‘झोलुङ्गे पुलले जोडेको मन’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

 ‘झोलुङ्गे पुलले जोडेको मन’


१ फाल्गुन २०८०, मंगलबार


गोदार (धनुषा) । सिरहाको सिरहा नगरपालिका-१९ का मुगालाल यादव ९२ वर्षको भए । उनले बाल्यकालदेखि नै कमला नदीमाथि पुल बन्छ भनेर सुन्दै आएका थिए तर यतिका वर्षसम्म पनि मोटर गुड्ने पक्की पुल बनेको छैन । त्यही छेउमा अहिले भने झोलुङ्गे पुल बनेको छ । 

शनिबार त्यही पुल हेर्न आएका ९१ वर्षीय यादव जीवनको उत्तरार्द्धमा कमला नदीमाथि झोलुङ्गे पुल देख्दा दङ्ग थिए । खुसी हुँदै उनले भने, ‘झोलुङ्गे पुल भए पनि वर्षौंपछिको सपना पूरा भएको छ । अब जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।’

यादवले कमला नदीमा पुल नहुँदा आफ्नो पुस्ताले भोगेको सास्तीबाट नयाँ पुस्ताले मुक्ति पाएको देखेर निकै हर्षित भएको सुनाए । ‘सिरहा घर भए पनि ससुराली, मावली, दिदीबहिनी, फुपू, इष्टमित्रहरूको सिमापारी धनुषामै छ । तर अहिलेसम्म हत्केलामा ज्यान राखेर ओहोरदोहोर गर्नुपर्थ्यो । झोलुङ्गे पुलले वर्षौदेखिको त्यो समस्या समाधान गरेको देख्दा निकै रमाइलो पनि लागिरहेको छ’, यादवले रासससँग खुसी व्यक्त गरे । नदीले वारि र पारि बनाएका मनहरूलाई पुलले भौतिकरुपमै जोडेको उनको भनाइ छ ।

उनी मात्रै होइन, सिरहा नगरपालिका-१३ का महावीर ठाकुर पनि निकै प्रफुल्ल थिए। स्वास्थ्य समस्या र विपत्तीकाबेला सहजरूपमा अस्पताल जान सजिलो हुने भन्दै उनी खुसी छन् । ‘पुल नहुँदा वर्षायामको समयमा धेरै समस्या थियो । जोखिम मोलेर डुङ्गाबाट ओहोरदोहोर गर्दा पनि समस्या थियो । त्यही डुङ्गाबाट जाँदा दर्जनौँ नागरिकले ज्यान गुमाइसकेका छन् । अब भने सहज हुने भयो । निकै खुसी लागिरहेको छ ।’

जनकनन्दनी गाउँपालिका-४ खजुरीका रमेश साह मोटरसाइकलमा झोलुङ्गे पुल हुँदै वारपार गर्न पाउँदा अहिलेसम्म पाएका सबै दुःख बिर्सिएको बताउछन्। ‘कमला नदीमाथिको पक्की पुलबाट कहिले वारपार गर्न पाइने हो टुङ्गो नै छैन । तर झोलुङ्गे पुलबाट यति चाँडै आउजाउ गर्न पाउँदा पहिले भोगेका सास्ती सबै भुलाएको छ’, साहले खुसी हुँदै भने । 

धनुषा र सिरहा सीमानामा पर्ने कमला नदीमा झोलुङ्गे पुल निर्माण भएपछि अहिले यहाँका नागरिकलाई कमला नदिको अवरोध छिचोल्न सहज भएको छ । अहिले मोटरसाइकल चालक र पैदल यात्रुहरूले यो पुलबाट वारपार गर्ने गरेका छन् । धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल र सिराहा नगरपालिका-१३ मलहनियाँलाई जोड्न कमला नदीमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो । अहिले पुल हेर्नका लागि मात्रै पनि यहाँ दैनिक सयौँ मान्छे आउने गरेका छन् । 

समयअगावै बन्यो पुल

नेपालकै लामो भनिएको यो पुल सस्पेन्सन ब्रिज डिभिजन पुल्चोक ललितपुरअन्तर्गत निर्माण भएको हो । विसं २०७८ फागुन २७ गतेको बोलपत्रअनुसार सपना, उमा एण्ड कम्पनी, थानी जेभी कन्सट्रक्सन बतीसपुतली काठमाडौँले यो पुल निर्माण गरेको थियो । सो कम्पनीसँग २०७९ असार ४ गते भएको ठेक्का सम्झौताअनुसार २०८१ असारमसान्तसम्म पुल निर्माण गरिसक्नु पर्ने सर्त थियो । सोहीअनुसार २०७९ मङ्सिर २ गतेदेखि पुल निर्माण सुरु गरेको कम्पनीले सम्झौता अवधिभन्दा छ महिना अगावै सम्पूर्ण कार्य सम्पन्न गरिएको कम्पनीका सब इन्जिनियर उपेन्द्र देवकोटाले जानकारी दिए । 

रु २१ करोड ५० लाख १० हजार सात सय लागत रहेको सो पुललाई नेपालकै लामो पुल भनेर दाबी गरिएको छ । यो पुलको लम्बाई एक हजार पाँच सय दशमलव ४४ मिटर लामो र एक दशमलव दुई मिटर चौडाइ छ । यसअघि सबैभन्दा लामो भनिएको सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित महाकाली नदीमाथि बनेको दोधारा चाँदनीको झोलुङ्गे पुलको लम्बाई एक हजार चार सय ५३ मिटर लामो छ ।

यस्तै पुलको भार क्षमता पाँच सय ४० मेट्रिक टन रहेको निर्माण कम्पनीका सब इन्जिनियर देवकोटाले बताए । उनका अनुसार पुलमा तीन हजार आठ सय ८६ पैदल यात्रीको भार क्षमता रहेको छ । कठाल मल्हनिया मल्टी स्पान झोलुङ्गे पुल सिरहा धनुषा नाम दिइएको यो पुलका लागि ३४ करोड बजेटको व्यवस्था भए पनि सार्वजनिक बोलपत्रको प्रकृयाबाट १९ प्रतिशत घटीमा निर्माण कम्पनीले ठेक्का लिएको थियो । त्यसबाहेक, ब्रिज डिभिजनले पुलमा लाग्ने तीन करोड बराबरको लट्ठा छुट्टै निर्माण उपलब्ध गराएको देवकोटाको भनाइ छ ।  

पुलकै प्राविधिक सरोज खड्काले कम्पनीको निर्देशनअनुसार दिनरात नभनेर काम गर्दा सम्झौता समयावधिभन्दा अगावै पुल निर्माण सकिएको बताए । उनी भन्छन्, ‘पुल नहुँदा यहाँका नागरिकले भोगिरहेको समस्या देख्यौँ । त्यसबाट चाँडै छुटकारा दिने सङ्कल्पअनुसार निर्माणमा संलग्न हामीहरू सबैले चाडबाड, झरी बादल, दिनरात केही नभनी काममा खटियौ । त्यसैको परिणाम हो यो । अहिले स्थानीयहरूको खुसी देखेर हामीलाई ठूलो आत्मसन्तुष्टि भइरहेको छ ।’

पुलको परिकल्पनाकारमध्येका इन्जिनियर विनोदकुमार मण्डलले यो पुल महेन्द्र राजमार्गको मात्रै होइन, अलपत्र हुलाकी राजमार्गअन्तर्गतको कमला पुलको पनि विकल्प भएको बताए । पुल निर्माणका लागि स्वयंसेवकको रूपमा सहयोग गरिरहेका मण्डलले भने, ‘धनुषा र सिरहालाई जोड्ने कमला नदीमा निर्माणाधीन कमला पुल अलपत्र छ । नागरिकसँग अर्को सहज विकल्प थिएन । अब यो पुल नै दुई जिल्लाका लाखौं नागरिकका लागि विकल्प बनेको छ ।’

हुलाकी सडकमा निर्माण गरिएको कमला पुल सञ्चालन नहुँदै भासिएपछि सिराहाबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको प्रदेशको राजधानी जनकपुरधाम पुग्न पूर्व-पश्चिम राजमार्ग तथा भारतको जयनगर हुँदै जानुपर्ने बाध्यता हटेको इन्जिनियर मण्डलले बताए । झोलुङ्गे पुल निर्माण भएसँगै दूरी छोटिएपछि सिराहाको मल्हनिया, माडर, पटेर्वा, गम्हरिया र पूर्वी धनुषाको पतनुका, बनरझुल्ला, खजुरी, चन्हा, महुवा, बलहा, कठाल, सघारा र माचीझिटकैयाका नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको छ । 

धनुषाको सबैला नगरपालिकाअन्तर्गत पटेर्वा र सिरहाको कल्याणपुर नगरपालिकाअन्तर्गतको चिकना जोड्ने कमला नदीको पक्की पुलको शिलान्यासको अवसर पारेर यसै महिना यस पुलको पनि उद्घाटन गराउने कार्यक्रम रहेको बताइएको छ । 

‘भारत पुग्नुपर्ने बाध्यता हट्यो’

धनुषाबाट सिरहा र सिरहाबाट धनुषा अर्थात् प्रदेश राजधानी जनकपुरधाम पुग्न महेन्द्र राजमार्ग या त भारतको जयनगर पुग्नुपर्ने भएकाले अधिकांश नागरिकले यही बाटो प्रयोग गर्छन् । तर यहाँ न मोटर गुड्ने पक्की पुल छ न त विकल्प नै थियो । यो बाटो प्रयोग गर्दा करिब ६० किलोमिटर दूरी छोटिन्छ । अरु बाटो प्रयोग गर्दा ८७ किलोमिटर लामो दूरी पार गरेर दुवै जिल्लाका सदरमुकाम पुग्नुपर्छ । 

यो झोलुङ्गे पुलले आफ्नै प्रदेश राजधानी जनकपुरधाम पुग्न भारत भएर जानुपर्ने र त्यहाँ जाँदा भोग्नुपरेको सास्तीबाट आंशिकरुपमा भए पनि छुटकारा मिलेको छ ।’राजमार्गको बाटो जाँदा धेरै दूरी पार गर्नुपर्छ । भारतीय बाटो प्रयोग गर्दा समयको बर्बादी त थियो नै भारतीय पक्षबाट अपमान पनि भोग्नुपर्ने समस्याको अन्त्य भएको छ’, इन्जिनियर मण्डलले भने । 

शिक्षा र स्वास्थ्यमा पहुँच बढ्ने

पुल निर्माणले स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच बढ्ने प्रादेशिक अस्पताल सिरहामा कार्यरत अर्थोसर्जन डा.रवि श्रीवास्तव बताउनुहुन्छ । लामो दूरीका कारण यसअघि स्वास्थ्योपचारका लागि जनकपुरधाम नपुगेर कोशी प्रदेशको बिराटनगर पुग्ने गरिएकामा अब त्यो बाध्यता हट्ने विश्वास जागेको उनले बताए ।

त्यसैगरी जनकपुरधाम टाढा भएकाले धनुषाको जनकनन्दनी र कमला नगरपालिकाका कठाल, उदहा, सघारा, लगमालगायतका विद्यार्थीहरू सिरहामा पढ्दै आएका थिए । तर पुलको अभावमा निकै समस्या थियो । ‘जनकपुरधाम टाढा भएकाले यहाँका विद्यार्थीहरू प्राथमिक शिक्षादेखि उच्च शिक्षा पढ्नै सिरहा नै जाने गर्छन् तर पुल नभएका कारण निकै सास्ती थियो । अब केही हदसम्म समस्या समाधान भएको सिरहा नगरपालिका-७ का शिक्षक जयचन्द्र यादवले बताए । 

बजारीकरणमा टेवा पुग्ने

त्यस्तै पुल निर्माणपछि यस क्षेत्रका किसानलाई कृषि उपजको बजारीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको धनुषा जनकनन्दनी गाउँपालिका–६ कठालका रामसेवक यादव बताउछन् । उनले भने,’पुलको अभावले स्थानीयवासी किसानहरूलाई आवतजावतका साथै कृषिजन्य उत्पादन बजारमा पुर्‍याउन असहज भएको थियो । पुलको निर्माणसँगै यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुको सहज बजारीकरणले व्यावसायिक कृषिप्रतिको आकर्षणसमेत बढाउनेछ ।’

धनुषाको खजुरीमा रहेका ऐतिहासिक लक्ष्मीनारायण मन्दिर र सिरहामा रहेका मिथिलाका विभूति राजा सल्हेशको मन्दिरजस्ता पर्यटकीयस्थलमा पनि आन्तरिक धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीय राम विनोद यादव बताउछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस