चैते दसैँमा तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चैते दसैँमा तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो


४ बैशाख २०८१, मंगलबार


दमौली(तनहुँ) । चैतेदसैँको अवसरमा तनहुँको पवित्र धार्मिकस्थल तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । व्यास नगरपालिका–४ सहिद शान्ति पार्कभित्र रहेको कालिका मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो ।

बडादसैँ र चैतेदसैँको अवसरमा कालिका मन्दिरमा विशेष पूजाआजा हुने गरेको छ । मन्दिरमा पूजाआजा गर्नका लागि दमौली आसपासबाट भक्तजन आएका व्यास-४ का वडाध्यक्ष मनबहादुर गुरुङले बताए ।

विगतको केही वर्ष कोरोना महामारीका कारण भक्तजन उपस्थिति कम देखिने गरेकामा यस वर्ष उल्लेख्य वृद्धि भएको व्यास–३ का अजित पन्तले बताए । घुइँचोका कारण पूजाआजा गर्न समय लागेको उनको भनाइ छ ।

उक्त मन्दिर मल्लकालीन प्यागोडा शैलीमा निर्माण गरिएको छ । रु तीन करोड लागतमा मन्दिर निर्माण गरिएको हो । तीन तले मन्दिर ५५ फिट उचाइको रहेको छ । मन्दिरमा विभिन्न देवीदेवताका आकृति भएका ६० वटा टुँडाल हालिएको छ भने मन्दिरमा नौ फिट उचाइको गजुर राखिएको छ । 

पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारबाट एक किलोमिटरको दूरीमा रहेको मन्दिर परिसरमा पार्क निर्माण गरी पैदलमार्ग बनाइएको वडाध्यक्ष गुरुङले बताए । उनका अनुसार सवारीसाधनका लागि पक्की बाटो निर्माणको योजना बनाइँदै छ । 

“अप्ठ्यारो ठाउँमा ८० मिटर बाटो ढलान गरिएको छ । दमौली बजारबाट एक किमी दूरीमा पर्ने पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् भने गुरुयोजना अनुसारको थप पूर्वाधार निर्माण हुन बाँकी छ”, वडाध्यक्ष गुरुङले भने । 

उनका अनुसार ३७ हेक्टर क्षेत्रफलमा काँडे तारबार, १० फिट चौडाइको एक किमी पक्की सिँढी निर्माण, दुई वटा वनभोज स्थल, एउटा कुरुवा घर, सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेका छन् । रिजर्भ ट्याङ्की बनाएर खानेपानीको व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस