एक सय सत्तरी बिघा क्षेत्रमा सिँचाइका लागि बोरिङ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एक सय सत्तरी बिघा क्षेत्रमा सिँचाइका लागि बोरिङ


१० फाल्गुन २०८०, बिहिबार


चितवन । भरतपुर महानगरपालिका-१७ मा सिँचाइका लागि दुई डिप बोरिङ र १८ वटा स्यालो ट्युबेल निर्माण गरिएको छ । एक सय ७० बिघा क्षेत्रफल सिँचाइ गर्नका लागि निर्माण गरिएका डिप बोरिङ र स्यालाट्युबेलको आज उद्घाटन गरिएको हो ।

महानगर प्रमुख रेनु दाहालले एक कार्यक्रमकाबीच ती सिँचाइ आयोजनाको उद्घाटन गरेकी हुन् । १८ वटा स्यालो ट्युबेल निर्माणका लागि चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले रु. एक करोड ३५ लाख र दुईवटा डिप बोरिङ निर्माणका लागि रु. एक करोड ५८ लाख खर्च गरेको छ । सिँचाइका लागि डिप बोरिङ र स्यालो ट्युबेल उद्घाटन भएसँगै स्थानीय उत्साहित भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले महानगरभित्र सिँचाइको अभावले बाली लगाउन सकिएन भन्ने अवस्था हट्दै गएको बताइन । भरतपुरमा सञ्चालित भूमिगत र सतह सिँचाइले कृषकको मुहारमा खुसी ल्याएको उनको भनाइ थियो । 

महानगर प्रमुख दाहालले भनिन्, “पहिलाको सुख्खाग्रस्त ठाउँ हाराभरा भएका छन् । एक बाली हुने ठाउँमा चार किसिमका बाली हुन थालेका छन् ।” भरतपुरमा भूमिगत सिँचाइ, नारायणी लिफ्ट सिँचाइ र केरुङ्गा घोल सिँचाइ परियोजना एक साथ सञ्चालनमा आउँदा यहाँका जमिनमा बाह्रैमहिना सिँचाइ पुगेको उनले बताइन् ।

महानगर क्षेत्रभित्र सिँचाइ आयोजनाबाट ५० वटा डिप ट्युबेल, तीन सय ३० स्यालो ट्युबेल र महानगरले सात सय बढी स्यालो ट्युबेल निर्माण गरिरहेका प्रमुख दाहालले जानकारी दिइन् ।

कार्यक्रममा भूमिगत सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले भूमिगत सिँचाइका कारण भरतपुरको उत्पादनमा वृद्धि भई कृषकले मनग्य आम्दानी गर्न सफल भएका बताए । भरतपुरमा प्राकृतिक रूपमा मात्र सिँचाइ गरी बाली लगाउने अवस्थाको अन्त्य भएको उनको भनाइ थियो ।

भरतपुरमा भएका ट्युबेलले कूल छ हजार एक सय २० बिघा क्षेत्रफलमा सिँचाइ हुने आयोजनाका प्रमुख स्याङ्बोले जानकारी दिए। उनका अनुसार यहाँका कृषकले नारायणी लिफ्ट र केरुङ्गा जल सिँचाइ आयोजनामार्फत सिँचाइ सुविधा लिइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस