सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान


९ माघ २०८०, मंगलबार


म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत-जसलाङ-सिजिखोला-सिजिखर्क-थामखर्क-खोलाखर्क-सिसर्का-तल्लोमेला-उपल्लोमेला-आलेखर्क- नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् । क्लबका उपाध्यक्ष टीका पुनले चिमखोलाबाट समुद्री सतहबाट तीन हजार आठ सय ४० मिटर उचाइको सोवाङ धुरी पुग्ने पदमार्ग पहिचान गरिएको जानकारी दिए । 

‘गोठालाहरूले लेकबेँसी गर्न प्रयोग गरेको बाटो भएर चिमखोलाबाट सोवाङ धुरी पुग्न सकिने पदमार्ग पहिचान गरेका हौँ’, उनले भने, ‘गोठ बस्ने चलनसँगै हराएको बाटोमा पर्यटक हिँडाएर गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउन पहल थालेका छौँ ।’

चिमखोलाबाट हिँड्न सक्ने एक दिन र बिस्तारै हिँडेर दुई दिनमा सोवाङ धुरीमा पुग्न सकिन्छ । अघिल्लो पुस्तासम्म चिमखोलावासी बर्खा याममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेँसीका फाँटमा झर्ने गर्दथे । 

नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचार-प्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको क्लबका अध्यक्ष प्रविन बुढाले बताए ।  ‘पूर्वाधार र प्रचार–प्रसारको कमीले प्रशस्त सम्भावना भएर पनि सोवाङधुरी ओझेलमा परेको छ’, उनले भने, ‘पूर्वाधार निर्माणमा पहल, प्रचार-प्रसार र प्रवर्द्धनमा जुटेका छौँ ।’

उनका अनुसार संसारको सातौँ आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमालको फेदबाट चुचुरोसम्मको दृश्यावलोकन गर्न पाउन सोवाङ धुरीको मुख्य विशेषता हो । सूर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

बागलुङ बजार, ढोरपाटन सिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामीण बस्ती, पहाडी भूगोलको मनोरम दृश्य देखिने चिमखोलाका वकिल पुनले बताए। सोवाङ धुरी जाने पदमार्गमा पर्ने जङ्गलमा घोरल, मृगलगायत जनावर र पाँचऔले, सेदक चिनीलगायत जडीबुटी अवलोकन गर्न सकिने उनले बताए। सोवाङ धुरीबाट रघुगङ्गा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ ।

व्यवस्थित पदमार्ग, आश्रयस्थल नभएकाले वन्दोबस्तीका सामानसहित जानुपर्छ । सोवाङ धुरी जाने पर्यटक नजिकैको ओढारमा बास बस्ने गरेका छन् । आश्रयस्थल निर्माण, खानेपानीको व्यवस्थापन र पदमार्गमा सङ्केत चिह्नहरू बनाउनुपर्ने सोवाङ धुरी पुगेर आएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजाले बताए । 

म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्ने गरी पहिचान भएको धवलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गायत्री मन्दिरबाट सुरु भएर भगवती–रुइसे–भेडीओढार–मुटुकाटे–पजत्राधुरी हुँदै सोवाङधुरी जोड्ने मुख्य पदमार्ग रहेको छ । मुख्य पदमार्ग र चिमखोला हुँदै सोवाङ धुरी पुगेपछि पर्यटक नेपाने–लोसधाप–लाटीबराह–कालीबराह ताल हुँदै धवलागिरि हिमालको आधार शिविर पुग्न सक्छन् । 

आधार शिविरबाट बाँझोबुकी–कुइनेमङ्गलेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल रिखार हुँदै र रघुगङ्गा नदीको किनार नै किनार हुँदै सङ्गुरथला भएर कुइनेमङ्गलको घ्यासीखर्क–चिमखोला हुँदै फर्कन मिल्नेगरी दुई वटा पदमार्ग सञ्चालनमा रहेको रघुगङ्गा गाउँपालिका–७  चिमखोलाका वडाध्यक्ष थकप्रसाद पाइजा (रिम)ले बताए । 

‘हरेक वर्ष पदमार्ग निर्माणको काम भइरहेको छ, अहिले पनि पर्यटन बोर्डबाट आएको बजेटबाट पदमार्ग स्तरोन्नतिको काम जारी छ’, उनले भने, ‘अक्करे पहाड र भिरमा अझै पनि पदमार्गलाई सुधार गर्न सकिएको छैन ।  थप बजेटको आवश्यकता छ ।’

टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर (टान), तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धललागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो । यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस