पोखरा म्याराथनको तयारी पूरा, सडकमा ३ घण्टा गाडी निषेध « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पोखरा म्याराथनको तयारी पूरा, सडकमा ३ घण्टा गाडी निषेध


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । आगामी शनिबार ५ फागुनमा हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औँ संस्करण तयारी पूरा भएको छ । यसपटक १०८ जना म्याराथनमा सहभागी हुने आयोजक भूतपूर्व खेलाडी मञ्चलले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

प्रतियोगितामा नेपालसँगै केन्या, चीन, भारत, बेलायत, जर्मनीलगायत १४ देशका धावक ४२.१९५ किलोमिटरको म्याराथनमा सहभागी हुने आयोजक संस्थाले जनाएको छ । म्याराथन विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख र चौथो हुनेले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै, पोखरा म्याराथन अन्तर्गत नै हुने महिलाहरूको हाफ म्याराथनमा ७० जना प्रतियोगी सहभागी हुनेछन् । २१ किलोमिटर दूरीमा हुने उक्त दौड विजेताले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ पाउनेछन् ।

अघिल्लो वर्ष अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आयोजक संस्थाहरूको छाता संगठन एम्सको सदस्यता पाएको पोखरा म्याराथनले यस वर्ष रन फर रनबाहेक सबै दौडमा चिप्सको प्रयोग गर्ने भएको छ ।

यस वर्ष म्याराथनको रुट पनि परिवर्तन गरेको छ । अघिल्ला संस्करणमा म्याराथनको अधिकांश रुट सहरी भागमा परेको र त्यसले असर पुर्‍याएको भन्दै रुट परिवर्तन गरेको हो ।

यसवर्ष पोखरा फेवाताल सिरानलाई मुख्य रुटमा प्रवेश गराएको छ । पोखरा रंगशालाबाट सुरु हुने म्याराथन मियापाटन, पृथ्वीनारायण क्याम्पस, जिरो, हल्लनचोक हुँदै घाँटीचोक पुगेर फेरि क्याम्पिङ चोकमा आएर अन्त्य हुनेछ ।

साथै, प्रतियोगिताका बेला रुट पर्ने क्षेत्रमा ३ घण्टा गाडी चल्न निषेध गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस