संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । देवराज घिमिरेले बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
१३ पुसमा दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएपछि विपक्षी दलहरुले ६ फागुनकै बैठकमा राजीनामा मागेका थिए । त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवेदन बुझेपछि अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका थिए ।

तर अहिलेसम्म मन्त्रीले राजीनामा नदिएको भन्दै विपक्षी दलहरुले प्रश्न उठाएका छन् । बिहीबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर एमाले सांसद रघुजी पन्तले झण्डा हल्लाउँदै मन्त्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन गएको पहिलो पटक देखिएको बताए । ‘अख्तियारमा बयान दिइसकेको मन्त्री क्याबिनेटमा बस्छ ? उनले भने, ‘नैतिकता छ भने प्रधानमन्त्रीले जवाफ दिनुस् ।’

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासँगै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले राजीनामा दिनुपर्ने उनले बताए । त्यसपछि सभामुखले शून्य समय सुरु गरे । तर एमाले, रास्वपा र राप्रपा तीनवटै दलका सांसदहरु उठेर विरोध गरे । आफूहरुले उठाएको विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै विपक्षी सांसदहरु आ-आफ्नो स्थानमा उभिइरहे ।

बस्नका लागि पटकपटक आग्रह गर्दा पनि विपक्षीले अवरोध जारी राखेपछि सभामुखले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरे । सभामुखको रुलिङसँगै संसद सुचारु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस