छ महिनामै उप्कियो लोक मार्गको कालोपत्र « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

छ महिनामै उप्कियो लोक मार्गको कालोपत्र


१७ चैत्र २०८०, शनिबार


ढोरपाटन (बागलुङ) । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोक मार्गअन्तर्गत बागलुङको घोडाबाँधे-गलकोट खण्डको कालोपत्र छ महिना नबित्दै उप्किएको छ । कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ । 

एक दशकअगाडि कालोपत्र भएको घोडाबाँधे-गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो । निर्माण कम्पनीले गत असोजमा कालोपत्र गरेको सडक एक महिनापछि उप्किन थालेको थियो । अहिले लोक मार्गको बीच भागमा ठूला-ठूला खाल्डा परेका छन् । कालोपत्र उप्किएपछि सडक हिलाम्य र धुलाम्मे बन्ने गरेको छ ।

गुणस्तरहीन कामका कारण कालोपत्र उप्किएको स्थानीयले आरोप लगाएका छन् । विसं २०७९ असार २२ मा लोकमार्ग कार्यालयसँग सम्झौता गरी जोशी निर्माण कम्पनी काठमाडौँले मर्मतको काम गरेको थियो । निर्माण कम्पनीले कालोपत्र गरेको लोक मार्गको घोडाबाँधे भ्यूटावर, काफलठुटा, झाँक्रीस्थान नरठाँटीलगायत दर्जनौँ ठाउँमा उप्किएको छ । कालोपत्र उप्किएर खाल्डाखुल्डी बनेपछि सडकमा यात्रा जोखिमपूर्ण भएको सवारी चालक बलबहादुर सुनारले बताए। 

‘ठेकेदारले सुरुमा राम्रो काम गरिरहेको थियो तर कालोपत्र गर्ने बेलामा कमसल सामान प्रयोग गरेछ । अहिले गाडी कुदाउने खालको सडक छैन । जताततै खाल्डाखुल्डी र हिलोधुलो छ’, चालक सुनारले भने, ‘गुणस्तरहीन काम भएकाले सरकारले यस्तालाई कारबाही गर्नुपर्छ ।’

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले लोक मार्गअन्तर्गत गलकोट खण्डको धेरै ठाउँमा समस्या भएको बताए । नरेठाँटीदेखि भ्यू टावरसम्मको सडक कतै कालोपत्र उप्किएको, कतै नाली पुरिएको त कतै सडकको ‘लेभल’नै नमिलेको उनको भनाइ छ । 

लोकमार्ग मर्मतका लागि निर्माण कम्पनीले रु १३ करोड ९९ लाखमा आगामी असोज २१ गतेसम्म सडक मर्मत सक्ने गरी ठेक्का लिएको थियो । मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी इञ्जिनियर पवन सुवेदीले निर्माण कम्पनीले समयमै काम सके पनि गुणस्तरीय नभएको स्वीकारे । इञ्जिनियर सुवेदीले कालोपत्र भएको एक महिना नबित्दै उप्किएको सडकलाई पुनः मर्मत गर्न लगाएको र बिग्रिएको ठाउँमा थप मर्मत गर्न आग्रह गरेको बताए ।

‘निर्माण कम्पनीले जिम्मा लिएको जति स्थानमा सडक भत्किएको छ, कालोपत्र उप्किएको छ, त्यो सबै उसैले बनाउनुपर्छ, यसको जिम्मेवार निर्माण गर्ने कम्पनी नै हो । उनीहरूलाई काम गर्नुपर्‍यो भनेर हामीले भनिरहेका छौँ,’ सुवेदीले भने, ‘काम गरिरहेकै बेला पनि कालोपत्र उप्किएको गुनासो आएपछि मर्मत गर्न लगाएका थियौँ । अहिले फेरि धेरै ठाउँमा उप्किएछ । त्यो निर्माण कम्पनीले जिम्मेवार भएर मर्मत गर्नुपर्छ ।’ मध्यपहाडी लोकमार्ग बागलुङ जिल्लाभित्र करिब एक सय ४२ किलोमिटर पर्छ । त्यसमध्ये बिउँ खण्डको १२ किलोमिटरबाहेक अधिकांश सडक कालोपत्र भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस