इलामको ऐनापोखरी पर्यटकका रोजाइमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इलामको ऐनापोखरी पर्यटकका रोजाइमा


१ फाल्गुन २०८०, मंगलबार


फिक्कल (इलाम) । इलामको ऐनापोखरी पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको छ । चुरे वनको फेदीमा पर्ने पोखरीमा घुम्न, तस्बिर लिन, भिडियो बनाउन र वनभोज खान आउनेको भीड लाग्ने गरेको छ । वरिपरि पहाडका डाँडा र हरियाली वनजङ्गलको बीचमा पर्ने त्यस क्षेत्र जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको हो ।

पर्यटकलाई ऐनापोखरीसम्म पुग्न सहजताका लागि चुलाचुली गाउँपालिकाले मोटरेबल सडक निर्माण गरेको छ । अन्य पूर्वाधारका कामसमेत क्रमशः गर्दै लैजाने योजनामा रहेको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए। ऐनापोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नमा महोत्सवले सहयोग पुग्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।

आजदेखि ऐनापोखरी पर्यटन महोत्सव

यसैबीच आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चुलाचुली गाउँपालिकामा आजदेखि ऐनापोखरी पर्यटन महोत्सव आयोजना हुँदैछ । चुलाचुली ऐनापोखरी संरक्षण तथा श्रम पार्कको आयोजनामा चुलाचुली–३ र ४ को सङ्गमस्थलमा महोत्सव आयोजना हुन लागेको हो । 

यही फागुन ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा खेलकुद प्रतियोगिताका साथै स्थानीय मौलिक संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गरिने आयोजक समितिका अध्यक्ष कैलाश थुलुङले बताए । 

महोत्सवमा आदिवासी लिम्बू, राई, कुमाल, नेवार, तामाङलगायत विभिन्न जातजातिका सांस्कृतिक झाँकी र वेशभूषा प्रदर्शनी गरिने उनले जानकारी दिए । ‘यहाँका आदिवासी भूमि पुत्रहरूको मौलिक संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न प्रयत्न गर्नेछौँ । यसका लागि सातै दिन अलगअलग कार्यक्रम तय गरिएको छ’, उनले भने, ‘प्रत्येक दिन फरकफरक जातजातिको पहिचान र संस्कृति झल्कने झाँकीसहित वेशभूषा प्रदर्शन गरिनेछ ।’

महोत्सवमा लिम्बू जातिको धाननाच, पालाम, च्याब्रुङ नाच, राई जातिको साकेला नाच, तामाङ जातिको सेलो, मगर जातिको मारुनी, खस आर्यको सङ्गिनीलगायत प्रस्तुत गरिने जनाइएको छ । 

चुलाचुली गाउँपालिका आदिवासी लिम्बू र राई जातिको बाहुल्यता भएको गाउँपालिका हो । महोत्सवमा पर्यटकलाई रैथाने आदिवासी जनजातिको परिकार चखाउनेसमेत आयोजकको लक्ष्य छ । महोत्सवमा कोदोको ढिँडो र रोटी, गुन्द्रुकको अचार, वाचिपा, केरा, सिमलतरुल र त्यहाँबाट उत्पादन हुने विभिन्न परिकारको स्वाद चाख्न पाइने छ । 

Tags :
प्रतिक्रिया दिनुहोस