गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र गुरुङलाई भौतिक मन्त्रालयको जिम्मेवारी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र गुरुङलाई भौतिक मन्त्रालयको जिम्मेवारी


८ बैशाख २०८१, शनिबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । उनले विनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरुङ (दीपक मनाङे)लाई शनिबार जिम्मेवारी तोकेका हुन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका चुमानले आर्थिक मामिला मन्त्रालय र गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रिपरिषद् कार्यविभाजन हेरफेरसहित जिम्मेवारी तोकेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए ।

बाँकी रहेका उद्योग, पर्यटन, वन तथा वातावरण, ऊर्जा, जलस्रोत तथा खानेपानी, कृषि तथा भूमि व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री अधिकारीले नै राखेका छन् ।

गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोही दिन चुमान र गुरुङलाई विनाविभागीय मन्त्री नियुक्त गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस