यको रूपमा प्रयोग भएका हुन्छन् । मानव बेचबिखन तथा ओसारपसारको अनुसन्धानमा स्वदेशी लगायत विदेशी व्यक्तिहरूको संलग्नता रहने र नेपालीसमेत विदेशमा बसेर यस अपराधमा संलग्न रहने हुनाले यसको अनुसन्धानमा जटिलता छ ।

नेपालले अन्य राष्ट्रहरूसँग पारस्परिक कानुनी सहायता सन्धि समेत नगरेको कारणले पनि यस अपराधको अनुसन्धान थप जटिल बनेको हो । भारतमा जस्तै दुबईमा पनि प्रहरी युनिट राख्न सकेमा अनुसन्धान र उद्धारमा धेरै सहज हुने देखिन्छ ।

मानव बेचबिखन रोकथामका लागि के–कस्ता प्रयास भएका छन् ?
मानव बेचबिखन तथा ओसारपसार घटनाको प्रभावकारी अनुसन्धान, बेचबिखन तथा ओसारपसारमा परेकाहरूको उद्धार, संरक्षण तथा समन्वय गर्ने गरिएको छ । यसैगरी वैदेशिक रोजगार विभागमा बेचबिखन तथा ओसारपसारको जोखिममा पर्न सक्ने व्यक्तिहरूको पहिचान तथा उद्धारको लागि प्रहरी परिचालन गरिएको छ । विभिन्न संस्थाहरूको सहयोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत नेपालबाट विदेश जाने नाकाहरूमा आठ वटा टोल फ्रि नम्बर सहितको सचेतनामूलक डिजिटल बोर्डहरू राखिएको छ ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूबिच प्रभावकारी समन्वय र कार्य सम्पादनको लागि द्वैमासिक समन्वयात्मक बैठक हुँदै आएको छ । आफन्त नेपालको सहयोगमा पाँच हजार प्रति जानकारीमूलक पर्चा छापेर वितरण गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको सहयोगमा चेतनामूलक वृत्तचित्र निर्माण तथा प्रसारण गरिएको छ भने मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी चेतनामूलक लघु चलचित्र “मनशरा” निर्माण तथा प्रदर्शन भएको छ । नेपाल प्रहरीले आफ्नो तर्फबाट मानव बेचबिखन रोकथामका लागि काम गरिरहेको छ ।

बेचबिखनमा परेकाको उद्धार र संरक्षणमा कतिको चुनौती छ ?
बेचबिखनमा परेकाको उद्धारको लागि प्रभावकारी संयन्त्रको अभावको महसुस भएको छ । उद्धार गरिएका पीडितहरू राख्ने सरकारी आवास गृहको पनि अभाव छ । प्रभावकारी संयन्त्र र आवस गृहको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

विभिन्न देशबाट उद्धार गरेर ल्याइएको व्यवस्थापन तथा पुनः स्थापनाका लागि सरकारले मास्टर प्लान गरेर अघि बढ्नु पर्छ । सरकारका विभिन्न निकायबिच समन्वय गरेर कृषि योग्य जग्गा उपयोग गरी उद्धार गरेर ल्याइएकाहरूलाई कृषिमा लगाउन सकिन्छ र यसले आत्मनिर्भर बनाउन मद्दत पुग्छ ।

अर्कोतर्फ सिप सिक्न इच्छुकहरूलाई सिप सिकाएर आत्मनिर्भर बनाउन सकिन्छ । यो गर्न सकियो भने विदेशमा जोखिममा रहेकाहरू स्वदेश फर्किन सक्छन् र उद्धार गरेर ल्याइएकाहरूको लागि पनि आयआर्जनको राम्रो बाटो बन्न सक्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस