इजरायलमा नेपालीहरू सुरक्षित छन् : दूतावास « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इजरायलमा नेपालीहरू सुरक्षित छन् : दूतावास


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे चिन्ता सुरु भएको छ । यसअघि युद्धमा परेर धेरै जना नेपालीहरूले ज्यान गुमाएका कारण इजरायलमा भएका स–साना साङ्घातिक हमलाहरूमा पनि नेपालमा रहेका परिवार र आफन्तजनले चिन्ता गर्ने अवस्था बनेको छ । तर इजरायलस्थित नेपाली राजदूतावासले भने त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जनाएको छ । दूतावासले विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेपनि नेपालीहरू भने सुरक्षित रहेको जनाएको छ । दूतावासले नेपालीहरूलाई कुनै समस्या परेर दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरे । 

दूतावासले जारी गरेको विज्ञप्तिमा द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न आग्रह गरिएको छ । 

‘इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणबाट यहाँ बसोबास गर्ने नेपाली नागरिकहरूलाई कुनै असर नपरेको र सबै नेपालीहरू सकुशल अवस्थामा रहुनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ दूतावासले विज्ञप्तिमार्फत् भनेको छ । 

यसअघि हमासको आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो । त्यसबेला हमासको कब्जामा परेका विपिन जोशी अहिलेसम्म पनि स्वदेश फर्किन पाएका छैनन् । त्यसबेला सरकारले जहाज नै पठाएर इजरायलबाट नेपालीहरूको उद्धार गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस