समुन्द्र यात्रा र ह्वेल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

समुन्द्र यात्रा र ह्वेल


२४ चैत्र २०८०, शनिबार


सामुन्द्रिक यात्राको अनुभव बटुल्नु थियो । हाम्रा लागि समुन्द्र नै नयाँ विषय बस्तु भएकोले सो बारेमा जानकारी लिने अर्को उद्देश्य पनि थियो । मैले प्रत्यक्ष रूपमा समुन्द्र देखेको थिइन, त्यसैले पनि समुन्द्र हेर्न जाने मन हुनु स्वाभाविकै हो । समुन्द्र हेर्न जाँदा विशेष महत्त्व राख्ने टापु हेर्ने मन पनि हो । समुन्द्रमा पाइने जीवहरू मध्ये ठुलो जीव ह्वेल माछा पनि हेर्ने उत्सुकता थियो । त्यसैले १८ अगस्त २०२३ मा फेडरिक्टनबाट ग्राण्डमानन तर्फ अगाडि बढेका थियौँ । 

हामीहरूका छिमेकी माइक्रो वाइलोजीमा मास्टर डिग्री गरेर क्यानडा पुग्नु भएका यादव पौडेल उहाँको मिसेज सृजना आचार्य पौडेल र नानी श्रेयसी सहित हाम्रो परिवार बेलुका ६.३० बजे घरबाट हिँडेका थियौ । १.३० घण्टा ड्राइभमा र त्यति नै समय पानी जहाजमा चढेपछि ग्राण्डमानन टापुमा पुगिँदो रहेछ । उक्त टापुमा सन १८७१ मा स्थापना भएको होटेल म्याराथन इनमा रातको १०.३० बजे पुगेका थियौँ । हामी अर्को दिन नै ह्वेल माछा हेर्न जाने कार्यक्रम थियो तर त्यस दिन बढी हावा हुरी आउने सूचना गरेकाले समुन्द्रमा कुनै पनि प्रकारको स्टिम बोट र फेरी चल्न सकेनन् । त्यसैले त्यस दिन हामी ग्राण्डमानन टापुको सेरोफेरो हेर्ने निर्णय गर्‍यौ । 

टापुको उत्तर दक्षिण भागहरूमा रहेका लाइट हाउसहरू पनि रहेछन् । खास गरी ती लाइटहाउसहरु समुन्द्रमा पानी जहाज चल्दा बाटो पहिलाउनको लागी महत्त्वपूर्ण भूमिका निर्वाह गर्दो रहेछ । ग्राण्माननको दक्षिणी लाइट हाउसबाट झण्डै १५ कि.मि.को दुरीमा अमेरिकाको भू–भागमा पनि पुग्न सकिँदो रहेछ तर हामीहरू त्यतातर्फ लागेनौँ । त्यहाँ चट्टानको माथि पट्टी रहेको टेलिकमको टावर र लाइटहरू समेत रहेछ । हामीहरू त्यस दिन बिहान लाइट हाउस तर्फबाट आन्द्रमहासागरको अवलोकन गर्दै हवाइटहेड टापुमा पुग्ने निर्णय गरयौँ । 

आधा घण्टाको पानी जहाजको यात्रा पछि हाइट हेड भन्ने टापुमा पुगियो । गाडीहरू पनि जहाजभित्र राख्न मिल्ने भएकोले हाम्रा गाडीहरू पनि जहाज भित्रै राखेका थियौँ । हाइट हेड टापुमा २०११ को जनगणनामा जम्मा १६२ जना बस्दा रहेछन् । त्यहाँ २ क्लास सम्म किन्नर गार्डेन र ३ देखी ६ सम्मको अर्को छुट्टै क्लासको व्यवस्था गरिएको रहेछ । त्यो भन्दा माथि ग्राण्डमानन फेरीबाट ल्याउने लैजाने गरिँदो रहेछ । क्यानडामा आधारभूत शिक्षा अनि स्वास्थ्य पनि निःशुल्क छ । त्यस टापुमा रहनेहरूको मुख्य पेसा कृषि र माछा मार्ने नै हो । लभ स्टोरी माछा प्रख्यात रहेछ । आन्ध्र महासागर भित्र व्यावसायिक रूपमा लभ स्टोरी, सालमन जस्ता माछा उत्पादन गर्दा रहेछन् । 

यो टापुको भू–भाग भनेको ६.१७ किमि मात्र छ । यति सानो टापु र यति थोरै जनसङ्ख्या भएको स्थानमा पनि राज्यले सम्पूर्ण सेवा सुविधा उपलब्ध गराएको रहेछ । हाइट हेड घुम्दा घुम्दै समुन्द्रको एक छेउमा बसेर होटलमा बनाएर खाना खायौँ । खाना खादा प्रयोग भएका सबै प्लास्टिकका थाल, चम्चा, पानीका बोतल गाडीमै राख्यौँ र गारभेजमा लिएर फाल्यौ । कुनै पनि फोहर सडक पेटी समुन्द्र जङ्गलमा जथाभाबी फाल्न हुँदैन भन्ने आधारभूत शिक्षा नै रहेछ । बेलुका पुनः म्याराथन इनमै फर्कियौ । 

ग्राण्डमाननको २०२१ को जनगणना अनुसार २५९५ र जमिनको भू–भाग जम्मा १५० किमि सम्म मात्र छ । यहाँ हस्पिटल पनि छ । दक्षिणी भागमा चट्टानको माथि अर्को लाइट हाउस पनि छ । अर्को स्यालोटेल लाइट हाउस पनि रहेछ । यसको नजिकै अन्य आइसल्याण्डहरु पनि रहेछ । हामीहरूको मिसन ह्वेल माछा हेर्न जाने कार्यक्रम थियो । त्यसैले त्यतातर्फ अगाडि बढ्यौँ । ग्राण्डमाननको उत्तरी लाइट हाउस नजिकैबाट हाम्रो यात्रा शुरु हुँदो रहेछ । जुन सेप्टेम्बर अक्टुवरमा बिहान १० बजेदेखि बेलुका ४ बजे सम्म र जुलाई र अगस्तमा बिहान ९ बजे देखी बेलुका ५ बजेसम्म मात्र खुल्दो रहेछ । फेरी चढेर सामुन्द्रिक यात्रा गरयौँ । 

प्रति किमि १२० को रफ्तारमा फेरी दौडी रहेको छ । जमिन कतै पनि देखिन छाडे । पानी भित्रको दौडाइमा एकदमै उफारेको पनि थियो । कच्चिबाटोमा गाडी उफ्रे जसरी उफ्री रहन्थ्यो । हामी सँगै गएका धेरै जनाले वान्ता नै गरे । मैले सुनेको थिएँ, सन्सारमा सबै भन्दा ठुलो प्राणी भनेकै ह्वेल रहेछ । ह्वेल धेरै प्रकारका हुँदा रहेछन् । एउटा ह्वेलको तौल ४० हजार देखी ७० हजार किलोसम्मका हुँदा रहेछन् । ह्वेल समुन्द्रको गहिरो ठाउँमा बस्दो रहेछ । यसरी समुन्द्रमा दौडिरहँदा ह्वेल, सामुन्द्रिक चरा, अन्य माछाहरू, सार्क सिलस आदि देख्न पाइँदो रहेछ । साथै डल्फिन पनि उफ्रेको हेर्न भ्याइयो । 

यी स्टिम बोट र फेरी व्यक्तिगत रूपमा कम्पनी खडा गरेर दर्ता रहेछन् । अनुभवी व्यक्तिहरूले नै सञ्चालन गर्दा रहेछन् । फेरीमा चढेको झण्डै १ घण्टा पछि फेरीको स्टाफले टोकरीमा १०० किलो भन्दा बढी माछाहरू लिएर बस्दो रहेछ । ती माछाहरू सामुन्द्रिक चराहरूलाई फाली दिँदो रहेछन् । ती माछाहरू चराहरूले एकै गासमा खुर्लुप्प निल्दा रहेछन् । त्यो पनि रमाइलो हुँदो रहेछ । एउटा माछाको तौल ३–४ सय ग्राम सम्मका हुँदा रहेछन् । ती चराहरू पहिला २–४ वटा देखिन्थे पछि त सयौँको संख्यामा फेरीको नजिक नजिक भएर आउँदा रहेछन् र करयाङ र कुरुङ गर्दै कराउँदा रहेछन् । 

ह्वेल कहाँ पाइन्छ भन्ने फेरीको पाइलट र इन्सटक्टरलाई थाहा हुँदो रहेछ । ह्वेलहरू समुन्द्रमा बुरुक्क उफ्रँदा ढाड पुच्छर देखिँदो रहेछ । ह्वेलले आफ्नो एक चौथाइ भाग पनि देखाउँदो रहेनछ । पानीमा उफ्रेको आवाज हामी चढेको फेरीसम्म आउँथ्यो । झण्डै ३–४ कि.मि टाढाबाट हेर्नु पर्दो रहेछ । टाढाबाट हेर्दा ह्वेल हेर्न जाने मान्छेहरूले वाइनाकुलर लिएर हेर्दा रहेछन् । कहिले कता पट्टी उफ्रन्छ कहिले कता । ह्वेल उफ्रेको देख्दा नै रमाइलो लाग्ने । सबैले उफ्रेको तिर हेर्न झुन्ड लाग्दो रहेछ । जब ह्वेल देखिन थाल्छ फेरीलाई पनि अलि ढिला गर्ने गर्दथे । फेरी जति दौडिन्छ शरीर अलि थकान जस्तो पनि हुँदो रहेछ । हावाको बेगले हानेर पनि होला । सबै बेला भने ह्वेल नदेखिने रहेछ । जुन कुराको जानकारी इन्सटक्टरले पहिले नै सो गराउँदो रहेछ । ह्वेल देखिन थाले भने झण्डै आधा घण्टा जति जता ह्वेल उफ्रन्छ त्यतै त्यतै तिर अलि नजिक पर्ने गरी लैजाँदो रहेछ । ह्वेल हेरेर फर्कँदै गर्दा डल्फिन उफ्रेको देख्दा पनि अर्कै मजा पाइँदो रहेछ । 

ह्वेल हेर्ने क्रममा अर्को जानकारी पनि हुन गयो । समुन्द्रको छेउ छाउमा असङ्ख्य मात्रामा टापुहरू पनि हुँदा रहेछन् । व्यापारिक प्रयोजनको लागी पनि त्यसलाई प्रयोग गर्दा रहेछन् भने कतिले छुट्टी मनाउनको लागी पनि सिङ्गो टापु खरिद गर्दा रहेछन् । यस्ता टापुहरूमा कतिपयले बनाएका घरहरू प्रयोग विहीन पनि भएको पाइयो । बाबुले बनाएको घर छोरो सर्कान पुग्दो रहेनछ ।  समर सिजनमा छुट्टी मनाउन हिँड्नेहरू पनि हुँदा रहेछन् । एकान्तमा बसेर मनलाई कुनै पनि तनाबाट मुक्त हुनको लागी पनि घरहरू निर्माण हुँदा रहेछन् ।

कतिपय क्याम्पनिङ गर्न जाने र त्यहाँ गएर रमाउने पनि हुँदा रहेछन् । त्यहाँ मोबाइल घरहरू पनि निर्माण गर्दा रहेछन् । क्याम्प जाने छुट्टी मनाउने त एक खालको परम्परा विकसित मुलुकहरूमा भएको पाइयो । एक ठाउँमा बनेको घरलाई गाडीले लतार्दै लगेको पनि देखियो भने मोबाइल घर निर्माण गरेर बिक्रीको लागी राखेको पनि देखियो । त्यस्ता घरहरूमा पनि सबै किसिमका सुविधा हुँदो रहेछ । ह्वेलमा दृष्टि पुर्‍याएर आएपछि बेलुका पुनः ग्राण्डमाननमा नै फर्केर होटेल इननमा बस्यौँ ।

२२ अगस्त २०२३ को दिन जुन क्रमले त्यहाँ गएका थियौँ, त्यही क्रमबाट फेडरिकटनतर्फ लाग्यौ । भ्रमणमा सँगै जानु भएका यादव जी, सृजना अनि नानी श्रेयसी सहितको टोली सकुल फर्कँदा बेलुका नौ बजी सकेको थियो । जे होस् जीवनमा समुन्द्र माथिको सयर ह्वेलको सम्झना अविस्मरणीय नै रह्यो ।  
क्रमशः

Tags :
प्रतिक्रिया दिनुहोस