आइपीएलमा हैदरावादको रेकर्डब्रेक प्रदर्शन बेंग्लुरु २५ रनले पराजित  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आइपीएलमा हैदरावादको रेकर्डब्रेक प्रदर्शन बेंग्लुरु २५ रनले पराजित 


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । विराट कोहली, फाफ डुप्लेसिस जस्ता स्टार खेलाडी रहेको रोयल च्यालेन्जर्स बेंग्लुरुले आइपीएलमा लगातार पाँचौं र समग्रमा छैटौं हार व्यहोरेको छ । सोमबार राती भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लुरु सनराइजर्स हैदरावादसँग २५ रनले पराजित भयो । 

आइपीएलको जारी सिजनको दोस्रो खेलमा पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको बेंग्लुरुले पहिलो खेलमा चेन्नई र त्यसपछिका लगातार पाँच खेलमा पराजय भोग्न पुग्यो । सोमबार राति भएको खेलेमा पनि बेंग्लुरु सनराइजर्स हैदरावादसँग २५ रनले पराजित भएको छ । यो सँगै तालिकाको पनि पुच्छारमा पुगेको छ ।

 हैदरावाद भने ६ मध्य चार खेलमा जित निकाल्दै तालिकाको चौथो स्थानमा छ । सोमबार राति पहिला ब्याटिङ गरेको हैदरावादले निर्धारित ओभरमा ३ विकेट गुमाएर २८७ रनको विशाल योगफल तयार पारेको थियो । जवाफमा बेंग्लुरु ७ विकेट गुमाएर २६२ रनमा समेटियो । 

गएरातीको खेलमा हैदरावादले यसअघिको आएपीएलमा बनाएको सर्वाधिक रनको आफ्नै रेकर्ड तोडेर नयाँ रेकर्डको कीर्तिमान बनाएको थियो । यसअघि मुम्बई इन्डियन्स विरुद्ध खडा गरेको २७७–३ रनको योगफललाई सोमबार तोड्दै हैदरावादले २७८–३ रनको नयाँ कीर्तिमान बनाएको हो ।  

हैदरावादले जित निकाले पनि नेट रन रेटमा खासै फाइदा लिन सकेन र चेन्नई सुपर किंग्ससँग बराबरी अंक भए पनि टोली अंक तालिकाको चौथो स्थानमै रह्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले ट्राभिस हेड र अभिषेक शर्माको जोडीको उत्कृष्ट सुरुवातको मद्दतमा पावरप्लेमा बिना कुनै क्षति ७६ रन बनाएको थियो । हेडले २० बलमा आफ्नो अर्धशतक पूरा गरे भने आठौं ओभरमा टोलीको स्कोर १०० पुगेको थियो । पहिलो विकेटका लागि शतकीय साझेदारीलाई बेंग्लुरुका रिस टोपले तोडेका थिए । पहिलो विकेटको रूपमा अभिषेक शर्मा २२ बलमा ३४ रन बनाएर टिमको स्कोर १०८ रन हुँदा आउट भए ।

ट्राभिस हेडको तुफानी पारि जारी रह्यो । उनले ३९ बलमा आईपीएल इतिहासमा सबैभन्दा छिटो शतक बनाए । १३ औं ओभरमा आउट हुनुअघि हेडले ४१ बलमा ९ चौका र ८ छक्का सहित १०२ रन बनाएका थिए । हैदरावादको टोलीले १२औँ ओभरमा १५० रन र १५औँ ओभरमा २०० रन पुरा गरेको थियो । हेनरिक क्लासेनले शानदार अर्धशतक प्रहार गर्दै ३१ बलमा ६७ रन बनाएर १७ औं ओभरमा २३१ रनको स्कोरमा आउट भए । क्लासेनको इनिङ्समा २ चौका र ७ छक्का प्रहार गरे ।

रोयल च्यालेन्जर्स बेंग्लुरुले अन्तिम ओभरमा पनि राहत पाएन । अब्दुल समद र एडेन मार्करामले आईपीएल इतिहासमा सबैभन्दा ठूलो रनको कीर्तिमान तोडे, जुन एकै सिजनमा हैदरावाद टोलीले बनाएको थियो । समदले १० बलमा ३७ रनको अविजित इनिङ खेले । मार्कराम पनि १७ बलमा ३२ रन बनाएर अविजित रहे । रोयल च्यालेन्जर्स बेंग्लुरुका लागि लोकी फर्गुसनले सर्वाधिक २ विकेट लिए । एक विकेट रिस टोप्लेको नाउँमा रह्यो ।

लक्ष्य पछ्याउने क्रममा फाफ डु प्लेसिस र विराट कोहलीको जोडीले रोयल च्यालेन्जर्स बैंग्लोरलाई शानदार सुरुवात गराएको थियो । दुवैले पावरप्लेमा नै ७९ रन जोडे । २० बलमा ४२ रन बनाएर आउट भएका विराटको रूपमा सातौं ओभरमा टिमलाई पहिलो झटका लाग्यो । तर, विल ज्याक (७) र रजत पाटीदार (९) फ्लप भए र नवौं ओभरमा स्कोर १११÷३ पुग्यो ।

फाफले विस्फोटक पारी खेले । तर, उनी पनि १० औं ओभरमा आउट भए । उनको ब्याटले २८ बलमा ७ चौका र ४ छक्का सहित ६२ रन बनाए । सौरभ चौहानले खाता पनि खोल्न सकेनन् र उनी पनि १० औं ओभरमा आउट भए । संकटमा परेको आरसीबीलाई दिनेश कार्तिकको साथ मिलेको थियो । जसले तुफानी ब्याटिङले टोलीलाई लज्जास्पद हारबाट जोगाए । कार्तिकले १९ औं ओभरमा आउट हुनुअघि ३५ बलमा पाँच चौका र सात छक्काको मद्दतले ८३ रन बनाएपछि टोलीको स्कोर २४० रन पुगेको थियो । महिपाल लोमरले १९ रन अनुज रावतले २५ रनको अविजित इनिङ खेले । तर, यी प्रयासका बाबजुद टोली लक्ष्यमा पुग्न सकेन । सनराइजर्स हैदरावादका प्याट कमिन्सले सर्वाधिक ३ विकेट लिए भने मयंक मार्कन्डेले २ विकेट हात पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस