रुपन्देही प्रशासनमा मिटरव्याज पीडितका ६१९ निवेदन, मिलापत्र हुन नसकेकालाई प्रहरीमा पठाइयो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रुपन्देही प्रशासनमा मिटरव्याज पीडितका ६१९ निवेदन, मिलापत्र हुन नसकेकालाई प्रहरीमा पठाइयो


५ बैशाख २०८१, बुधबार


बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मिटरव्याज सम्बन्धी मिलापत्र/सहमति हुन बाँकी निवेदनहरूलाई जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । 

जिल्ला प्रशासन कार्यालयमा मिटरव्याज सम्बन्धी छ सय १९ वटा निवेदन दर्ता भएकोमा करिब दुई सय ५० निवेदनमाथि छलफल भई मिलापत्र/सहमति भएको थियो । सहमति हुन बाँकी निवेदनहरू जिल्ला प्रहरीमा पठाइएको रुपन्देही प्रशासनले जनाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी र सरकारी वकिलको सहभागितामा निवेदनसँग सम्बन्धित दुवै पक्षको उपस्थितिमा छलफल गराइएको थियो । छलफलमा कागजात अध्ययन र दुवै पक्षका कुरा सुनुवाइ गरी मिलापत्र/सहमति गरिएको थियो । पीडक र पीडित दुवै पक्षको चित्त बुझाएर सहमति गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार मिटरव्याज सम्बन्धी उजुरी तथा निवेदन दिन र पीडितका गुनासा सुन्नका लागि गुनासो सुनुवाइ तथा सहजीकरण डेस्क सञ्चालन गरिएको थियो । फोकल अधिकृत (गुनासो सुनुवाइ तथा सहजीकरण अधिकृत) नै तोकेर डेस्क सञ्चालन गरिएको हो ।

जिल्ला प्रशासनमा निवेदन दर्ता गरेकाहरू आफ्नो निवेदनबारे बुझ्न आउने भएकाले त्यसबारे जानकारी दिन अहिले पनि तोकिएका फोकल अधिकारी कायम नै राखिएको अर्यालले जानकारी दिए । निवेदन दर्ता गराउन छुटेकाहरूलाई प्रहरीमा पठाउने गरिएको प्रशासनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस