मापसे गरी सवारी चलाउने ३९ हजार बढी चालक कारबाहीमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मापसे गरी सवारी चलाउने ३९ हजार बढी चालक कारबाहीमा


१७ माघ २०८०, बुधबार


काठमाडौँ । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार २७२ जनामाथि कारबाही गरेको छ ।  यो नेपाल प्रहरीले आर्थिक वर्ष २०८०/०८१ को गत साउनदेखि पुस महिनासम्म तथ्याङ्क हो । 

यसैगरी सोही अवधिमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने २ सय ४२ जना पनि कारबाहीमा परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार मापसेबाट गरिएको कारवाहीबाट कुल ३ करोड ९९ लाख ६९ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पुर्‍याउन तथा दुर्घटना न्यूनीकरण गर्न मापसे तथा लापसे चेकिङ प्राथमिकतामा राखिएको प्रहरीको भनाइ  छ ।

गलत प्रवृत्तिलाई निरुत्साहित र मापसे तथा लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले विभिन्न समयमा विविध नीति लागू गरी सफल कार्यान्वयन गर्दै प्रभावकारी रूपमा काम गर्दै आएको छ । 

यस आर्थिक वर्षको ६ महिनामा मापसे गरी सवारी चलाउने काठमाडौँ उपत्यकामा १८ हजार ६२७ जना, कोशी प्रदेशमा २ हजार ५२४ जना, मधेश प्रदेशमा २ हजार २१ जना, बागमती प्रदेशमा १ हजार ९८ जना, गण्डकी प्रदेशमा ८ हजार ९२३ जना, लुम्बिनी प्रदेशमा २ हजार ७७३ जना, कर्णाली प्रदेशमा १ हजार २६४ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ४२ जना कारबाहीमा परेका छन् ।

मापसे गरी सवारी चलाउने मात्र होइन मापसे गरी बाटोमा जथाभाबी हिँड्नेहरूको कारण पनि सवारी साधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको छ । 

सो अवधिमा कारबाहीमा पर्नेहरूबाट काठमाडौँ उपत्यकामा १ करोड ८६ लाख २७ हजार रुपैयाँ, कोशी प्रदेशमा २५ लाख ३९ हजार ५ सय रुपैयाँ, मधेश प्रदेशमा २० लाख ४२ हजार ५ सय रुपैयाँ, बागमती प्रदेशमा ११ लाख १७ हजार रुपैयाँ, गण्डकी प्रदेशमा ९५ लाख ६८ हजार रुपैयाँ, लुम्बिनी प्रदेशमा २७ लाख ७३ हजार रुपैयाँ, कर्णाली प्रदेशमा १२ लाख ६० हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशमा २० लाख ४२ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी सो अवधिमा लापसे गरी सवारी चलाउने काठमाडौँ उपत्यकामा ८१ जना, कोशी प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ८८ जना, लुम्बिनी प्रदेशमा २० जना र सुदूरपश्चिम प्रदेशमा २५ जना कारबाहीमा परेका छन् । मधेश, बागमती र कर्णाली प्रदेशमा कारबाही सङ्ख्या शून्य छ । 

Tags :
प्रतिक्रिया दिनुहोस