बिनाअनुमति पाठ्यपुस्तक बिक्री गर्ने गौतम बुक्स सप्लायर्सलाई ५० हजार जरिवाना « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

बिनाअनुमति पाठ्यपुस्तक बिक्री गर्ने गौतम बुक्स सप्लायर्सलाई ५० हजार जरिवाना


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । बिनाअनुमति पाठ्यपुस्तक बिक्री गर्ने नेपालगन्ज-२ बसपार्क रोडमा रहेको गौतम बुक्स सप्लायर्सलाई जरिवाना गरिएको छ । 

सोमबार बेलुकी बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई आएको सूचनाका आधारमा अनुगमन गरी ५० हजार जरिवाना गरिएको हो ।

निर्धारित सर्त पूरा गरेर सूचीकृत बिक्रेताको रूपमा अनुमति पाएका बिक्रेताहरूले मात्र सरकारी पाठ्यपुस्तक बिक्री वितरण गर्न पाउने व्यवस्था छ । 

गौतम बुक्स सप्लायर्सले बिक्री गरिने पुस्तकहरूको मूल्य सबैले देख्ने स्थानमा अनिवार्य टाँसेर राख्नु पर्ने दोस्रो सर्तको पनि बेवास्ता गरेको पाइएकोले जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।

प्रजिअ पोखरेलका अनुसार सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रबाट उत्पादन र वितरण भइरहेको सरकारी विद्यालयका पाठ्यपुस्तकहरूमा क्रेता-शैक्षिक अभिभावकले अनिवार्य रूपमा थाहा पाउनु पर्ने बिक्री मूल्य जस्तो महत्त्वपूर्ण सूचना समेत उल्लेख नगरिएपछि बिक्रेताले भनेको मूल्यलाई नै स्विकार्नु पर्ने बाध्यतामा शैक्षिक अभिभावकहरू रहेका छन् । 

यस्तो व्यवस्थाबाट शैक्षिक अभिभावकहरू ठगिने सम्भावना उच्च रहकोले यस्तो संवेदनशील  विषयलाई आफूले गृह मन्त्रालय र पाठ्यपुस्तक विकास केन्द्रलाई मौखिक रूपमा अवगत गराई सकेको प्रजिअ पोखरेलले बताए ।

निजी क्षेत्रका उत्पादनमा बिक्री मूल्य अनिवार्य उल्लेख भएको हुनुपर्ने तर सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रले उत्पादन गरेको पाठ्यपुस्तकमा मूल्य उल्लेख नगरे पनि हुने व्यवस्था शैक्षिक उपभोक्ताको हितमा नरहेकोले बेलैमा सरोकारवाला निकायहरूको ध्यान जान जरुरी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस