कर्मचारीले दलको फेभरमा काम गर्न थालेपछि सार्वजनिक प्रशासन बिग्रियो : पूर्वसचिव नेपाल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कर्मचारीले दलको फेभरमा काम गर्न थालेपछि सार्वजनिक प्रशासन बिग्रियो : पूर्वसचिव नेपाल


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । पूर्वसचिव खेमराज नेपालले कर्मचारीहरूले दलगतरुपमा विभाजित भएर काम गर्न थालेपछि सार्वजनिक प्रशासन बिग्रिएर गएको टिप्पणी गरेका छन् । उनले निजामती कर्मचारीहरूले दलीय संगठनमा बस्न नहुने र पार्टीको फेभरमा पर्न नमिल्ने दाबी गरे । 

पूर्वसचिव नेपालले भने, ‘निजामती कर्मचारीलाई स्थायी सरकार भनिन्छ । त्यो कुनै दलको हुनुहुँदैन । तर हाम्रा कर्मचारी ट्रेड युनियनका नाममा बाँडिएर दलविशेषका भएर बसेका छन् । उनीहरू आफ्नो पार्टीको लाइनमा चलेका छन्,’ उनले भने, ‘कर्मचारीले दलको फेभरमा काम गर्न थालेपछि सार्वजनिक प्रशासन राम्रो हुने कुरै हुँदैन ।’

उनले संघीयता कार्यान्वयन र जनतामा विश्वास बढाउनका लागि तीन तहका सरकारले मिलेर जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताए । ‘नागरिकहरू समस्या पर्दा काठमाडौं किन धाइरहेका छन्, सिहंदरवार भित्रै किन पस्न चाहन्छन् ? त्यसलाई मात्र हेरेर सम्बोधन गरिदियो भने नेपालको रूप फेरिन्छ,’ उनले भने, ‘गाउँ गाउँमा सिंहदरवार भनियो तर अहिले पनि चप्पल नलगाएका मान्छेहरू सिंहदरवारको गेटमा आउनुपरेको छ । यसको मूल्यांकन गर्‍यो भने पनि स्पष्ट रुपमा थाहा हुन्छ कि अधिकार तल गएको छैन । अधिकार सिंहदरवार भित्रै छ ।’ उनले नागरिकको तहमा संघीयताको अनुभूति नै हुन नपाएको दाबी गरे । 

पूर्वसचिव नेपालले हरेक पटक सरकार फेरबदल हुँदा आफ्नो फेभरमा काम गराउने प्रवृत्ति हाबी हुँदा छिटो छिटो कर्मचारी सरुवा गरिदिने, र नतिजा नआउने अवस्था रहेको बताए । ‘कुनै काम गर्नका लागि योजना बन्छ । बीचमा सचिव अर्कातिर हिड्छ । मन्त्री फेरिइसकेको हुन्छ । कामले पूर्णता पाएको देखिदैन,’ उनले भने, ‘सरकार फेरिनेबित्तिकै आफ्नो फेभरको कर्मचारी ल्याउनुपर्ने नेतृत्वको सोच छ । कर्मचारीले पनि त्यही गरेर बिकृतिलाई प्रोत्साहन गरिदिएका छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस