बाल आँखा स्वास्थ्य सम्बन्धी छलफल गर्न नेत्र रोग विशेषज्ञहरू एकै ठाउँमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बाल आँखा स्वास्थ्य सम्बन्धी छलफल गर्न नेत्र रोग विशेषज्ञहरू एकै ठाउँमा


६ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । बालबालिकाहरूमा हुने मोतीबिन्दु, डेडोपना, लेन्स लगाउनुपर्ने लगायतका विविध आँखासँग सम्बन्धित स्वास्थ्यका समस्याका बारेमा छलफल आवश्यक बन्दै गएको छ । यही आवश्यकतालाई महसुस गर्दै तिलगंगा आँखा प्रतिष्ठानले हिमालयन क्याटराक्ट प्रोजेक्टको सहयोगमा विशेष बाल आँखा स्वास्थ्यमा केन्द्रित दुई दिने कार्यक्रमको आयोजना गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू एकै ठाउँमा जम्मा भई सिप तथा ज्ञान साटासाट गर्न र हरेक बिरामीको पहुँचमा उपचार पुर्‍याउन कार्यक्रमको आयोजना गरिएको हो । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले पेडियाट्रिक अफ्थमोलोजी स्युम्पोसिअम एन्ड सीएमई अन पेडियाट्रिक अफ्थमोलोजी एन्ड स्टार्विस्जमस् दुई दिने कार्यक्रमको आयोजना गरेको हो । 

आइतबार र सोमबार आयोजना भइरहेको कार्यक्रममा प्रमुख वक्ताका रूपमा अमेरिकाका प्रसिद्ध बाल आँखा चिकित्सक प्रा.डा. एड्वर्ड विल्सन, भारतमा बाल आँखाको प्रविधिका क्षेत्र विज्ञ डा. रमेश केकुन्य र शङ्कर नेत्रालय रिसर्च विभागकी डा. सुमिता अगर्कार सहभागी हुँदै छन् । त्यस्तै तिलगंगा आँखा प्रतिष्ठानकी बाल आँखा रोग विभाग प्रमुख डा. सिर्जना अधिकारी र वीर अस्पतालकी वंशाणुगत रोग विभाग प्रमुख डा. निलम ठाकुर राष्ट्रिय वक्ताका रूपमा छन् । 

हिमालयन क्याटराक्ट प्रोजेक्टले प्रतिष्ठानको बाल आँखा उपचार विभागको स्तरोन्नतिमा सघाउने उद्देश्यले हातेमालो गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस