कावाखोला पुल पुनःनिर्माण थालियो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कावाखोला पुल पुनःनिर्माण थालियो


२४ चैत्र २०८०, शनिबार


भोजपुर । निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोलाको पक्की पुलको पुनःनिर्माण थालिएको छ । हतुवागढी गाउँपालिका-२ रानीबास र रामप्रसादराई गाउँपालिका-५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको  पुनःनिर्माण  गत महिना थालिएको थियो । 

हालसम्म निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको इटहरीस्थित स्थानीय सडक पुल कार्यान्वयन एकाइले जनाएको छ । यो पुलको ९० प्रतिशत काम सम्पन्न भएपछि २०७८ मङ्सिरमा भाँचिएको थियो । भाँचिएपछि पुलको स्वरूप परिवर्तन गरेर पुनःनिर्माण थालिएको प्रादेशिक स्थानीय सडक पुल सहयोग एकाइ कोशी प्रदेशका प्रमुख सूर्यनारायण चौधरीले जानकारी दिए । 

‘स्टिल ट्रस ओपन फाउन्डेसन’मा बन्ने यो पुल एक स्पानको हुने उनको भनाइ छ । पुल ४५ मिटर लम्बाइ, छ मिटर चौडाइ र १ दशमलव २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्नेगरी निर्माण हुने जनाइएको छ । पुल निर्माणको काम आगामी वैशाख महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ । ‘कावाखोला पुलको पुनः निर्माण भइरहेको छ’, उनले भने, ‘हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ । पुल निर्माणको काम आगामी वैशाख महिनाभित्रमा सम्पन्न हुन्छ ।’ मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु चार करोड ६२ लाख ७४ हजार नौ सय १० को लागतमा पुल बन्न लागेको हो । 

गुणस्तरीय ढङ्गले यथाशक्य चाँडो निर्माण सम्पन्न गराउन हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईलगायत स्थानीय जनप्रतिनिधिको टोलीले निरन्तर अनुगमन गरिरहेको छ  । स्वीस सरकारको सहयोगमा निर्माण हुने उक्त पुलको २०७६ साल फागुन १२ गते शिलान्यास भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस