पाठ्यपुस्तक छपाइको काम तिब्र, प्रधानमन्त्री कार्यालयद्वारा अनुगमन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पाठ्यपुस्तक छपाइको काम तिब्र, प्रधानमन्त्री कार्यालयद्वारा अनुगमन


११ माघ २०८०, बिहिबार


काठमाडौँ । चालु शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पाउन सफल विद्यार्थीले आगामी शैक्षिक सत्रमा पनि भर्नाअघि नै पुस्तक पाउने गरी छपाइको काम तीव्र पारिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले पुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गर्दै भर्नाअघि नै छपाइ सक्ने गरी काम भइरहेको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्नाअघि नै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएपछि गत वर्ष तीव्र गतिमा छपाइ सम्पन्न गरी इतिहासमा नै पहिलो पटक सबै विद्यार्थीले भर्नासँगै पुस्तक पाएका थिए । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गएको अनुगमन टोलीसँग लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले समयमै पाठ्यपुस्तक पुर्‍याउन आफूहरू प्रतिबद्ध रहेको बताए । 

शिक्षा मन्त्रालयले यस वर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखाना र कक्षा ५ देखि १२ सम्म जनक शिक्षाले छपाइ गर्ने निर्णय गरेसँगै प्रकाशनमा तीव्रता आएको हो । निजी क्षेत्रका छापाखानालाई समेत छनौट गर्न पाठ्यक्रम विकास केन्द्रले बोलपत्र आह्वान गरिसकेको छ ।

जनक शिक्षा लिमिटेडका अनुसार कक्षा ५ देखि १२ सम्म करिब एक करोड ७० लाख पुस्तक आवश्यक भएकामा अब करिब ६५ लाख थान पुस्तक मात्र छाप्न बाँकी छन् । केन्द्रले दैनिक ७० हजार देखि ८० हजार प्रतिथानका दरले पुस्तक छपाइ र तयारी भइरहेको जनाएको छ ।

प्रधानमन्त्रीका जनसम्पर्कविज्ञ बुद्धि जिसी, स्वकीय सहसचिव गोकर्ण भट्ट, सहसचिव सङ्गीता ओझालगायतको टोलीले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आकस्मिक अनुगमन गरेको थियो ।

गत वर्ष पुसपछि मात्र कागज आएको भए पनि आवश्यक पाठ्यपुस्तक समयमै छाप्न सफल भएको बताउँदै झाले यो वर्ष पर्याप्त कागज भएकाले सहज भएको बताएका छन् ।  

अनुगमन टोलीका सदस्य गोकर्ण भट्टले जनक शिक्षक सामग्री केन्द्र लिमिटेडको छपाइको गुणस्तर सुधार गर्नुपर्ने सुझाव दिइएको र अन्य नीतिगत विषयसमेत हल गर्न शिक्षा मन्त्रालयसँग थप छलफल आवश्यक देखिएको जानकारी दिए। 

छापिएका पाठ्यपुस्तक सुरक्षित राख्न, कागज खेर नजाने गरी काम गर्न र छपाइमा गुणस्तर कायम गर्न केन्द्रलाई निर्देशन दिएको प्रधानमन्त्रीका जनसम्पर्कविज्ञ जिसीले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस