एक खेल खेल्नुअघि नै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एक खेल खेल्नुअघि नै नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । नेपाल एसिसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। समूहको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नुअघि नै नेपाल सेमिफाइनलमा पुगेको हो।

नेपालको समूहको कतारले सोमबार मलेसियालाई ४ विकेटले पराजित गरेपछि नेपालको अन्तिम खेलअघि नै सेमिफाइनलमा स्थान पक्का भएको हो।

समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ। दोस्रो स्थानको साउदी अरेबियाको दुई खेल खेल्न बाँकी छदा ४ अंक छ। मलेसिया, कतार र हङकङले अन्तिम खेलअघि २/२ अंक जोडेका छन्।

ओमानमा जारी प्रतियोगितामा नेपालले सोमबार नै लगातार तेस्रो जित हात पारेको थियो। सोमबार हङकङलाई ८ विकेटले पराजित गरेसँगै नेपालले आफ्नो विजयी यात्रा कायम राखेको थियो।

समूह ‘ए’ मा यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।

सोमबार अल अमेरतमा हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर १२.२ ओभरमै पूरा गर्‍यो।

उत्कृष्ट सुरुवात दिलाएका नेपालका ओपनरद्वय आसिफ शेखले ४० रन र कुशल भुर्तेलले ३२ रन जोडे। आसिफले १८ बलमा ३ चौका र ३ छक्का तथा कुशलले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

कप्तान रोहित पौडेलले २० बलमा नटआउट २५ रन र सन्दीप जोराले १७ बलमा नटआउट १९ रन जोडे।

वर्षाका कारण ढिलो गरी सुरु भएको खेल १८ ओभरमा झारिएको थियो। जसमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङ १ बल बाँकी छदा ११४ रनमा अलआउट भयो।

नेपालले चौथो खेल साउदी अरेबियासँग वैशाख ५ गते खेल्नेछ। समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।

यो प्रतियोगिता जित्ने टिम सन् २०२५ को एसिया कपमा पुग्नेछ। सन् २०२५ को एसिया कप टी-२० फर्म्याटमा हुनेछ। शीर्ष तीन टिमले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछन्।

प्रतियोगितालाई आइसिसी टी-२० विश्वकपको तयारीको रूपमा लिइएको छ। गत वर्ष नेपालमा भएको प्रतियोगिता जितेको नेपालका लागि उपाधि रक्षा गर्ने चुनौती पनि छ।

Tags :
प्रतिक्रिया दिनुहोस