जीवनका पाँच दृश्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जीवनका पाँच दृश्य


२४ चैत्र २०८०, शनिबार


१. असमझदारी
अर्को टेबलमा सन्देश र सान्त्वना बसिरहेका थिए । सान्त्वनाले कफी खाँदै थिइन् । सन्देश भने बियर खाइरहेको थियो ।
सन्देशले चुरोट सल्कायो । सान्त्वनाले भनिन्, ‘यो छाड्न सक्दैनौ ?’
सन्देशले टाढा भित्तातिर धुवाँ फाल्दै भन्यो, ‘सक्दिन’ ।
सान्त्वना – घरकाले केही भन्दैनन् ?
सन्देश – पहिले भन्थे, अब भन्दैनन् ।
सान्त्वना – आमा पनि केही भन्नुहुन्न ?
सन्देश – अचेल आमा केही भन्दिनन्, रुन्छिन् मात्र ।
सान्त्वना – अनि आमाको खुसीका लागि पनि चुरोट छाड्नु पर्ने नि तिमिले ।
सन्देश – मेरो खुसीका लागि उनले केही छाडे पो मैले पनि छाड्नु ।
सान्त्वना – आमाको विषयमा पनि यस्तो कुरा गर्ने हो ?
सन्देश – आमाको विचारमा अनुशासन भनेको उनले जे भन्यो त्यही खुरुखुरु मान्नु मात्र हो ।
म पनि त मानिस हुँ । मेरो छातीभित्र पनि त हृदय छ । मेरा पनि त केही इच्छाहरू छन् ।

२. दाना
विवशले लामो पेग निलेर सेकुवाको टुक्रो मुखमा हाल्यो । अचानक गम्भीर देखियो ऊ । खुइय सुस्केरा हाल्दै मन्द तर आक्रोशित स्वरमा बोल्यो , ‘कठिन छ स्वाधीन यो जिन्दगी ।’
मानिसहरू उसलाई पार्टीको पहुँचवाला नेता मान्छन् । कतिले त ठुलो नेताको किचेन क्याबिनेटको सदस्य भनेर हल्ला गर्छन् । गाउँतिर उसले थुप्रै पैसा कमाएर मारवाडीकहाँ लुकाएको छ भनेर चर्चा हुन्छ ।
विवशले चुरोट मगायो । ‘यो मुला छाड्छु भन्यो, तलतल लागिहाल्छ ।’ ऊ गम्भीर देखियो ।
स्वाधीन – तिमी किन विद्रोह गर्दैनौ ? किन सबै पोल खोलेर अन्तरात्माको आवाजलाई न्याय गर्दैनौ ?
विवश झन् गम्भीर भयो । भन्यो, ‘म कलिकालको व्यङ्ग्य हुँ स्वाधीन । मसँग सम्पत्तिको नाममा केही पनि छैन । किन्तु मेरै मित्रहरू पत्याउन तयार छैनन् । गुहु र गोबर बराबरी भएको जमात हो मेरो पार्टी ।’
स्वाधीन – विद्रोह गर साथी विद्रोह । समाजमा तिम्रो नाम उज्ज्वल हुनेछ ।
विवश – म विद्रोह गर्न सक्दिन ।
स्वाधीन – यो हीनता किन ? किन आफूभित्रको चेतनालाई दबाएर सास गनेर जिउँछौ ?
विवश- मेरो नेताले पैसाको धन्सार खडा गरेको छ । त्यही धनसारबाट चुहेर झरेका दुई चार गेडाले मेरो आत्मा दूषित पारेको छ । ममा विद्रोह गर्ने नैतिक साहस छैन ।
स्वाधीन – मैले कुरा बुझिन ।
विवश – मैले झरेका दानाहरूमध्ये केही छोराछोरीलाई खुवाएको छु । केही वृद्ध आमाको औषधोपचारमा खर्च गरेको छु ।

भोलिपल्ट विवश आफ्नो पार्टीको आम सभामा भाषण गरिरहेको थियो । ‘हाम्रो उद्देश्य देशमा सुशासन कायम गर्नु हो । यो देशका सारा दुराचारीहरू सधैँ यसरी खुला आकाशमुनि निडर भएर घुम्न पाउने छैनन् ।’

धनसारेले ताली बजायो । फेरि सबैले ताली बजाए । जिन्दावादको नारा लाग्यो ।

३. भगवान्
माघे सङ्क्रान्तिको मेला चलिरहेको थियो । रिडी बजारमा एक जना वृद्ध दाम्ला, नाम्ला र नेती बेचिरहेका थिए । भगवानका भक्त जस्ता देखिने मानिसले वृद्धलाई सोधे, ‘बाजेको उमेर कति भयो ?’
वृद्ध – असी पुगेर एकासी ।
भक्त – यस्तो बुढो मान्छे के दाम्ला बेचेर बसेको ? भगवान् हृषीकेशको दर्शन गर्नु पर्दैन ?
वृद्ध – श्रीमती मरेर गई । छोरो मर्‍यो । बुहारी सानो नाति छाडेर पोइल गई । ल भन्नुहोस् त, म हृषीकेशको दर्शन गर्न जाऊँ कि नातिका लागि चारोको व्यवस्था गरौँ ?
यत्तिकैमा छ – सात वर्षको नाति दगुर्दै आएर वृद्धको काखमा बस्यो ।
वृद्ध ( भक्ततिर हेरेर राता गिजा देखाएर हाँस्दै ) – मेरो भगवान् प्रेम र परिश्रममा बस्छ ।

४.शिक्षा
आठ कक्षाका कक्षा शिक्षक बलबाहु बडो कडा स्वभावका थिए । उनको ज्यान मात्र होइन , बुद्धि पनि निकै मोटो थियो । कुनै विद्यार्थीलाई थर्काउनु पर्‍यो भने प्रधान अध्यापकले उनैलाई खटाउँथे । अभिभावकहरू पनि कडा मास्टर भनेर खुब सम्मान गर्थे ।

बलबाहु सरले न्यूनतम अङ्क ल्याउने आठ कक्षाका सात जना विद्यार्थीलाई कान समातेर उठबस गर्न लगाए । फेरि कुखुरो पनि बनाए । सबैका अगाडि उनीहरूलाई निन्दा गरे ।

बलबाहु त्यतिमा सन्तुष्ट भएनन् । कराउन थाले, ‘आखिरमा तिमीहरू नपढ्ने नै भयौ हैन ? तिमीहरू पनि आफ्नो बाबुले झैँ हलो जोत्ने भयौ हैन ? भकारो सोहोर्ने, घाँस दाउरा गर्ने र खेत बारीमा काम गर्ने भयौ हैन ?’

बलबाहु सरको कठोर कारबाही, निन्दा र उपहासले कम नम्बर ल्याउने विद्यार्थीमा निराशा छायो भने बढी नम्बर ल्याउनेहरूमा अभिमान ।

यसले गर्दा समाजमा खेतबारी जोत्ने, घाँस दाउरा गर्ने र फलफूल एवं तरकारी खेती गर्ने काम पढ्न नसक्नेको मात्र हो भन्ने सन्देश फैलियो । एसएलसी पास हुने जति सबैले त्यस्ता काम गर्न इन्कार गरिदिए ।

५.लज्जा
एक दिन ट्याक्सी चढेर विवाहको पार्टीमा कतै जाँदै थिएँ । निकै जाम थियो । त्यसमाथि पानी पर्न थालेको हुँदा ठ्याप्पै भयो ।
ड्राइभर साठी नाघेका जस्ता देखिन्थे । मलाई उनीसँग गफ गर्न मन लाग्यो ।
म – गुरुजीको नाम के पर्‍यो कुन्नि ?
उनी – थक्क बहादुर हजुर ।
म – घर कता होला ?
थक्क बहादुर – रसुवा हो हजुर ।
म – ट्याक्सी चलाउन थालेको कति भयो ?
उनी ( एक पुडिया भोला मुखमा खन्याउँदै ) – पैँतिस वर्ष भयो सर ।
म – यहाँ कहाँ बस्नुहुन्छ ?
उनी – सुकुमबासमा दुई कोठाको घर छ । गाउँको जग्गा बेचेर ल्याएको पैसाले किनेको हो । त्यो पनि डोजर लगाएर भत्काइदिने रे ।
म – गाउँमा घर जग्गा छ कि सकियो ?
उनी – छ नि छन त, तर जग्गा बाँझो छ, घर थोत्रो भयो ।
म – छोराछोरी कताकता छन् ?
उनी – छैनन् हजुर । दुइटा छोरी जन्मेका थिए । पापी कालले खोसेर लग्यो ।

मलाई साह्रै दुःख लाग्यो । दैवको निर्दयतालाई टार्न सकिने कुरा थिएन । त्यहाँ सहानुभूति दिएर हृदय पगालिदिनुको पनि प्रयोजन थिएन । म चुप लागेँ ।
उनी – गाउँमा फर्केर बाँकी जीवन उतै बिताउने इच्छा त थियो, तर कुन मुख लिएर जानु ।
म – आफ्नो घर जान पनि केको सङ्कोच नि ?
उनी – लाज लाग्छ नि हजुर । जवानीको जोसको बेलामा निकै फाइँफुइँ गरेर भुईँमा टेकिएन । कहिलेकाहीँ गाउँतिर त गइन्थ्यो, तर कसैलाई गन्दै गनिएन । सधैँ यस्तै जवानी, बल र पैसा रहिरहला भन्ने सोचेर घमण्ड गरियो । अब यो बुढेसकालमा तिनै छिमेकीको अगाडि कुन मुख लिएर जाने ? भविष्यमा आफै फर्कनु पर्ने सम्भावना रहेको बाटोमा आफैले काँडा लगाएर हिँड्नु जस्तो मूर्खता केही रहेनछ हजुर !

उनी सायद अरु धेरै कुरा भन्न चाहन्थे, तर मेरो गन्तव्य आइसकेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस