धनुषामा सहनी मृत भेटिए, उनकी पत्नी गम्भीर घाइते « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

धनुषामा सहनी मृत भेटिए, उनकी पत्नी गम्भीर घाइते


१ माघ २०८०, सोमबार


काठमाडौँ । धनुषामा एक जना पुरुष मृत भेटिएका छन् भने उनकी श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेकी छन् ।

महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी आज बिहान मृत फेला परेका छन् । उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा पाइएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए । उनका अनुसार मृतक सहनी अन्दाजी ३० र उनकी पत्नि २८ वर्षकी छन् ।

प्रहरी निरीक्षक कार्कीका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित गहुँ खेतमा सोमबार बिहान राधे मृत फेला परेका थिए । उनको श्रीमतीलाई पनि खेतमै अचेत अवस्थामा प्रहरीले फेला पारेको हो ।

गम्भीर घाइते अस्मिताको उद्धार गरी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । तर, उनको स्वास्थ्य अवस्था निकै जटिल रहेको प्रहरीले जनाएको छ । सोही अस्पतालमा राधेको पोस्मार्टमका लागि शव राखिएको छ ।

६ महिनाअघि प्रेम विवाह गरेका राधे र अस्मिता क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।
घटना के कारणले घट्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस