एसिसी प्रिमियर कपमा अपराजित रहँदै नेपाल सेमिफाइनलमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एसिसी प्रिमियर कपमा अपराजित रहँदै नेपाल सेमिफाइनलमा


५ बैशाख २०८१, बुधबार


काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरबलाई हराएको छ। एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ।

बुधबार साउदी अरबलाई  ६ विकेटले  पराजित गर्दै नेपाल समूह ‘ए’ मा अपराजित रहेको हो। यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको थियो।

बुधबार ओमानको अल अमरतमा साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ४ बल खेल्न बाँकी छदा ४ विकेट गुमाएर पार गर्‍यो।

नेपालका लागि गुल्सन झाले नटआउट ३२ रन बनाए। उनले १९ बलमा २ चौका र २ छक्का हिर्काए। कप्तान रोहितकुमार पौडेलले ७ बलमा १ चौका र १ छक्काको मद्दतमा नटआउट १६ रन बनाए।

त्यसअघि ओपनरद्वय कुशल भुर्तेल शून्य र आसिफ शेख २ रनमा आउट भए। कुशल मल्ल २ रनमै आउट भएका थिए। दीपेन्द्रसिंह ऐरीले ९ बलमा ३ चौका प्रहार गर्दै १७ रन जोडे। 

वर्षाका कारण मैदान हिलो हुँदा ८ ओभरमा झारिएको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको साउदीले ७ विकेटको क्षतिमा ७३ जोड्यो।

साउदीका लागि अब्दुल वाहीदले सबैभन्दा बढी ३७ रन जोडे। उनले १६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा नेपालका करण केसी र अभिनास बोहराले २/२ विकेट लिए। ललित राजवंशी र प्रतिश जिसीले १–१ विकेट हात पारे।

नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनेको थियो। नेपालसँग पराजित भएपछि साउदी भने बाहिरिएको छ। नेपालको जितले समूह हङकङ समूह उपविजेता बनेर अन्तिम चारमा पुग्यो। समूहमा नेपालले ८ अंक जोड्दा हङकङ र कतारले ४(४ अंक जोडे। रनरेटमा हङकङ अघि रह्यो। साउदी र मलेसियाले २(२ अंक मात्र जोड्न सके।

१० टिम सहभागी कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। आज समूह ‘बी’ मा ओमान र कुवेत तथा युएई र कम्बोडिया भिड्दै छन्। अन्तिम खेलअघि शीर्ष स्थानको ओमानको ६ अंक छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको युएईको ४/४ अंक छ। 

नेपालले समूह ‘बी’  को उपविजेतासँग अन्तिम चारमा भिड्नेछ। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।

यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।

प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ। गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ।

Tags :
प्रतिक्रिया दिनुहोस