जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन बनेको उद्योगमन्त्री भण्डारीको दाबी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन बनेको उद्योगमन्त्री भण्डारीको दाबी


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्नका लागि नयाँ गठबन्धन निर्माण भएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको नवौँ जिल्ला अधिवेशनको आज पाटनमा उद्घाटन गर्दै मन्त्री भण्डारीले जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धनको आवश्यकता महसुस गरिएको बताए।

उनले भने, ‘राष्ट्रिय चुनौतीलाई एकतामा बदल्न एमाले सफल भएको छ। जनअपेक्षा पूरा गर्न हामी सरकारमा गएका हौँ। जनताको शिर झुक्ने गरी काम गरिने छैन। बैतडी र सिङ्गो सुदूरपश्चिमलाई केन्द्रमा राखेर काम गरिनेछ।’

देश निर्माणका लागि अहिलेको गठबन्धन बनेको बताउँदै मन्त्री भण्डारीले चुनौतीलाई अवसरमा बदल्नु आवश्यक रहेको बताए। उनले भने, ‘देश सङ्कटपूर्ण अवस्थामा छ। सरकारमा रहुन्जेल यसलाई स्वर्णिम अवसरका रूपमा लिएका छौँ। जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउँछौँ।’

राजनीतिक शक्ति सन्तुलनका आधारमा देशमा परिवर्तन आएको भन्दै मन्त्री भण्डारीले पार्टी ‘मिसन-८४’ मा हिँडेकाले सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।

Tags :
प्रतिक्रिया दिनुहोस