घट्यो काँग्रेसको चन्दा र लेभी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

घट्यो काँग्रेसको चन्दा र लेभी


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसको गत वर्षको आम्दानी घटेको छ । केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले महासमिति बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लेखा परीक्षण प्रतिवेदन अनुसार चन्दा दिनेहरू घटेका छन् । लेभी र नवीकरण शुल्कमा उल्लेख्य कमी आएको छ ।

काँग्रेसले आव.२०७८/७९ मा सदस्यता, लेभी र नवीकरण शुल्क बापत ७ करोड ४३ लाख ०३ हजार ५ सय १ रुपैयाँ आम्दानी गरेको थियो । आर्थिक वर्ष २०७९/८० मा भने सदस्यता, लेभी र नवीकरण शुल्कमै साढे ६ करोड भन्दा बढीले कमी आएको छ ।

आ.व.२०७९–८० मा सदस्यता, लेभी र नवीकरण शुल्क बापत ५७ लाख ६० हजार ८ सय रुपैयाँ मात्र आम्दानी भएको काँग्रेसको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

आ.व.२०७८/७९ मा काँग्रेसको जम्मा आम्दानी रु. १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैयाँ थियो । आ.व.२०७९/८० मा भने काँग्रेसले जम्मा ३ करोड ६४ लाख ७६ हजार २ सय ९७ रुपैयाँ आम्दानी देखाएको छ ।

आ.व.२०७८/७९ मा चन्दा तथा सहयोग बापत ६ करोड ६८ लाख २४ हजार रुपैयाँ, प्रकाशन बिक्रीबाट ११ लाख ४९ हजार ४ सय रुपैयाँ र व्याज आम्दानी बापत ६७ लाख १७ हजार १ सय ८५ रुपैयाँ आम्दानी गरेको थियो ।

गत वर्ष चन्दा तथा सहयोग बापत २ करोड ६५ लाख ६४ हजार ५ सय ७७ रुपैयाँ, प्रकाशन बिक्रीबाट ९४ हजार ६ सय पचास रुपैयाँ, लिलाम बिक्री बापत २ लाख २५ हजार रुपैयाँ र व्याज आम्दानी बापत ३८ लाख ३१ हजार २ सय ७० रुपैयाँ आम्दानी गरेको काँग्रेसले जनाएको छ ।

आ.व.२०७८–०७९ को तुलनामा गत आर्थिक वर्ष काँग्रेसलाई चन्दाबापत ४ करोड कम प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

काँग्रेसको आम्दानी अघिल्लो वर्षको तुलनामा गत वर्ष ४ करोड ३५ लाख १८ हजार ८२३ कम भएको छ ।

‘पार्टीको आ.व. २०७८/०७९ मा साधारण जगेडा कोषको रकम रु. ६ करोड ९६ लाख ५९ हजार १ सय २३ रुपैयाँ भएकोमा आ.व.२०७९/८० मा उक्त रकममा केही कमी आई रकम रु. २ करोड ६१ लाख ४० हजार ३ सय रुपैयाँ कायम भएको थियो’ प्रतिवेदनमा उल्लेख छ ।

पार्टीको आ.ब. २०७८/७९ मा कूल स्थिर सम्पत्ति ५ करोड ७६ लाख ३७ हजार ६ सय ७० रुपैयाँ रहेकोमा आ.व.२०७९/८० मा ह्रासकट्टी पश्चात् ५ करोड ५३ लाख ५५ हजार ७ सय ११ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस