सरुवासँगै लिएको गाडी फिर्ता गर्न सतर्कताका सचिवलाई खानेपानीको पत्र, नेतृत्वबाटै बरबुझारथको उडाइँदै धज्जी  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सरुवासँगै लिएको गाडी फिर्ता गर्न सतर्कताका सचिवलाई खानेपानीको पत्र, नेतृत्वबाटै बरबुझारथको उडाइँदै धज्जी 


२ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । खानेपानी मन्त्रालयले गाडी फिर्ता गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई पत्र पठाएको छ । सचिव राम आधार साह चढ्ने गाडी फिर्ता गर्न मन्त्रालयले गत माघ १६ मा केन्द्रलाई पत्र पठाएको हो । 

खानेपानी तथा ढल व्यवस्थापन विभागको नाममा रहेको बा २ झ ५०५० नम्बरको गाडी फिर्ताका लागि मन्त्रालयले पत्र लेखेको केन्द्र स्रोतले प्रशासनलाई जानकारी दिएको छ । ‘यस मन्त्रालयको कामकाजमा प्रयोग भई राखेको बा २ झ ५०५० नम्बरको गाडी त्यहाँ केन्द्रमा रहेकोले हाल यस मन्त्रालयको लागि कामकाजमा आवश्यक परेको हुनाले फिर्ता गरिदिने व्यवस्थाका लागि आदेश अनुसार अनुरोध छ’– पत्रमा भनिएको छ । 

सरुवा भएर गई सकेपछि छोडेर जाने कार्यालयका सम्पूर्ण सामानहरू बरबुझारथ गर्नुपर्ने हुन्छ । तर, आफूसँगै र वर्षौँसम्म पनि असम्बन्धित निकायका गाडीहरू हत्याउने चलन छ । जुन दुरुपयोग हो । 

सार्वजनिक निकाय तथा पदाधिकारीहरूको समेत निगरानी राख्ने निकाय सतर्कता केन्द्रका सचिव आफैले खानेपानी मन्त्रालयको गाडी हडपेकोबारे प्रशासन डटकमले केही समय अघि समाचार लेखेको थियो । 

सम्बन्धित समाचार : सतर्कता केन्द्रकै सचिवले हडपे खानेपानी मन्त्रालयको गाडी

मन्त्रालय स्रोतका अनुसार मन्त्रालयलाई गाडी आवश्यक भएकै कारण फिर्ता गर्न पत्र काटिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्दै आएको खानेपानी मन्त्रालयको गाडीमा आगजनी भएपछि मन्त्रालयलाई अहिले गाडी आवश्यक भएको बताइएको छ । 

खानेपानी सचिवले प्रयोग गर्ने गाडी पनि अन्तैका 
त्यसो त खानेपानी मन्त्रालयले सतर्कता केन्द्रलाई गाडी फिर्ता गर्न पत्र काटिरहँदा मन्त्रालयका सचिव सुरेश आचार्यले शहरी विकास मन्त्रालयमा रहँदा प्रयोग गर्ने गरेको गाडी अझै फिर्ता गरेका छैनन् । शहरी विकासको सचिव हुँदा लिएको बा ९३५२ नम्बरको फर्चुन गाडी फिर्ता नगरेका हुन् । 

सहरीबाट सतर्कता हुँदै खानेपानी मन्त्रालय पुगेका भए पनि उनले बरबुझारथ नगरी गाडी आफैसँग राखेका हुन् । मन्त्रालयले गाडी फिर्ता मागे आफू फिर्ता गर्न तयार रहेको उनले बताए । उनले प्रयोग गर्दै आएको अर्को मेलम्ची खानेपानी आयोजनाको बा ९ च ६७८४ नम्बरको प्राडो गाडी भने बुझाइ सकेको उनले बताए ।

‘जुन कार्यालयमा बसेका छौँ त्यो कार्यालयको गाडी राम्रो छ । अर्को कार्यालयमा सरुवा भएर जाँदा त्यही गाडी नै चढ्छु भन्ने कुरा त्यति युक्तिसंगत कुरा होइन’, नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनाली भन्छन्, ‘ कि त सचिव वा सहसचिव सरुवा हुँदै गर्दा पहिले प्रयोग गर्दै आएका गाडी लगायतका सामानहरू नै प्रयोग गर्ने व्यवस्था बनाउनु पर्‍यो, होइन भने सरुवा हुँदा बरबुझारथ गर्नुपर्छ । कसैले लैजाने कसैले नलैजाने हुनु हुँदैन । यसमा विधि र प्रक्रिया बनाएर एकरूपता कायम गर्नुपर्छ ।

अर्थ मन्त्रालयले जारी गरेको कार्य सञ्चालन निर्देशिकाले सवारी साधन सुविधा पाउनेमा मन्त्री, संवैधानिक पदाधिकारी, सचिव, विशिष्ट श्रेणी र सहसचिव उल्लेख गरेको छ । यद्यपि सो सरहका पदाधिकारीले पनि दोहोरो सुविधा लिने र अन्यले समेत सवारी साधन सुविधा लिने होडबाजी चलेकै छ । साथै सरुवा भएर जाँदा पनि पुरानै रोजी गाडी नछोड्ने प्रचलन पनि छ ।

पाउनु पर्नेले नै पनि पहुँच अनुशार सके जति प्रयोग गरिरहेका कर्मचारीहरूको संख्या पनि कम छैन । अझ आयोजना तथा परियोजनासमेत हेर्ने सहसचिवले नै तीन–चारवटैसम्म गाडी प्रयोग गरिरहेकोसमेत बताइन्छ । 

खानेपानी मन्त्रीले नै हत्याएका छन् ६ गाडी 
सवारीमा मनपरी गर्न सचिव मात्रै होइन, मन्त्रीहरू समेत कम छैनन् । विवादै विवादले घेरिँदै आएका खानेपानी मन्त्री महेन्द्र राय यादवसहित उनको सचिवालयले मन्त्रालय तथा निकायका ६ वटा गाडी प्रयोग गर्दै आएको बुझिएको छ । स्रोतका अनुसार खानेपानी मन्त्री यादवले बा २ झ १०७६ र बा २ झ ७४३२ नम्बरको दुई वटा गाडी चढ्छन् ।

बाँकी उनको सचिवालय र पार्टीका नेता चढ्छन् । नेपाल समाजवादी पार्टीका महासचिव रमेश यादवले बा २ झ ३७३० प्राडो चढ्छन् । बा २ झ २५४५ स्कारपियो मन्त्रीका पिए सत्यप्रकाश चढ्छन् । सत्यप्रकाशलाई बा ११ च ३७२७ पिकअप पनि उपलब्ध गराइएको छ । उनले सुब्बा सरहको सुविधासहित जिम्मेवारी पाएका छन् ।

बा १ झ ८९९४ नम्बरको गाडी मन्त्रीका छोरा सुनिल यादव चढ्छन् भने मन्त्रीका भाइ वीरेन्द्र यादव अर्को एउटा प्राइभेट गाडी चढ्छन् । एउटा मन्त्रीलाई ६ वटा गाडी उपलब्ध गराएको छ । मन्त्रालयको तथ्याङ्कमा ५ वटा गाडी मन्त्रीलाई उपलब्ध गराइएको छ ।

मन्त्री चढ्ने दुई वटा, ३७३०, २५४५, ६७६० नम्बरको गाडी मन्त्रालयको तथ्याङ्कमा छ । बा १ झ ८९९४ नम्बरको निजी गाडीलाई ६७६० नम्बरको सरकारी गाडी बनाएको बुझिएको छ ।

सरकारी पदाधिकारी कसले कति गाडी पाउँछ र कसले पाउँदैन भन्ने स्पष्ट व्यवस्था छ । सरकारका मन्त्रीले दुई वटा गाडी पाउँछन् । तर, मन्त्रीले त्यो भन्दा धेरै गाडी प्रयोगमा ल्याएका छन् । यो राज्य स्रोतको चरम दुरुपयोग हो । 

नेपाल सरकारका पूर्वसचिव मैनालीका अनुसार मन्त्रीको निजी सचिवालय र परिवार तथा पीएहरुले गाडीको दुरुपयोग गर्ने गरेका छन् । उनले भने, ‘मन्त्रीको हकमा एउटा कार र एउटा जीप उपलब्ध गराइने व्यवस्था छ । मन्त्रीले औपचारिक कार्यक्रममा जानको लागि झन्डावाला कार र फिल्डमा जानको लागि जीप उपलब्ध गराइएको हुन्छ । यो भन्दा बढी प्रयोगमा ल्याउनु भनेको दुरुपयोग नै हो ।’

सबैतिर चरम दुरुपयोग
भाषणमा शब्दैपिच्छे सुशासन झुन्ड्याइरहँदा व्यवहारमा लागू गर्ने इमानदारीकै कमीका कारण भनाई र गराईको तादम्यता मिलेको देखिँदैन । सवारी साधनको हकमा यतिसम्म विचित्रता देखिन्छ कि अड्डा अनुशार समान पदका कर्मचारीले चढ्ने गाडीमै फरक छ । त्यतिमा मात्रै सीमित छैन, डाडुपन्यु हातमा हुने निकायमा त तल्लो तहका कर्मचारीले प्रयोग गर्ने सवारी नै अन्य निकायमा दुई तह माथिका कर्मचारी भन्दा महँगो प्रयोग भएका छन् । 

सिंहदरवारभित्र मात्रै होइन, बाहिरका सरकारी तथा अर्ध सरकारी निकायहरूको बेथिति पनि कम्ती छैन । सरकारी[सेतो] प्लेटलाई निजी[रातो] प्लेट बनाएर परिवार तथा भाइ भारदारको खातिरदारीमा सुम्पेका सवारीहरू छ्यापछ्याप्ती भेटिन्छन् सडकमा । सवारीसँगै काटिने तेलका कुपनको दुरुपयोग त कति कति ! 

अझ बिचित्र त यो छ कि त्यही अड्डाका पहुँच नपुग्ने अथात् तल्लो तहका कर्मचारी यी सबै सुविधाबाट विमुख छन् । आसेपासेलाई सुम्पिई हाल्ने तर आफ्नै कर्मचारीलाई दिँदा दाँतबाट पसिना निस्कनेहरूको कम नभएको ती कर्मचारीहरूको दुःखेसो छ ।  ती कर्मचारीको बारेमा बोलि दिने कसले ?

सिंहदरवारलगायत सरकारी कार्यालयहरूका आँगन तथा छेउछाउतिर कुहाएका सवारी साधनको कहाली लाग्दो अवस्थाको कुरूप चित्र त हेरि नसक्नुको छ । जसबारे सोच्ने फुर्सद कसलाई ?

Tags :
प्रतिक्रिया दिनुहोस