निगमले किन पटक पटक यात्रुलाई अलपत्र पार्छ ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

निगमले किन पटक पटक यात्रुलाई अलपत्र पार्छ ?


२ माघ २०८०, मंगलबार


रमेश पौडेल

काठमाडौँ । प्राविधिक समस्याका कारण नेपाल वायुसेवा निगमको वाइड बडी जहाज ग्राउन्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु सोमबार अलपत्र परे । नेपाल वायुसेवा निगमले पटक पटक किन यात्रुलाई अलपत्र पार्छ ? भनेर प्रशासन डटकमले  निगमका प्रवक्ता रमेश पौडेललाई सोधेको छ ।

अलपत्र पारेको होइन । अलपत्र भन्नाले जिम्मेवारी नै नलिएको भन्ने हुन्छ । जहाज भनेको प्राविधिक चिज हो । प्राविधिक चिजमा कहिलेकाहीँ समस्या आउन सक्छ । यस्तो समस्या आएमा निगमले जिम्मेवारी बहन गर्दै आफ्नो स्टान्डर्स् जे छ सोही अनुसार अर्को एयरलाइन्सबाट व्यवस्थापन गर्ने गरेको छ । 

कुनै कारणवश यात्रुलाई गन्तव्यमा पुर्‍याउन नसकेमा यात्रुलाई होटलमा राखेर अर्को दिन पठाउने गरेको छ । यस कारण अलपत्र पारेको होइन । सोमबार निगमको जहाजमा समस्या आयो । निगमको अर्को जहाजबाट मङ्गलवार बेलुका गन्तव्यमा व्यवस्था गरेका छौँ । 

निगमको जहाजमा पटक पटक प्राविधिक समस्या आउँछ, प्राविधिक समस्या आई रहनुको कारण के हो ?
समस्या पटक पटक भन्ने हुँदैन । किन कि एउटै जहाजमा दोहोरिएर समस्या आयो भने पटक पटक भन्न मिल्छ । एउटै जहाजमा पटक पटक समस्या आएको होइन । फरक जहाजमा फरक प्रकृतिको समस्या आएको हो । 

प्राविधिक चिज भएको हुनाले निगमले जहाजको मर्मत सम्भार गर्नुपर्ने हुन्छ । यो निगमले गरिरहेको छ । प्राविधिक समस्या कहिलेकाहीँ आउँछ । पटक पटक आएको होइन । 

यदाकदा आएको समस्यालाई हामीले उचित तवरले व्यवस्थापन गरेका छौँ । एउटै जहाजमा उस्तै खालको समस्या आयो भने त्यो समस्यालाई पटक पटक भन्न सकिएला । तर, यो कहिले कुनमा कुन समस्या आउँछ । कहिले कुनमा कुन समस्या आउँछ । फरक फरक समस्या आउने गरेको छ ।

राष्ट्रिय ध्वजावाहक जहाजमा आउने यस्ता समस्याले अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जाँदैन ? निगमको छवि खस्किँदैन ?
हामीसँग जम्मा चार वटा जहाज छन् । अन्य देशका राष्ट्रिय ध्वजावाहक जहाजको कुरा गर्ने हो भने न्यूनतम ३० भन्दा बढी जहाज छन् । भारतको कुरा गर्नु हुन्छ भने एयर इन्डियाका १३० जहाज उडिरहेका छन् । चार सय वटा जहाज अडर गरेको छ । 

सानो श्रीलंकाको एयरले पनि २२ वटा जहाज उडाइ रहेको छ । ६ वटा जहाज अडर गरेको छ  । 

हामी चार वटा जहाज उडाएर उच्चस्तरको सेवा खोज्छौँ । चार वटामा एउटा जहाज बिग्रियो भने २५ प्रतिशत बिग्रँदो रहेछ । यो अवस्थाले गर्दा समस्या सतहमा देखिएको हो । यसको ठाउँमा १० वटा जहाज भएको भए समस्या कम बाहिर आउँथ्यो । एउटा जहाज बिग्रँदा १० प्रतिशत बिग्रन्थ्यो । यसलाई अर्को जहाज पठाएर व्यवस्थापन गर्न सकिन्थ्यो । हाम्रोमा दुई घण्टा उडान डिले भयो भने एउटा जहाज बिग्रियो भने समस्या बाहिर आइहाल्छ । हल्लीखल्ली हुन्छ ।

 जहाजको सङ्ख्या कम भएर हो । चार वटा जहाज भनेको एकदमै दयनीय अवस्था हो । अन्तर्राष्ट्रिय एयरलाइन्स हुनलाई कम्तीमा २० वटा जहाज हुनु पर्छ । एउटा बिग्रिएमा अर्कोले व्यवस्थापन गर्दथ्यो । प्रमुख कारण जहाजको सङ्ख्या कम नै हो ।

Tags :
प्रतिक्रिया दिनुहोस