खेलकुदमा अब राजनीतिक पहुँचका आधारमा नियुक्ति हुँदैन : खेलकुदमन्त्री श्रेष्ठ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खेलकुदमा अब राजनीतिक पहुँचका आधारमा नियुक्ति हुँदैन : खेलकुदमन्त्री श्रेष्ठ


१० चैत्र २०८०, शनिबार


काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेल क्षेत्रमा सम्मानसहित निष्पक्ष नियुक्तिहरु गर्न लागेको बताएका छन् । 

वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक कार्यक्रममा शनिबार उनले राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको भन्दै अब निष्पक्ष नियुक्तिको सुरुवात हुने बताए । 

उनले भने, ‘राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको छ । अब त्यो खाली हुन लागेको छ, खेलाडीहरु विदेश पलायन हुन नपर्ने गरेर, राज्यले सम्मान गरेर नियुक्ति गर्ने निष्पक्ष नियुक्तिहरु हुँदै छ हाम्रो मन्त्रालयबाट । खेलकुदमा राजनीति त यस्तो जरा जरामा घुसेको रहेछ की खेलकुद परिषद्मा राजनीतिक खेल परिषद् पनि हाल्नु पर्ने खालको पनि बेतिथि छ ।’

यस्तै, उनले खेलकुद मन्त्रालयमा नीतिगत धेरै कुराहरूको सुरुवात भइसकेको भन्दै सोमबारबाट धेरै एक्सनहरु पनि देख्न पाउने बताए । 

उनले भने, ‘खेलकुद मन्त्रालयमा नीतिगत धेरै कुराहरू सुरु पनि गरिसकेका छौँ । यो सोमबारबाट धेरै एक्सनहरु पनि तपाईहरुले हेर्न पाउनु हुनेछ । त्यो पनि गर्दै छौ । यसमा जस्तै, गृहमन्त्रीज्यूले सार्वजनिक जग्गाको कुराहरू छ, खेलकुद र स्काउटका पनि धेरै सार्वजनिक जग्गा लुटेर बसेका रहेछन् । मान्छेहरुले पैसा पनि नदिने, लिएर पनि बस्ने, अदालतमा मुद्दा हाल्ने र स्टेअर्डर लिएर निःशुल्क जस्तो चलाइरहेका छन् ।’ 

युवा तथा खेलकुद मन्त्रालय रास्वपाका तर्फबाट प्रतिबद्ध रहेको भन्दै खेलाडी, प्रशिक्षक र देशले अब न्याय पाउन सुरु भएको पनि उनको भनाइ छ । 

उनले आफूले सम्हालिरहेको मन्त्रालय अब तल जाने स्थान नै नभएको भन्दै अब व्यक्तिवादी विकास होइन, विधि र नीतिगत विकासमा रास्वपा प्रतिबद्ध रहेको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस