व्यवस्थापनका आधुनिक अवधारणा र तिनको बैंकिङ क्षेत्रमा प्रयोग : एक विश्लेषण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

व्यवस्थापनका आधुनिक अवधारणा र तिनको बैंकिङ क्षेत्रमा प्रयोग : एक विश्लेषण


२५ चैत्र २०८०, आइतबार


विषय प्रवेश,
परिवर्तनशील वातावरणमा श्रोत र साधनको समूच्चतम् परिचालन गर्दै परिलक्षित उद्देश्यहरू पूरा गर्न मानवीय प्रयत्नद्वारा सम्पादन गरिने योजना, सङ्गठन, निर्देशन, मानव स्रोत व्यवस्थापन, समन्वय, प्रतिवेदन गर्ने, बजेटिङ, र नियन्त्रण जस्ता कार्यको समग्र स्वरूप व्यवस्थापन हो । व्यवस्थापनले कुनै तथ्य र तर्कसङ्गत तरिकाले कार्य सम्पादनमा अग्र र पृष्ठ भूमिका निभाउने भएकाले यसलाई विज्ञान को रूपमा बुझ्न सकिन्छ भने व्यवस्थापनका हरेक कार्यहरू सिर्जनात्मकता र कलात्मक तरिकाले कार्य सम्पादन गरिने भएकाले यसलाई कलाको रूपमा समेत लिन सकिन्छ । सङ्गठनको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्य सम्पादनकालागि उपलब्ध भएका मानव स्रोत, भौतिक स्रोत, सूचनागत स्रोत र आर्थिक स्रोतको प्रभावकारी एवं मितव्ययी परिचालन गर्दै प्रतिस्पर्धात्मक र तुलनात्मक लाभकालागि गरिने समग्र क्रियाकलापहरूलाई नै व्यवस्थापनका रूपमा लिइन्छ । उत्पादनका साधनबाट सङ्गठनले उपभोग गर्न सक्ने लाभलाई उत्कर्षमा लैजाँदै भूमि, पुजी, श्रम र सङ्गठन समेतको समन्वयात्मक भूमिका निर्वाह गर्ने कार्य नै व्यवस्थापनको स्वरूप हो भन्न सकिन्छ ।

व्यवस्थापनका नवीनतम अवधारणाहरू र बैंकिङ क्षेत्र:
व्यवस्थापन निरन्तर र गतिशील अवधारणा हुनुको साथै सर्वव्यापी कार्य एवं प्रक्रिया समेत हो । समय सन्दर्भ सँगै व्यवस्थापनका विविध विधा र विषयहरूमा खोज अनुसन्धान र परीक्षण समेत हूनै आएको पाइन्छ । वर्तमान समयमा व्यवस्थापनका सन्दर्भमा रहेका उदयमान एवं नवीनतम अवधारणाहरूलाई देहायबमोजिम प्रस्तुत गर्न सकिन्छ ।

१. नयाँ सार्वजनिक व्यवस्थापन: 
सार्वजनिक क्षेत्रले प्रवाह गर्नुपर्ने सेवाहरू भूगोल, संस्कृति, एवं स्थानीय परम्परा बमोजिम हुनुपर्ने भन्ने अवधारणा नै नयाँ सार्वजनिक व्यवस्थापन हो । भने यस अवधारणाले पारदर्शी, अनुशासित, मर्यादित, सुशासित सार्वजनिक क्षेत्र हुनुपर्ने कुरालाई समेत जोड दिने गर्दछ । सेवाग्राहीलाई आफ्नै ग्राहक सरह मानी सभ्य शिष्ट र मैत्रीपूर्ण व्यवहार प्रदसित गर्नुपर्दछ । सेवा प्रवाहमा आधुनिक स्रोत साधनको प्रयोग गर्दै डिजिटल र अत्याधुनिक तवरले सेवा प्रवाह गर्नुपर्दछ भन्ने मान्यता यस अवधारणाले बोकेको पाइन्छ ।

नेपालको निजामती क्षेत्रमा वा सरकारी क्षेत्रमा लोकप्रिय यस अवधारणाले वर्तमान समयमा व्यवसायीक  संस्था र प्रतिष्ठानमा समेत प्रवेश पाएको छ । बैंक तथा वित्तीय संस्थाको अवस्था हेर्दा डिमन ड्राइभ प्रोडक्टको निर्माण, सबै क्षेत्र, वर्ग, लिंग र आयस्रोत भएका व्यक्तिहरूलाई समेटेर कर्जा र निक्षेप सेवाको विविधीकरण, पारदर्शी र सुशासित बैंकिङ क्षेत्र, ग्राहक सम्बन्ध व्यवस्थापनका विषयमा जोड दिँदै सेवाग्राही मैत्री व्यवहार, शिष्ट र मुस्कान सहितको सेवा जस्ता विषयलाई जोड दिई यस्तो अवधारणालाई अवलम्बन गरेका पाइन्छ ।

२. ज्ञान व्यवस्थापन:
ज्ञान व्यवस्थापन सङ्गठनमा रहेका व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने, निरन्तर सिकाइ को वातावरण तयार गर्ने, वैज्ञानिक र व्यवस्थित ढङ्गले ज्ञानको सञ्चय गर्ने, सञ्चित ज्ञानलाई आवश्यकता परेको स्थान र समयमा सञ्चार गर्ने र ज्ञानको प्रयोग सङ्गठनात्मक सक्षमता अभिवृद्धि गर्ने माध्यम बनाउने जस्ता कुराहरू ज्ञान व्यवस्थापनमा पर्दछन् ।

बैंक तथा वित्तीय संस्थामा ज्ञानव् यवस्थापनको प्रभावकारी प्रयोग भइरहेको पाइन्छ । कुनै कार्य प्रक्रियालाई सहज तरिकाले सम्पादन गराउनका निमित्त कार्य सम्पादन प्रक्रिया र प्रविधि समेटिएको कार्यविधि निर्माण, संस्थाका व्यक्ति, प्रक्रिया, प्रविधि र संस्कृति बमोजिमका कुरालाई समेटेर विभिन्न तालिम तथा विकासका अवसरहरू सृजना र इन्ट्रानेटमा विविध कार्य सम्पादनसँग आवश्यक कुराहरूलाई समेटेर सहज तरिकाले हेर्ने र प्रयोग गर्न सक्ने बनाएको देखिन्छ । तसर्थ बैंक तथा वित्तीय संस्थामा समेत ज्ञान व्यवस्थापनको प्रभावकारी प्रयोग भएको पाइन्छ ।

३. अभाव व्यवस्थापन:
सीमित स्रोत र साधनको कसरी प्रभावकारी तरिकाले प्रयोग गर्न सकिन्छ अर्थात् स्रोत साधनको प्राथमिकीकरण यसरी गर्ने जसले  मितव्ययी र उत्पादनमुखी प्रयोग हून सकोस् भन्ने अवधारणा नै अभाव व्यवस्थापन हो ।  कम स्रोत र साधनको समयमा पनि अधिक र गुणस्तरीय सेवा प्रवाह गर्नू वा अभावमा पनि गुणस्तरीय सेवा प्रवाह गर्नुपर्दछ भन्ने अवधारणा अभाव व्यवस्थापनको रहेका हुन्छ ।

नेपालको बैंकिङ क्षेत्रमा  अत्याधुनिक प्राविधिक स्रोत साधनको अभाव, भौगोलिक कठिनाइका कारण सूचनागत स्रोत धानको प्रयोगको अप्रभावकारीता, भौतिक स्रोत साधनको अभाव जस्ता विविध अभावका बावजूत बैंक तथा वित्तीय संस्थाको आगत दिनानू दिन बढ्दै गएको भने गुणस्तरीय बैंकिङ बस्तु तथा सेवा समेत दिन सफल भएका छन । यद्यपि सबै वित्तीय संस्थाले धेरैजसो ठाउँमा भने अभावको अवस्थामा गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको भन्ने जनगुनासो भने आइरहेको छ ।

४. क्याफ्टेरिया व्यवस्थापन:
कर्मचारीको आवश्यकतालाई मध्यनजर गर्दै के कस्ता उपकरणहरूको प्रयोगले कर्मचारी कार्य सम्पादन गर्न उत्प्रेरित हुन्छ सोही उपकरणको प्रयोग गर्नुपर्दछ भन्ने अवधारणा नै क्याफ्टेरिया व्यवस्थापन हो । अर्थात् उत्प्रेरणाका निमित्त स्वाद अनुसारको अचार चटाए मात्र कर्मचारी कार्य सम्पादन गर्न लगनशिल हून्छन भन्ने मान्यता यस अवधारणाले बोकेको छ । 

बैंक तथा वित्तीय संस्थामा कर्मचारीको तह बमोजिमको तलब, कार्यसम्पादन क्षमता अनुसार अलग अलग फाटमा कार्य सम्पादन गर्न लाउने, घर पायक सरुवा आवश्यकताको समयलाई मध्यनजर गर्दै विभिन्न कर्जा तथा सेवाको व्यवस्था लगायतका सुविधाहरू दिएको पाइन्छ ।

५. सङ्गठनमा कर्मचारीलाई नागरिक व्यवहार:
व्यवस्थापनको यस अवधारणाले कर्मचारीलाई उत्प्रेरित गराउनका निमित्त नागरिक व्यवहारको आवश्यकता पर्ने कुरामा जोड दिन्छ । अर्थात् उत्प्रेरित कर्मचारीले मात्र कार्य सम्पादन प्रभावकारीढंगले गर्न सक्ने भएकाले उनीहरूमा सङ्गठन प्रतिको अपनत्वको सृजना गराउन निश्चित प्रतिशत स्वामित्व दिने, नाफा बाँडफाँड गर्ने, कर्मचारीलाई हरेक कुरामा सहभागिताको सुनिश्चितता गराउने लगायतका कार्यहरू गनिपर्ने कुरामा जोड दिन्छ । 

बैंक तथा वित्तीय संस्थामा यस अवधारणाकोलागि पनि विविध प्रयासहरू भएकाले छन । कर्मचारीलाई ०.५ प्रतिशत शेयर स्वामीत्व प्रदान गर्ने, नाफाको आधारमा बोनस दिने, विभिन्न समस्यामा विभिन्न खाले बिदाहरू दिने, कर्मचारीको सुख दूखमा समेलहूने जस्ता व्यावहारिक एवं नीतिगत कार्यहरूसमेत गरेको पाइन्छ ।

६. समग्र गुणस्तर व्यवस्थापन:
संगठनले प्रदान गर्ने सेवाले ग्राहक सन्तुष्टिको चरम उत्कर्ष वा सन्तुष्टिको डिग्रीको अवस्थालाई गुणस्तर भनिन्छ भने ग्राहकले उपभोग गर्ने बस्तु तथा सेवा सबै तह सबै शाखा र सबै क्रियाकलापमा ग्राहकलाई केन्द्र बिन्दुमा राखी निरन्तर सुधार, टार्टेट रहित कार्य, डिफेक्ट लेस प्रोडक्ट, जिरो होल्डिङ वर्क लोड, कज एण्ड इफेक्ट एनालाइसिस, बेन्च मार्किङ, पेरिटो एनालाइसिस, क्वालिटी स्टायण्डडहरूलाई अपनाउँदै गुणात्मक उत्पादन प्रणाली जोड्दिने गरी गरिने व्यवस्थापनलाई समग्र गुणस्तर व्यवस्थापन भनिन्छ ।

बैंक तथा वित्तीय संस्थामा समग्र गुणस्तर व्यवस्थापनको प्रयोग विभिन्न आयामहरूको प्रयोग मार्फत गरिरहेको हून्छन । मानव संसाधन आयाम अन्तरगत प्रतिबद्ध नेतृत्व, सहभागिता मूलक व्यवस्थापनशीलै, कर्मचारीको व्यवहार, तालीम तथा विकास र आउट सोर्सीङ, वस्तुगत आयाम अन्तरगत  कम लागतमा बैंकिङ सेवा दिन प्रयास गर्नू, डिफेक्ट लेस प्रोडक्ट, गुनासो रहित सेवा, बस्तु तथा सेवाको सम्बन्धमा गुनासो पेटीका, गुनासो अधिकारी, ग्राहकको माग एवम् चाहाना बमोजिम बस्तु तथा सेवा निर्माण, प्रक्रियागत आयाम अन्तरगत आन्तरिक नियन्त्रण प्रणाली, कस फंसनल प्रोडक्ट डिजाइनिङ, चेकर मेकर प्राक्टिस, सिष्टम बेस वर्किङजस्ता कुराहरू पर्दछन् । यसरी बैंक तथा वित्तीय संस्थामा यस अवधारणाको प्रयोग गरिरहेको पाइन्छ ।

७. परिस्थिति व्यवस्थापन:
व्यवस्थापनका कार्य, प्रक्रिया र सिद्धान्तहरूलाई प्रयाप्त विश्लेषण गरी परिस्थितिलाई पूर्णरुपमा ध्यान दिई अवस्था अनुसारको व्यवस्थापन पर्ने भन्ने कूरा नै परिस्थिति व्यवस्थापन हो । व्यवस्थापनका सिद्धान्तहरूको संश्लेषण, विश्लेषण र वातावरणीय परिस्थितिलाई मध्यनजर गरेर मात्र वातावरण सँग तालमेल हूने गरी अवलम्बन गर्न सकेमा मात्र प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुराको समग्रता नै परिस्थिति व्यवस्थापन हो ।

बैंक तथा वित्तीय संस्थामा लगानी रणनीति, निक्षेप रणनीति, ग्राहक केन्द्रित रणनीति, बस्तु तथा सेवा निर्माण रणनीतिहरू वातावरणीय तत्त्वहरूको पूर्ण विश्लेषण गरेर मात्र गरिन्छ । बजारमा कर्जाको माग, स्थानीय स्तरमा माग हूने कर्जा सेवा, निक्षेपकर्ता को वर्तमान परिदृश्य, ब्याजदरमा प्रतिस्प्रधिको रणनीति, सरकारका नीति तथा कार्यक्रम आदिलाई मध्य नजर गरेर मात्र बैंकिङ बस्तु तथा सेवा सम्बन्धमा निर्णय लिने कार्य गरिन्छ ।

८. रचनात्मक अनुशासन:
सङ्गठनका अनुशासनका क्रियाकलापहरू सम्पादन गराउँदा उत्पादन सँग तादाम्यता कायम हूने गरि गनूपर्ने, अर्थात् अनुशासनको पालनाले उत्पादन प्रक्रियामा जोड दिने, अनुशासन सम्बन्धी कारबाहीका कारण पनि उत्पादन बढनूका साथै , स्व–अनूशासनसबैभन्दा लाभदायक हूने कुरामा यस अवधारणाले जोड दिएको छ । अनुशासनले पारदर्शिता र जबाफदेहितामा अभिवृद्धि गर्ने जसले सङ्गठनात्मक कार्यदक्षता प्रभावकारी रहने गर्दछ ।

नेपालको बैंकिङ क्षेत्रमा यस प्रकारको अवधारणाको भने केहिमात्रमा प्रयोग देखिन्छ । स्वशासन, स्वनियन्त्रण, स्वउत्प्रेरणाका साथै बैंकिङ बस्तु तथा सेवा प्रभावमा रचनात्मक अनुशासनका लागि नेपाल राष्ट्र बैङ्कको एकीकृत निर्देशिका ६ मा कर्मचारी, कार्यकारी प्रमुख, सञ्चालक आदिको आचार संहितको व्यवस्था गरेको छ भने कर्मचारी सेवा विनीयमावलीमा समेत कार्य सम्पादन प्रक्रियासँग आबद्ध हूने खालको आचार संहिता र आचरणको व्यवस्था गरेको पाइन्छ ।

उपसंहार,
नेपालको बैंकिङ क्षेत्र अन्य क्षेत्रभन्दा व्यवस्थापनका नवीनतम अवधारणाको प्रयोग भएको क्षेत्रका अग्रणी क्षेत्रका रूपमा चिनिन्छ । व्यवस्थापन क्षेत्रका नवीनतम कर्मचारी, नयाँ व्यवस्थापनका सिद्धान्तहरूको प्रयोग र परीक्षण, सेवा प्रवाहमा प्रभावकारिता ल्याउन गरिने प्रयत्नको संयोजन,  अति संवेदनशीलता र सेवा प्रवाहमा परिवर्तनीय धारका कारण यस क्षेत्र व्यवस्थापनका क्षेत्रमा अग्रणी रहेको देखिन्छ । आउट र्सोसीङ, सिकाई सङ्गठन, तनाव व्यवस्थापन, अभाव व्यवस्थापन, सहभागिता मूलक व्यवस्थापन, सङ्गठन विहीन सङ्गठन, परिवर्तन व्यवस्थापन, सांस्कृतिक मूल्यको बलियो सेटको रूपमा रहेका सिद्धान्त जसले सामाजिक र व्यक्तिगत लक्ष्य प्रात्तिका लागि सामाजिकीकरणमा जोड्दिने, भेल्यु, भिजन र भ्वाईस को संयोजनको रुपमा लिइएको थ्रीभी लिडरसिप मोडेल समेतको प्रयोग गरेको पाइन्छ ।

यद्धपी नेपालको बैंकिङ व्यवस्थापन भने दूरदर्शी नरहेको, कर्मचारीलाई व्यवस्थापनले गर्ने व्यवहार कामदार सरहको रहेको, अल्पकालीन रणनीति र कार्य नीतिमा मात्र जोड दिने खालको रहेको र कर्मचारीलाई तार्गेटसहितको कार्य सम्पादन दिई मनोविज्ञानलाई नकारात्मक असर गर्ने गरेको भन्ने आरोप भने लाग्ने गरेका छन । विगत २ दशक अघि सरकारी क्षेत्रका बैंकको व्यवस्थापन विदेशीलाई हस्तान्तरण जस्ता कुराले नयाँ र क्षमतावान् व्यवस्थापकीय सक्षमता भएका व्यवस्थापकको आवश्यकता अझै खडकिरहेको महसुस भने हुने गरेको छ । व्यवस्थापनको नातावाद, कृपावाद र सरकारी क्षेत्रका वित्तीय संस्थाको युनियनवादले निष्पक्ष र क्षमतावान् व्यक्तिहरूको बैंकिङसेवा प्रति भने वितृष्णाको अवस्था कायम नै छ । यसमा क्रमागत सुधार र व्यवस्थापनको तटस्थताको आधारमा कार्य सम्पादनले नयाँ व्यवस्थापकको जन्म र बैंकिङ क्षेत्रको व्यवस्थापन अझै उदाहरणीय बन्न सक्ने कुरामा भने दुविधा रहँदैन ।

सन्दर्भ सामाग्री 
तिमिल्सेना,चन्द्र, खनाल,अजय बैङ्किङ दृष्टिकोण ः राष्ट्रिय वाणिज्य बैंक लि. तह ६ सहायक प्रबन्धक (तेस्रो संस्करण ) परीक्षा अभिरुचि: जे.बि. पब्लिकेशन, कीर्तिपुर काटमाण्डौ ।
तिमिल्सेना,चन्द्र, खनाल,अजय,( चौथो संस्करण) राष्ट्रिय वाणिज्य बैंक परीक्षा दर्पण तह ४ र ५ ः जे.बि. पब्लिकेशन, कीर्तिपुर काटमाण्डौ ।
राष्ट्रिय पत्रपत्रिकामा आउने बैंकिङ सम्बन्धी लेख रचनाहरू ।
डब्लुडब्लुडब्लु डट एनआरबी डट जीओभी डट एनपी
डब्लुडब्लुडब्लु डट आरबीबी डट कम डट एनपी
डब्लुडब्लुडब्लु च्याट ओपनाई डट कम
डब्लुडब्लुडब्लु प्रशासन डट कम

प्रतिक्रिया दिनुहोस