ब्याट-३५ तालिम लाई फर्केर हेर्दा « प्रशासन
Logo १६ फाल्गुन २०८०, बुधबार
   

ब्याट-३५ तालिम लाई फर्केर हेर्दा


१९ माघ २०८०, शुक्रबार


वि. सं. २०७६ मा भएको विज्ञापन,  कोभिड-१९ को कठिन घडीमा २०७७ मा भएको परीक्षा, २०७८ श्रावण भाद्रमा अन्तर्वार्ता समेत सकिएको करिव ७ महिना पश्चात् २०७८ माघमा नतिजा प्रकाशन । नतिजा प्रकाशनको लागी दिनहुँ जसोको आन्दोलन अनि ध्यानाकर्षण आदी तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले प्रदान गरेको एक हप्ता भन्दा कम अवधिको अनलाइन एवं करिव एक महिनाको सैद्धान्तिक तालिम तत्पश्चात् तालिमलाई अपुरो नै छाडेर गरिएको पदस्थापन लगायतका घटनाक्रमहरूको लागी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको इतिहासमा ब्याट- ३५ सदैव स्मरणीय रहने छ  ।

२०७८ साल फागुन ३ देखि ६ सम्म भर्चुअल र तत्पश्चात् २०७८ फागुन ९ देखि चैत्र १ सम्म भौतिक उपस्थितिमा सञ्चालन भएको उक्त तालिम अभ्यासगत, वस्तुगत एवं व्यावहारिक भन्दा पनि कोरा सैद्धान्तिक रहेको तितो सत्य यहाँनेर उल्लेख गर्नु असान्दर्भिक नहोला ।

सामान्य प्रशासन समूहका ३७७ जना ,लेखापरिक्षण समूहका २५, परराष्ट्र सेवाका ३, लेखा समूहका १८ , राजश्व समूहका ४९ र व्यवस्थापिका संसद समूहका १६ गरी ४८८ जना शाखा अधिकृतहरू रहेको यो ब्याट का अधिकृतहरू  विच एक आपसमा चिनजान हुने वातावरण समेत निर्माण हुन सकेन जुन ब्याट ३५ को एउटा नकारात्मक पाटोको रूपमा रहिरहनेछ ।आज हामी नियुक्ति भएको पनि २ वर्ष पुरा भइसकेको छ । यद्यपि कार्यस्थलमा कामकाज गरिरहँदा धेरै विषयमा प्रशिक्षित हुन बाँकी रहेछ भन्ने अभाव महसुस हुनुका साथै आफ्नै ब्याटका साथीहरू समेत एक अर्कामा परिचित नहुँदा एक प्रकारको रिक्तता समेत महसुस गरिरहेका छौँ ।

आफ्नै ब्याटका साथी हो होइन भनी एकिन गर्न म ब्याट-३५ भनी संवाद शुरु गर्नुपर्ने बाध्यता समेत हामीहरू सामु विद्यमान छ । कम्तिमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले यो अवसर जुराइदिएको भए शायद आज यी रिक्तता र तिक्तता व्यक्त गर्नुपर्ने थिएन । एउटा सामान्य भर्चुअल उद्घाटन बाट शुरु भएको तालिम विना कुनै भौतिक समापन समारोह टुंगिएको थियो ।

कम्तिमा चैत्र १ गतेसम्म सञ्चालन भएको तालिमलाई बिट मार्नु अघि वा सम्पूर्ण मोड्युलको समापन पश्चात् भौतिक उपस्थितिमा एउटा बिदाइ समारोहको आयोजना गरेको भए पनि व्याटमेट साथीहरू सँग एक प्रकारको चिनजान एवं अन्तर संवाद हुने अवसर प्राप्त हुने थियो । यो दृष्टिकोणबाट एउटा संवादहीन ब्याट तालिमको रूपमा समेत ब्याट ३५ को तालिमलाई लिन सकिन्छ  ।शायद नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको इतिहासमा एउटा ठुलो ब्याटको रूपमा ब्याट-३५ लाई तालिम सम्पन्न गराउने स्वर्णिम अवसर गुमेको छ ।

भविष्यमा यस्तो समय समेत आउनेछ नेपाल सरकारका अधिकांश निकाय ब्याट-३५ ले नेतृत्व गरेको हुनेछ जुन समयमा समेत यो विषय सम्झन लायक घटनाको रूपमा स्मरण गरिनेछ । यो ब्याट-३५ कोभिड-१९ को कठिन घडीबाट उदय भएको र अत्यन्त सङ्घर्षशील परिस्थितिको सामना गरेको तर राज्यबाट उपेक्षित ब्याटको रूपमा रहेको हामीले महसुस गरेका छौँ  । पछिल्ला ब्याट तालिमका श्रव्य दृश्यहरू हेर्दा ब्याट ३५ लाई प्रदान गरिएको सो तालिम अत्यन्त फिक्का र औचित्यहीन साबित हुन्छ ।

सार्वजनिक प्रशासन एवं व्यवस्थापनका विविध विषयहरू मा प्रयाप्त प्रशिक्षण त हुन पाएन नै व्यवहारिक जीवनमा आवश्यक पर्ने कयौँ सीपहरू सिक्ने अवसरहरू केवल कोरा सपनामै सीमित रहे ।  अब कहाँ आउँछ त्यो समय अनि त्यो भीमकाय समूह र ती सयौँ ब्याटमेटहरुको वसन्त ऋतुका पालुवासरि उत्साहित अनुहारहरू । आज पछाडि त्यही विन्दुमा फर्केर हेर्दा अत्यन्त न्यास्रो लाग्छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले मोड्युल संशोधन वा स्थानीय निर्वाचन लगायतका विशेष परिस्थितिको कारण भौतिक उपस्थितिमा कार्य योजनामा निर्दिष्ट ढाँचामा तालिम प्रदान गर्न नसकिएको आदी कारण देखाउँदै तालिमलाई अपुरो नै छाडेर जवर्जस्ती पदस्थापन गर्न हतार गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयलाई साथ दिएको थियो । अन्तर्वार्ता भएर अन्तिम नतिजा प्रकाशन गर्न ढिला हुँदा शायद कहिल्यै कसैलाई हतार भएन ।

आवधिक निर्वाचनको रूपमा स्थानीय निर्वाचन २०७९ वैशाख ३० मा तोकिएको उक्त समयमा तालिमरत रहेकै अवस्थामा निर्वाचनमा काजमा खटाउन र निर्वाचन पश्चात् पुन तालिमलाई निरन्तरता दिन सकिने विकल्पलाई समेत नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले प्रयोग गर्न सकेन वा चाहेन । पदस्थापन भई सकेका अधिकृतहरूलाई तालिममा सहभागी गराउन काजमा ल्याउन सम्भव नहुने वा नसकिने भन्ने होइन सरकारले चाहेमा ।

तालिम प्रदायक निकाय नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र नेपाल सरकार विच एक प्रकारको सहमति हुनुपर्ने हो दुर्भाग्य त्यसो हुन सकेन र पूर्ण अवधिको तालिमबाट ब्याट- ३५ विमुख हुनुपर्‍यो । विशेष परिस्थिति भनेको उक्त समयमा सङ्घीय प्रादेशिक तथा स्थानीय निर्वाचन नै प्रमुख थियो । उक्त निर्वाचनमा तालिमरत अवस्थामा नै अधिकृतहरूलाई खटाउन सकिन्थ्यो तर उक्त विषयमा तालुक निकाय वा तालिम प्रदायक निकाय दुवैले गम्भीर हुन सकेको देखिएन ।

नेपाल प्रशिक्षण प्रतिष्ठान जस्तो विज्ञ संस्थाले समेत अपुरो तालिम दिन किन तयार भयो ? किन आफ्नो स्थापित मान्यताबाट पछाडि हटेर आधारभूत तालिमको औचित्य बोध गर्न नसक्ने प्रशासनिक नेतृत्व सँग साँठगाँठ गर्न पुग्यो ? यी यक्ष प्रश्नहरूको जवाफ हामीले पाउने अपेक्षा किन नगर्ने ? समय धेरै अगाडी बढिसकेको छ यद्यपि ती घाउहरू निको भए तापनि पाप्राहरु अझै कायमै छन र यदाकदा बल्झिरहन्छ पनि ।

सामाजिक सञ्जालहरूमा विचरण गर्ने क्रममा हाम्रो ब्याट ३५ को र ब्याट ३६ को परिचयात्मक भिडियोमा नजर पुग्यो । मनले नचाहँदा नचाहँदै पनि उक्त भिडियोहरू पुरै ध्यानपूर्वक हेरिसकेपछि उही प्रक्रियाबाट उही दर्जाको लागी आएका उस्तै सेवाका अधिकृतहरू विच एक प्रकारको विभेद गरिएको महसुस हुन पुग्यो र तिनै असन्तुष्टिहरूलाई शब्द मार्फत समग्र ब्याट ३५ को प्रतिनिधिमूलक आवाजको रूपमा व्यक्त गर्न यो जमर्को गरेको छु । सायद यी असन्तुष्टिहरूको वर्तमानमा कुनै मूल्य त छैन तैपनि सहपाठी सम्पूर्ण साथीहरू प्रति यसलाई समर्पित गर्ने धेयले यी शब्दहरू ओकल्ने समय व्यवस्थापन गरेको छु ।

यी असन्तुष्टि सबै ४८८ जना अधिकृत साथीहरूमा पनि हुनुपर्छ । कतिपय साथीहरूले अझै पनि तालिम समापन भएको प्रमाणपत्र समेत लिनु भएको छैन होला जुन एक प्रकारको सुषुप्त असन्तुष्टि नै मान्न सकिन्छ ।  एउटा कठिन प्रतिस्पर्धात्मक परीक्षा उर्तिण गरेर राष्ट्र सेवाको खातिर आएका जुझारु अधिकृतहरूलाई उच्च मनोबलका साथ

कार्यक्षेत्रमा पठाउने ऐतिहासिक अवसरको सही सदुपयोग नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जस्तो विज्ञ सङ्गठनले गर्न सकेन । आज ती अधिकृतहरू कस्तो मनोबलमा काम गरिरहेका छन ? प्रयाप्त तालिम नदिई कार्यक्षेत्रमा पठाउँदा कार्यसम्पादनमा कस्तो भिन्नता हुने रहेछ ? तालिम नदिई पठाएका अधिकृत र विगतमा पूर्ण अवधिको तालिम प्राप्त अधिकृतहरू बिचको तुलनात्मक अध्ययनबाट कस्तो नतिजा प्राप्त हुने रहेछ ? अधिकृतहरूको मनोबल र उत्प्रेरणाको अवस्था कस्तो रहेको छ ?

लोक सेवा आयोगको परीक्षा पास गरी भर्खर नियुक्ति लिएर स्टाफ कलेजमा तालिमको लागी आउँदाको जोस जाँगर अनि उत्साह आज पर्यन्त कायम छ कि छैन ? कुन तत्त्वले अधिकृतहरूलाई कार्यसम्पादनमा बाधा व्यवधान गरिरहेको हुने रहेछ ? तालिम लिएर कार्यस्थलमा गएका अधिकृतहरूको नैतिक आचरण कुन अवस्थामा रहेको छ ? भ्रष्टाचारजन्य क्रियाकलापहरूमा संलग्न भई के कति अधिकृतहरू नियामक निकायको कारबाही भोगिरहेका छन ?  यी र यस्ता सयौँ विषयहरूको अनुसन्धान गरी तालिम मोड्युलहरुको सान्दर्भिकताको समेत परीक्षण गर्ने अवसरको रूपमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले ग्रहण गर्न सकोस् भन्ने सुझाव दिन चाहन्छौँ ।

यी यावत  विषयमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका विज्ञहरूले अध्ययन अनुसन्धान गर्नु पर्ने आवश्यकता महसुस गर्नुभएको छ कि छैन ? यदि महसुस गर्नुभएको छैन भने यस तर्फ यहाँहरूको ध्यान जान जरुरी देखिन्छ । मित्र राष्ट्र भारतमा लोकसेवा  उतर्णि भएका आईएस अफिसरहरूलाई तालिम पश्चात् कार्यक्षेत्रमा पठाउनु अघि प्रधानमन्त्रीले सम्बोधन गर्दै उच्च मनोबलका साथ राष्ट्रले लिएका सङ्कल्पहरू पुरा गर्न तन मन र वचनले काम गर्न निर्देशन दिएको सन्दर्भमा हाम्रोमा यस्तो संस्कार किन विकास हुन सकेन भनेर हाम्रो प्रणालीगत संस्कारमा प्रश्न उठाउन मिल्दैन र ? यति ठुलो सङ्ख्याको अधिकृतहरूको समूहलाई अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान  गर्न नसके पनि कम्तिमा दक्षिण एसियाली मुलुकहरूको समकक्षी स्तरको तालिम प्रदान गर्दै उच्च मनोबलका साथ काम गर्न राज्यका समस्याग्रस्त निकायहरूमा खटाउन सकेको भए ती निकायहरूको सेवा प्रवाहको अवस्थामा धेरै सुधार आई सकेको हुने थियो ।

आज आम नागरिकको प्रत्यक्ष सरोकार रहने कार्यालयहरूमा सेवा प्रवाह लथालिङ्ग हुनुका साथै भ्रष्टाचारका अखडा बनेका समाचार दिनानुदिन सञ्चार माध्यमका हेडलाइन बनिरहेका छन  । ती निकायहरूमा नयाँ ब्याटका जुझारु अधिकृतहरू खटाई सेवा प्रवाहमा नवीनता कायम गर्न राज्यलाई के ले रोकेको हुन्छ बुझ्न सकिएको छैन । आजको सूचना र प्रविधिको ग्लोबल युगमा सङ्गठनमा भित्रिने जनशक्तिलाई कामदारको रूपमा होइन मानव संशाधनको रूपमा लिने गरिन्छ ।

विकसित र विकासोन्मुख मुलुकहरूमा जनशक्तिको क्षमता विकास र ग्रुमिङलाई महत्वका साथ हेरिन्छ । हामीले अनुभूति गरेको विषय के थियो भने हामीलाई केवल कामदारको रूपमा मात्र हेरियो कि अन्यथा मानव संशाधनको रूपमा लिएको भए तालिम प्रदायक निकायले निर्धारण गरेको मोड्युलमै तालिम दिएर मात्र कार्यक्षेत्रमा पठाइन्थ्यो होला । गुनासो पनि के गर्नु र अब !

समय धेरै अगाडी बढिसकेको छ । कार्यक्षेत्रमा आँफुसँग भएको ज्ञान सिप दक्षता सहकर्मी साथीहरू, अग्रज एवं सिनियर अधिकृतहरू सँगको सिकाई बाट कार्यसम्पादनलाई अब्बल बनाउने ध्येयमा यात्रा निरन्तर अगाडि बढिरहेकै छ । सार्वजनिक सेवा प्रवाहमा तल्लीन यी महत्त्वपूर्ण क्षणहरूमा विगतका ती तिता क्षणहरूको स्मरण गरेर अनावश्यक तनावको सृजना विल्कुल गर्नु छैन अव । निराशालाई छाडेर आशाका किरणहरू सृजना गर्ने तर्फ लाग्नु श्रेयकर देखिन्छ ।

सार्वजनिक प्रशासनको वर्तमानमा गिर्दो साखलाई उच्च बनाउनु छ । चरम निराशाले ग्रस्त आम नागरिकलाई आफ्नो कार्यकक्षमा प्रवेश गरेको बेला कम्तिमा आशाको सञ्चार गरी राज्यप्रति आम नागरिकको दृष्टिकोणलाई थप नकारात्मक हुनबाट जोगाउनु छ । अवसरको खोजीमा भौतारिंदै  सेवा लिन आउने युवा पुस्तालाई  तिमीहरूको भविष्य यहाँ पनि छ भनेर सकारात्मक मनस्थिति निर्माण गर्नुपर्ने जिम्मेवारी हामीमा छ । विषम परिस्थितिमा राज्यले सुम्पेको जिम्मेवारीको वहन इमान्दारिताका साथ निर्वाह गर्नुपर्ने छ ।

कालो बादल भित्र चाँदीको घेरा हुन्छ भने जस्तै तालिम अगावै पदस्थापन गरिएको ब्याट – ३५ का अधिकृत साथीहरूले तालिम सम्पन्न हुने अवधि सम्म कार्यक्षेत्रमा रहेर वास्तविक ज्ञान सिप र दक्षता समेत हासिल गर्दै समय अगावै परिपक्व हुने अवसर प्राप्त गर्नु आफैमा सकारात्मक पाटोको रूपमा लिन सकिन्छ 

लर्निङ बाई डुइङ एण्ड डुइङ बाई लर्निङ दुवै एकसाथ प्रयोग गर्दै सार्वजनिक सेवामा तल्लीन यी दिनहरू अत्यन्त व्यस्ततामा बितिरहेका छन । कहिलेकाहीँ ती घाउहरू बिझाउने रहेछन् र मात्रै फुर्सदमा विरक्त लाग्ने रहेछ । सम्पर्क र संवाद हुने जति साथीहरू विच कुरा हुँदा पनि यो विषयले प्रवेश पाई हाल्दो रहेछ अनायसै ।

आशा गरौँ समयक्रममा यी घाउका पाप्राहरु क्रमशः उप्किँदै जानेछन् र बिर्सने छौँ ती विभेदपूर्ण घाउहरू सदाका लागी ।हामी कामना गर्छौ कि आगामी दिनहरूमा कुनै पनि ब्याटले यस प्रकारको अनुभूति गर्न नपरोस् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले ब्याट-३५ को तालिमलाई एउटा संस्थागत स्मरणको रूपमा सदैव जतन गरेर राखोस् भन्ने हामी ४८८ जना अधिकृतहरूको तर्फबाट कामना गर्दछौँ ।

अबको हाम्रो अपेक्षा
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले ब्याट-३५ को तालिमलाई पूर्ण मोड्युलमा सञ्चालन गर्न नसकेको तितो सत्यलाई मनन गर्दै निकट भविष्यमा नेपाल सरकारका विभिन्न निकायमा कार्यरत रहेका ब्याट-३५ का अधिकृतहरूलाई विषयगत मन्त्रालय सँग समन्वय गरी छुटेका प्रमुख विषयहरू समावेश गरी एउटा निर्दिष्ट मोड्युलमा तालिमको लागी पहल गरोस् भन्ने अपेक्षा गरेका छौँ । साथै हाल सञ्चालन भइरहेको तालिमरत अधिकृतहरू सँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर सृजना गर्न सकेमा सार्वजनिक सेवा प्रवाहको वास्तविक अवस्थाको बारेमा नवनियुक्त अधिकृतहरू सँग ज्ञान सिप तथा अनुभव आदानप्रदान गर्न सहयोग पुग्ने देखिन्छ ।

यस प्रकारको अन्तरक्रियाबाट सिनियर ब्याटका अधिकृतहरूले सार्वजनिक सेवा प्रवाहको दौरान सामना गरेका चुनौतीहरू, अवलम्बन गरेका नवीनतम अभ्यासहरू, कार्यस्थलमा भोग्नुपरेका समस्याहरू लगायतका विषयमा अनुभव आदान प्रदान गर्ने अवसर समेत सृजना गर्न सकिन्छ । सकारात्मक ऊर्जाको साथ राष्ट्र सेवामा तल्लीन हुन राष्ट्रसेवक अधिकृतहरूको मनोबललाई अझ उच्च बनाउने कार्यमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सदैव चिन्तन मनन गरिरहनेछ भन्ने अपेक्षा सहित नेपाल प्रशासनिक प्रतिष्ठानको उत्तरोत्तर प्रगति एवं सफलताको कामना समेत गर्दछु ।

ब्याट–३५, खप्तड समूहका पुरी जिल्ला प्रशासन कार्यालय बागलुङमा प्रशासकीय अधिकृत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस