उपनिर्वाचनका लागि एमालेले बनायो ५०१ सदस्यीय समिति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपनिर्वाचनका लागि एमालेले बनायो ५०१ सदस्यीय समिति


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । आगामी वैशाख १५ गते हुन लागेको बझाङको उपनिर्वाचनको लागि एमाले प्रदेश अध्यक्षको अध्यक्षतामा ५०१ सदस्यीय उपनिर्वाचन सहयोग समिति गठन गरिएको छ ।

आज धनगढीमा पत्रकार सम्मेलन मार्फत एमाले प्रदेश उपसचिव भागरथी विष्टले चैत्र २४ गते धनगढीमा सम्पन्न भएको प्रदेश कमिटी बैठकले उपनिर्वाचनका लागि समिति गठन गर्ने निर्णय गरिएको जानकारी गराएकी हुन् ।

उनले उक्त समितिमा प्रदेश कमिटीको सदस्य तथा पदाधिकारीहरू, प्रदेश सल्लाहकार परिषद्का पदाधिकारी तथा सदस्यहरू, लेखा समितिका पदाधिकारी तथा सदस्यहरू, विभागका सदस्य, जनसङ्गठन र पेसागत सङ्गठनका प्रदेश पदाधिकारी तथा सदस्यहरू रहने जानकारी गराइन् ।

त्यस्तै प्रदेश कमिटी बैठकले आगामी वैशाख ७ गतेभित्र पार्टी सदस्यता नवीकरण गर्न समेत निर्देशन दिएको छ । बैठकले विभिन्न विभाग प्रमुखहरूको जिम्मेवारी पनि तोकेको छ ।

प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले स्कुल विभाग प्रमुखको जिम्मेवारी पाएका छन् भने स्थानीय विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष कालीबहादुर शाहीले पाएका छन् ।

सङ्गठन विभाग प्रमुखमा सचिव रणबहादुर चन्द, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा उपसचिव भागरथी विष्ट र उपप्रमुख मातृका तिमिल्सेना, वित्त तथा कोष व्यवस्थापन विभागको प्रमुख उपसचिव नरबहादुर विश्वकर्मालाई दिइएको छ ।

बैठकले २३ वटा विभाग प्रमुख, २२ जनसङ्गठन इन्चार्ज, ३२ प्रदेश सभा निर्वाचन क्षेत्र र ८८ वटा स्थानीय तहको इन्चार्जको जिम्मेवारी पनि तोकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रदेश समितिमा विभिन्न पार्टीबाट आएका १० जना र पार्टी भित्रका १३ जना गरी २३ जनालाई मनोनीत गरेको प्रस्ताव केन्द्रमा अनुमोदनका लागि पठाइएको जानकारी प्रचार तथा प्रकाशन विभाग प्रमुख विष्टले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस