मानव अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मानव अधिकार रक्षाका लागि सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी


९ माघ २०८०, मंगलबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले मानव अधिकारको सम्मान, संरक्षण र सुनिश्चितता गर्ने काम राज्यको दायित्व भएको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी कार्ययोजना सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले सरकारले अन्तर्राष्ट्रिय मञ्चमा मानव अधिकार रक्षाका लागि गरेका प्रतिबद्धतालाई योजनाबद्ध रुपमा कार्यान्वयन गर्नेपनि बताए । सो क्रममा उनले सरकारले मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना निर्माण र कार्यान्वयनमा ध्यान दिएको उल्लेख गरे ।

‘मानव अधिकार सम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा छ । उक्त कार्ययोजनाले उद्योगी,व्यवसायी, प्रतिष्ठान र मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघको मार्गदर्शन सिद्धान्तलाई दुष्टिकोण गरि छुट्टै राष्ट्रिय कार्ययोजनालाई लागूगर्ने व्यवस्था गरेको छ,’ उनले भने ।

राष्ट्रिय कार्ययोजनामा श्रमिक, उपभोक्ता, महिला तथा बालबालिका, वैदेशिक रोजगारीमा गएका कामदार, जनजाती, लैङ्गिक समानता तथा जातिय भेदभाव विरुद्धको अधिकारलगायतका मानव अधिकारसँग सम्बन्धित विषयहरु समावेश गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।

उनले अहिलेको अवस्थामा आर्थिक क्रियाकलापहरुलाई बढाउनको लागि परम्परागत व्यवस्थाहरुमा सुधार गर्न आवश्यक रहेको औल्याउँदै त्यसका लागि सरकार, रोजगारदाता र श्रमिक तीनैवटा पक्षलाई सन्तुलनमा राखेर जानुपर्ने बताए । मन्त्रालयले आगामी २०८१-८२ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवर्धन दशकको रुपमा अगाडि बढाउने गरी गृहकार्य गरिरहेको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस