ठमेल र दरबारमार्ग २४सै घण्टा खुल्ला : आमाको निन्द्रा जोगाउने र छोराको सपना पुरा गर्ने योजनामा सबैको त्याग जरुरी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

ठमेल र दरबारमार्ग २४सै घण्टा खुल्ला : आमाको निन्द्रा जोगाउने र छोराको सपना पुरा गर्ने योजनामा सबैको त्याग जरुरी


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । ‘यो मेरो अष्ट्रेलिया पढेको डिग्री । यो अष्ट्रेलियाबाट आएको जब अफर लेटर’, कागजात देखाउँदै ठमेलमा व्यवसाय गर्दै आएका युवाले सोधे, ‘पढेर मैले के गर्ने दाइ ? डिग्री भित्तामा मात्रै झुन्ड्याउने हो ? अष्ट्रेलियाबाट गरेको इन्जिनियरिङको डिग्रीले नेपालमा अहिले केही काम गर्दैन’ गृह मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सुनाए । ‘मेरो छोरालाई यहीँ रोकी देऊ न भनेर रुँदै हिँडेका कारण बाबाका आशुले विदेश जान दिएन,’ उनले थपे, ‘अष्ट्रेलियाको जब अफर छोडेर नेपालमा बसेको छु । नेपालमै केही काम गरौँ भन्ने छ । रातदिन मेहनत गर्छु भन्दा पनि पाउँदिन । मेरो सटर बन्द, मेरो सटर माथिको क्लब खुल्ला, त्यहाँ यौन धन्दा गर्न पाउने, मैले चिया बेच्न नपाउने ?’ उनले भने, ‘काठमाडौँको मुख्य केन्द्रलाई कमर्सियल बनाउने कि ? रेसिडेन्सियल बनाउने यसमा स्पष्ट हुनुपर्ने छ ।’

नयाँ वर्ष वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सैं घण्टा खुल्ला राख्ने विषयमा गृह मन्त्रालयले गरेको पूर्णकालीन व्यवसाय सञ्चालन सम्बन्धी सरोकारवालाहरूसँग समन्वय तथा अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा सहभागी सरोकारवालहरूले ठमेल र दरबारमार्ग क्षेत्र २४सैँ घण्टा खुल्ला गर्नु सकारात्मक पक्ष भएको बताए । तर, ठमेल क्षेत्रका सहभागीहरूको चासो स्थानीयको निन्द्रा तथा बालबच्चाको पढाइमा असर नपर्ने गरी व्यवस्थापन गरिनु पर्नेमा थियो । कार्यक्रममा उठेका विषयलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीयवासी र व्यवसायीका समस्या समाधान गरेर स्थानीय घरधनीको अधिकार सुरक्षित हुने गरी ठमेल तथा दरबारमार्ग क्षेत्र २४सैँ घण्टा सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

गृहमन्त्री लामिछानेले आमाको निन्द्रा जोगाउने र छोराको सपना पनि पुरा गर्ने योजना सरकारको रहेको बताए । ठमेल पूर्ण रूपमा व्यावसायिक क्षेत्र नभएकाले त्यहाँ स्थायी रूपमा बसोबास गर्नेको हक, अधिकारलाई मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने गृहमन्त्री लामिछानेको विश्वास छ । ‘एउटा शहर २४ घण्टा खुल्छ भने २४ घण्टा खुल्ने शहरको मापदण्ड हुन्छ । व्यवसाय गर्ने मापदण्ड हुन्छ । सुरक्षा दिने मापदण्ड हुन्छ । लाइसेन्स दिने मापदण्ड हुन्छ । तत्तत् व्यवसायले पालना गर्ने नीति नियम हुन्छन् । ती नीति नियमलाई पालना गर्ने तौर तरिका हुन्छन् । फरक फरक एजेन्सीहरू हुन्छन् । नियम नमान्नेलाई तोकिएको सजाय हुन्छ ।’ उनले भने, ‘ठमेल पुरै व्यवसायीक क्षेत्र नभएकाले स्थानीयका अधिकारलाई ध्यान दिँदै थप व्यवस्थित हुन्छ ।’ 

ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सैं घण्टा खुला राख्नका लागि सबैले केही न केही त्याग गर्नुपर्ने अवस्था भएकाले सबैले केही न केही त्याग गर्न गृहमन्त्री लामिछानेले अनुरोध गरे । सुरक्षाको विषयमा कुनै कम कमजोरी हुन नदिने उनको भनाइ छ । रात्रिकालीन व्यवसाय भएकाले मदिरा सेवनको विषय धेरै उठेकोले यस विषयलाई गम्भीर रूपमा लिएको र परिचयपत्र नभएकालाई मदिरा सेवनमा प्रतिबन्ध लाइने, मदिरा पिएर ड्राइभिङ गर्न प्रतिबन्ध लगाइने उनको भनाइ छ । 

गृह सचिव एकनारायण अर्यालले आफू काठमाडौँको जिल्लाका प्रमुख जिल्ला अधिकारी हुँदा २०७२ सालमा ठमेल र दरबारमार्ग २४सैँ घण्टा खुला गर्ने तयारी भएको, तर भूकम्पका कारण रोकिएको जानकारी गराए । ‘१५ गते खुला गर्ने योजना बनाएका थियौँ । १२ गते भूकम्प आयो र त्यो काम रोकियो । अहिले ८ वर्षपछि फेरि खुला गर्ने तयारी गरिरहेका छौँ,’ उनले भने । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले २४सैँ घण्टा खुला राख्ने विषयमा मापदण्डको मस्यौदा तयार गरेको र पर्यटकहरूलाई राजधानी सुरक्षित छ भन्ने सन्देश दिन पनि निश्चित स्थानहरू खोल्न जरुरी रहेको बताए । घरधनीका समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने विषय मापदण्डमा समेटिएको भन्दै सबै पक्षका आवाजहरू सुनुवाइ गरेर साझा प्रयासबाट नै यसलाई अगाडी बढाइने उनले जनाए । हिँडेरै स्थानीय उत्पादनको उपभोग गर्ने वातावरण बनाउनुपर्ने भन्दै गृह सचिव अर्यालले व्यवसाय अनुसारको मापदण्ड हुने पनि बताए ।

विकसित अन्य मुलुकका असल अभ्यासहरूको अनुसरण गर्दै नेपालका लागि नवीन अभ्याससमेत भएकोले मृत प्रायः राजधानी शहरलाई चौबिसै घण्टा जीवन्तता प्रदान गर्न पनि पूर्ण समय व्यवसाय सञ्चालन आवश्यक रहेको प्रशासनको भनाई छ । यसले आर्थिक क्रियाकलापलाई वृद्धि गर्दै अर्थतन्त्रलाई चलायमान बनाउने तथा रात्रिकालीन अर्थतन्त्रकोसमेत प्रवर्द्धन गर्ने विश्वास लिइएको छ । परिस्कृत पर्यटन अनुभव, नयाँ व्यावसायिक एवं रोजगारीका अवसरहरूको सिर्जना गर्नेसमेत जनाइएको छ । 

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले २४सैँ घण्टा व्यवसाय सञ्चालनको वातावरण मिलाउने र शान्ति सुरक्षाको प्रत्याभूति गराउने उद्देश्य रहेको बताए । गृहमन्त्रीले पदभार ग्रहण गरेसँगै ठमेल र दरबारमार्गमा २४सैँ घण्टा व्यापार सञ्चालनको व्यवस्था मिलाउन निर्देशन भए अनुसार काम भइरहेको भन्दै व्यवसाय सञ्चालनका लागि केही मापदण्ड र आचारसंहिता आवश्यक रहेको र सोही अनुसार प्रशासनले मापदण्ड बनाएको उनको भनाई छ । ‘देखिएका चुनौतीलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि रणनीति बनाएको छ । सुरक्षासँगै आवश्यक पूर्वाधार र अन्य विषय व्यवस्थापनमा विशेष ध्यान दिन जरुरी छ,’ उनले भने ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले अनुगमन तथा समन्वय समितिमा स्थानीय सरकारका जनप्रतिनिधिहरूको पनि सहभागिता हुनुपर्ने बताइन् । समितिमा जनप्रतिनिधि सहभागी भएमा स्थानीयसँग समन्वय गर्न अझ सहज हुने उनको सुझाव छ । ‘स्थानीयले पूर्णकालीन व्यवसाय सञ्चालनका विषयमा अपनत्व मात्र गरेर हुँदैन, उनीहरूले यो विषयलाई सकारात्मक रूपमा पनि लिन जरुरी छ,’ उनको भनाइ छ ।

महानगरपालिकाको वडा नं. २६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल क्षेत्र मिश्रित बस्ती अलि फरक ढंगको रहेको जानकारी गराए । उनले एउटा घरमा डिस्को, अर्को घरमा दोहोरी, अर्को घरमा डान्स बार सञ्चालन भएकोले ध्वनी प्रदूषण नियन्त्रणमा विशेष ध्यान दिन जरुरी रहेको बताए ।

यसैगरी यातायात व्यवसायीले आवश्यकता अनुसार समन्वय गरेर अघि बढ्नुपर्ने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पर्यटन प्रवर्द्धनका लागि सार्वजनिक यातायात व्यवसायीले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सहभागीहरूले संघीय राजधानीसमेत रहेको शहर राति मृत जस्तै सुनसान रहँदा राष्ट्रिय मात्रै नभई अन्तर्राष्टिय स्तरमा समेत राम्रो सन्देश नजाने भएकाले २४सैं घण्टा खुला गर्न आवश्यक रहेको बताए । जसले विदेशबाट राति आउनेहरूलाई पनि खान बस्न सहज हुने उनीहरूको भनाइ छ । 

व्यापार व्यवसाय राम्रो होस् भन्ने सोचसँगै काम गर्नेहरूका बारेमा पनि सम्बोधन गर्नुपर्ने सुझाव दिए । २४सैँ घण्टा सञ्चालन गर्दा त्यहाँ हुने ध्वनी प्रदूषण, फोहोर मैला व्यवस्थापन, अश्लील गतिविधि नियन्त्रणलगायतका विषयमा उचित ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । साथै रात्रिकालीन व्यवसाय भनेको हामीले सोच्ने गरेको क्लब, डिस्को, डान्स, दोहोरी, राउन्जबार मात्र नभई चिया पसलदेखि खाद्यान्नसम्म पनि पर्ने भएकोले यसका सकारात्मक पक्षहरूबारे पनि सोच्नुपर्ने सहभागीहरूले बताएका थिए । 

यसैगरी ठमेल र दरबारमार्ग क्षेत्रका पर्यटन व्यवसायी, होटेल व्यवसायीहरूले ठमेल र दरबार मार्ग क्षेत्रलाई सुन्दर बनाउन खोजेको बताए । उनीहरूले अहिले भएका राम्रा कार्यलाई प्रवर्द्धन गर्दै पारिवारिक वातावरणमा व्यवसाय सञ्चालन गर्ने गरी व्यवस्थापन हुनुपर्ने बताए । यसले आर्थिक गतिविधिहरूलाई पनि थप चलायमान बनाउने उनीहरूको भनाइ छ । तर, ध्वनी प्रदूषण र शान्ति सुरक्षा त्यहाँ विगतमा पनि देखिएका चुनौतीका विषय भएकाले यसलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने व्यवसायीको सुझाव छ । 

कार्यक्रममा सरोकारवाला निकायलगायत सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको छलफल कार्यक्रममा ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सैँ घण्टा खुला गर्ने विषयमा मापदण्ड र आचारसंहिता पनि तयार गर्ने काम भइरहेको र सबै क्षेत्रको सुझावहरू समेटेर यसलाई अन्तिम रूप दिने प्रशासनले जानकारी गराएको थियो । काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पूर्ण समय व्यवसाय सञ्चालन सम्बन्धी आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड, २०८० को मस्यौदा गृह मन्त्रालयमा भएको अन्तरक्रियामा प्रस्तुत गरेका थिए ।

मस्यौदामा व्यवसायदेखि उपभोक्ता हकहित संरक्षणको प्रत्याभूतिसम्मको ग्यारेन्टी गरिएको छ । अहिले पालना गरिँदै आएका नियमकानूनहरुलाई थप परिस्कृत र सहज बनाउँदै सबै पक्षहरूका सेवा तथा सुविधाहरुलाईसमेत मध्यनजर गरी अघि बढ्ने विषयहरू मस्यौदामा समेटिएका छन् । उपभोक्ता घरसम्म पुर्‍याइदिन अनुरोध गरेमा सेवाग्राहीलाई सशुल्क सवारी साधनको व्यवस्था गर्नुपर्ने देखि ध्वनि प्रदूषणरहित तरिकाले डान्स, डिस्को, दोहोरी, क्लबहरू सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

डान्स बारहरूमा अश्लील नृत्य प्रदर्शन गर्न नहुने, मौलिकता झल्कने प्रदर्शन हुनुपर्ने विषय पनि उल्लेख छ । १८ वर्षभन्दा मुनिकालाई क्लबहरूमा पस्न निषेधका साथै मजदुरको रूपमा समेत काम लगाउन नपाइने उल्लेख छ । श्रमिकलाई नियुक्ति पत्र, पोसाक, परिचयपत्र, रात्रिकालीन भोजन, र रात्रिकालीन समयमा निवास स्थलसम्म पुग्ने यातायातको व्यवस्था गर्नुपर्ने पनि मस्यौदामा उल्लेख छ ।

उपभोक्ताको आत्मसम्मानमा ठेस नपु¥याउने, स्थानीय प्रशासनको स्वीकृति बिना फुटपाथ तथा सडक अवरुद्ध हुने व्यवसाय गर्न नपाइने, सुरक्षित कोठामा स्तनपानको व्यवस्था तथा पोसाक परिवर्तन गर्ने छुट्टै कक्षको प्रबन्ध गर्नुपर्ने मस्यौदामा प्रस्ताव गरिएको छ । सार्वजनिक शान्ति भङ्ग हुने किसिमको कुनै पनि गतिविधि गर्न नपाइने, होहल्ला, उत्श्रृंखल, अवाञ्छित र अमर्यादित क्रियाकलाप गर्न नपाइने, नगर बसहरूले आवश्यकता अनुसार रात्रिकालीन समयमा समेत यातायातका साधन सञ्चालन गर्नुपर्ने, मिटर ट्याक्सीले रात्रिकालीन समयमा तोकिएको भाडादरमा सहज रूपमा सेवा उपलब्ध गराउनुपर्ने लगायतका विषय उल्लेख छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सबै पक्षहरू समेटेर अनुगमन तथा समन्वय समितिको परिकल्पना गरेको प्रशासनले पूर्ण समय सञ्चालित बजार क्षेत्रको व्यवस्थापनका लागि सरोकारवाला निकायहरूसँगको आवश्यक सहयोग, समन्वय र सहकार्यलाई विशेष जोड दिएको छ । यसको व्यवस्थापकीय पक्षलाई ध्यानमा राख्दै यातायात, शान्ति सुरक्षा, वस्तुको मूल्य तथा गुणस्तर, स्थानीयको स्वतन्त्रता एवं हक अधिकारलगायत विषयहरूलाई पनि त्यतिकै महत्त्व दिइएको छ । 

यससँगै गुनासो व्यवस्थापनदेखि उजुरी एवं कारवाहीका पक्षलाई पनि सँगसँगै अघि सारिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस